सरकारप्रति सांसदहरूको गुनासो : किसानलाई मल, विद्यार्थीलाई किताबदेखि गाँजाको वैधानिकता सम्मको माग

अनिल क्षेत्री
Read Time = 16 mins

काठमाडौं । संघीय संसद्मा सांसदहरूले कृषि मल अभावको विषयलाई निरन्तर उठाइरहेका छन् । तर, सरकार किसानलाई मल आपूर्तिको विषयमा सधैँ असफल बन्दै गएको छ । सदन र सडकबाट मल आपूर्तिको लागि निरन्तर आवाज उठिरहेको छ । सदनमा सांसदहरूले दिनप्रतिदिन मल आपूर्तिको लागि सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

सांसदहरूको निरन्तर दबाब र खबरदारीपछि सभामुख अग्निप्रसाद सापकोटाले किसानलाई छिटो मल उपलब्ध गराउन सरकारका नाममा रुलिङ नै गर्नुभएको छ । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सांसदहरूले किसानले बाली लगाउने बेला हुँदा पनि मल प्राप्त गर्न नसकेको भन्दै सभामुखबाट सरकारका नाममा रुलिङ हुनुपर्ने माग गरेपछि सभामुख सापकोटाले कृषकहरूलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो । कृषकहरूलाई यथाशीघ्र मल उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउँदै सभामुख सापकोटाले भन्नुभयो, ‘खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा माननीय सदस्यहरूले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ । यथाशीघ्र कृषकहरूलाई मल उपलब्ध हुन सक्ने गरी व्यवस्थापन गर्न, गराउन म सम्बन्धित मन्त्री एवं नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।’

यसअघि, प्रतिनिधिसभाको आइतबार बसेको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदहरूले मल अभावका विषयमा सरकारसँग प्रश्न गरेका थिए । किसानहरूले बाली लगाउने समयमा सरकारले किन मल उपलब्ध गराउन नसकेको हो ? त्यसबारे संसद्मा जवाफ दिन उनीहरूको माग छ । सांसद लक्ष्मीकुमारी चौधरीले किसानहरूको रोपाइँको दिन आइसक्दा पनि किन मल उपलब्ध भएन ? भनी प्रश्न गर्नुभयो । सांसद लक्ष्मी परियारले बिहानीले दिनको संकेत गर्ने भनिएपनि अहिले किसानको बिहानी सुखद नभएको टिप्पणी गर्नुभयो ।

किसानका लागि पेन्सनको कुरा नीति तथा कार्यक्रम र बजेटमा गरेको तर, मुरी उब्जाउने समयमा बिउ र मल नभएको भन्दै परियारले कृषि मन्त्रीसँग बिउ र मल उपलब्ध गराउन माग गर्नुभयो । सांसद बिनादेवी बुढाथोकीले हरेक वर्ष ल्याउने नीति तथा कार्यक्रममा कृषिलाई प्रमुखमा राख्ने तर, अहिले पनि मल नपाउने समस्या उस्तै रहेको भन्दै यो समस्या किन समाधान हुँदैन ? भन्दै प्रश्न गर्नुभयो । सांसद सरिताकुमारी गिरीले पनि किसानले मल कहिलेसम्म पाउने भनी प्रश्न गर्दै अहिले धमाधम रोपाइँ चलिरहेको समयमा कतै पनि मल नभएकाले किसान समस्यामा परेको बताउनुभयो ।

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे सदनलाई जानकारी दिन एमालेको माग
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमणबारे संसद्मा जानकारी दिनुपर्ने माग गरेको छ । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा बोल्दै नेकपा एमालेका उपमहासचिव एवं सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्रीले गर्ने भनिएको आसन्न अमेरिका भ्रमणबारे सदनलाई जानकारी दिनुपर्ने माग गर्दै भन्नुभयो, ‘यो भ्रमणको चाँजोपाँजोमा न अमेरिकाको स्टेट डिपर्टमेन्ट अग्रपंक्तिमा देखिन्छ न नेपालको परराष्ट्र मन्त्रालय । भ्रमणको चाँजोपाँजो मिलाइरहेको अमेरिकाको डिपार्टमेन्ट अफ डिफेन्सले र नेपालको रक्षा मन्त्रालयले हो सेना त्यसमा जोडिएको छ । यसले गम्भीर प्रश्न उठेको छ । यो भ्रमण प्रधानमन्त्रीको हैसियतले हुँदै छ या रक्षामन्त्रीको हैसियतले ? रक्षामन्त्रीको हैसियतले हुँदै छ भने त्यसको विषयमा पनि सदनले थाहा पाउन जरुरी छ । एकातिर परराष्ट्र मन्त्रालय र स्टेट डिपार्टमेन्ट भ्रमण व्यवस्थापनको फ्रन्टलाइनमा नहुनु । यसको चाँजोपाँचो रक्षा मन्त्रालय र अन्य खालका निकाय हुनु । अनि यस्ता विषयमा सहमति हुँदै छ भनेर चर्चा चल्नुले गम्भीर आशंका पैदा गरेको छ । नेपाललाई भूराजनीतिक द्वन्द्वको थलो बनाइनु हुँदैन ।’

सांसद रावलको प्रश्न : ‘देउवा सातौँपटक प्रधानमन्त्री बने नेपाल रहला ?’
विपक्षी दल नेकपा एमालेका अर्का सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको स्वतन्त्रता र स्वाधीनतालाई समाप्त पार्न लागेको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद रावलले देउवा पाँचपटक प्रधानमन्त्री बन्दा देशमा प्रतिगमन तथा राष्ट्रघात मात्र भएको र सातौँपटक प्रधानन्त्री बन्ने हो भने देशै नरहने खतरा रहेको आरोप लगाउँदै भन्नुभयो, ‘उहाँ २०५२ सालमा प्रधानमन्त्री हुँदा देश हिंसात्मक द्वन्द्वमा गयो । राष्ट्रिय हितविपरीत महाकाली सन्धि भयो । अर्कोपटक प्रधानमन्त्री बन्दा देश प्रतिगमनमा गयो । पाँचपटक प्रधानमन्त्री हुँदा त यस्तो भयो भने सातपटक प्रधानमन्त्री हुन्छु भन्दै हुनुहुन्छ, त्यसो भयो भने त नेपाल नै के हुन्छ भन्न आशंका गर्नुपर्ने भयो ।’ रावलले सरकारका पछिल्लो गतिविधि, कार्यशैली र घटनाक्रमले नेपालको असंलग्न परराष्ट्र नीतिमाथि गम्भीर प्रहार भएको टिप्पणी गर्नुभयो ।

एमसिसी पास गरेका कारण मुलुकमा आर्थिक संकट बढ्यो : सांसद सुवाल
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसिसी सम्झौता संसद्बाट पारित गरेकै कारण नेपालमा आर्थिक संकट बढेको दाबी गर्नुभएको छ । एमसिसी सम्झौता संसद्बाट पारित गरेपछि नेपालमा महँगीसमेत बढेको जिकिर गर्दै सांसद सुवालले भन्नुभयो, ‘पाँच दलीय गठबन्धन सरकारले एमसिसी सम्झौता संसद्बाट जबरजस्ती पारित गरेपछि नेपालको आर्थिक संकट बढ्यो । एमसिसी सम्झौता पास गरेकै कारण महँगी बढेको हो । अमेरिकी साम्राज्यवादले देउवा सरकारलाई संयुक्त राष्ट्रसंघमा रुसको विपक्षमा मतदान गरायो । यसैकारण महँगी बढेको हो । मतदानमा तटस्थ बसेको भारतलाई रुसले अन्तर्राष्ट्रिय बजारमा बजार मूल्यको एकतिहाई मूल्यमा तेल, ग्यास उपलब्ध गरायो । खै, नेपालको कूटनीति ? यो कूटनीतिक असफलता हो प्रधानमन्त्री शेरबहादुर देउवाको ।’

गाँजा बेचेर मुलुकको वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिन्छ : सांसद तामाङ
प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजा बेचेर राष्ट्रको वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिने दाबी गर्नुभएको छ । एचआइभी एड्स रोगका बिरामीहरूको दीर्घजीवनको औषधि पनि गाँजा नै भएको दाबी गर्दै सांसद तामाङले नेपालको स्वास्थ्य क्षेत्र र ऋण तिर्नका लागि गाँजा उत्पादन र बिक्री वितरण खुला गर्नुपर्ने माग गर्दै भन्नुभयो, ‘एड्स रोगका बिरामीहरूको दीर्घ जीवनको औषधि नै गाँजा हो । यस रोगका बिरामीहरूलाई तत्काल यसको व्यवस्था गरिएन भने हजारौँ बिरामीहरू मर्ने खतरामा छन् । औषधि नपाएर मर्नुभन्दा वास्तवमा एड्स रोगका बिरामीहरू अब आमरण अनशन गरेर मर्न तयार भएर बसिरहेका छन् । त्यसैले यो गाँजाबाट बन्ने सिभिडी, सिभिडीबाट बन्ने औषधि र यसबाट वास्तवमा हामी प्राणघातक रोगहरूको उपचार गर्न सक्छौँ । यो विश्वले अहिले प्रमाणित गरेर अगाडि आइसकेको विषय हो । गाँजाको औषधीय गुणलाई व्यवस्थापन गरौँ । गाँजाको औषधीय गुणलाई वैधानिकीकरण गरौँ ।’ सांसद तामाङले गाँजालाई वैधानिक बनाउनुपर्ने भन्दै यसअघि नै संसद् सचिवालयमा गैरसरकारी विधेयक दर्ता गराउनुभएको छ ।

चुनावमा टोल-टोलमा मतपत्र पुर्‍याउन सकिन्छ, विद्यार्थीलाई किताब किन दिन सक्दैनौँ ?
सत्तारूढ दल नेकपा एकीकृत समाजवादीकी सांसद लक्ष्मीकुमारी चौधरीले चुनावमा टोल टोलमा मतपत्र पुर्‍याउन सकिने, तर विद्यार्थीलाई किताब पुर्‍याउन किन सक्दैनौँ ? भन्दै प्रश्न गर्नुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै सांसद चौधरीले विद्यार्थीलाई किताब पुर्‍याउन नसकेको बारे सरकारमाथि प्रश्न गर्दै भन्नुभयो, ‘चुनावमा टोल टोलमा हामी मतपत्र पुर्‍याउन सक्ने, पत्रिका घरघरसम्म पुर्‍याउन सकिने, तर नियमित कार्यक्रम विद्यार्थीलाई किताब पु¥याउन सकेनौँ । राज्यको प्राथमिकतामा विद्यालय किन परेन ? हामीले जुन विद्यालयमा भविष्य देख्न सक्दैनौँ । जनताका छोराछोरीलाई जान कसरी भन्ने ?’

नीति, कार्यक्रम र बजेटबीच तालमेल भएन : सांसद बस्नेत
सत्तारूढ दल नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले सरकारले प्रस्तुत गरेको नीति, कार्यक्रम र बजेटबीच तालमेल नभएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा बोल्दै सांसद बस्नेतले संघीयता र समावेशिता कार्यान्वयनका सन्दर्भमा कार्यक्रमअनुसार बजेट नआएको टिप्पणी गर्नुभएको हो । ठूलो परिणामको बजेट प्रदेश र स्थानीय तहमा जानुपर्ने भावी नीति तथा कार्यक्रममा रहे पनि कार्यान्वयन गर्ने क्रममा उदार हुन नसकेको जिकिर गर्दै बस्नेतले भन्नुभयो, ‘एक लाख देखिका योजनाहरू सशर्त योजनाका रूपमा राखिएका छन् । कार्यक्रममा पुँजीगत खर्च बढाउन यसले समस्या पार्छ जस्तो लाग्छ । यति धेरै योजनाहरू सशर्त योजनाका रूपमा प्रदेश र स्थानीय तहमा दिइएको छ, न ती योजनाहरू उनीहरूले स्वीकार गर्ने अवस्थामा छ । न ती सबै कार्यान्वयन गर्नका लागि त्यहाँ संरचनात्मक व्यवस्था छ । यसले पुँजीगत खर्च बढाउन केही समस्या पार्छ कि जस्तो लागेको छ ।’

देउवा सबै शक्तिको केन्द्रीकरण गरेर किन बस्नुभएको छ ? : सांसद अधिकारी

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद खगराज अधिकारीले केपी शर्मा ओलीलाई तानाशाह भन्ने सांसदहरू अहिले प्रधानमन्त्री देउवासामु नुन खाएको कुखुरा जस्तै भएर बसिरहेको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभा आइतबारको बैठकमा बोल्दै सांसद अधिकारीले तत्कालीन प्रधानमन्त्री ओलीलाई सबै शक्तिको केन्द्रीकरण गरेर तानाशाही बन्न खोजेको आरोप लगाएको स्मरण गर्दै भन्नुभयो, ‘संसद्मा माननीय सदस्यहरूले जोडतोडका साथ राष्ट्रिय अनुसन्धान विभाग किन प्रधानमन्त्री कार्यालयमा केन्द्रित गरियो ? सम्पत्ति शुद्धीकरण विभाग किन प्रधानमन्त्री मातहत केन्द्रित गरियो ? केपी ओली तानाशाही भए भनियो तर शक्तिको मोह भयो भनेर भन्ने माननीयहरू आज नुन खाएको कुखुरो जस्तै ओइलाएर किन बस्नुभएको छ । आज शेरबहादुर देउवा सबै शक्तिको केन्द्रीकरण गरेर किन बस्नुभएको छ ? यसको जवाफ नदिई तपाईंहरू कुन नैतिक आधारमा छलफलमा भाग लिनुभएको छ ?’ सांसद अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप हराएको बारे संसद्मा जानकारी गराउनसमेत सरकारसँग माग गर्नुभयो ।

सांसदहरूको भूमिका वडाध्यक्षको जति पनि भएन : सांसद झा
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद अनिलकुमार झाले बजेट निर्माणमा सांसदको भूमिका नहुनु दुःखद रहेको बताउनुभएको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाले सिंगो संसद् र सांसदहरूको हविगत बढो कहालीलाग्दो रहेको र सांसदहरूको भूमिका वडाध्यक्षको जति पनि नभएको जिकिर गर्दै भन्नुभयो, ‘म लज्जाका साथ भन्न चाहन्छु, कतिपय मामिलामा आजका हामी सांसदहरू भन्दा वडाध्यक्षहरूलाई अझ बढी सक्रिय देख्छन् । यो कुरालाई सरकारले नोट गर्नुपर्छ । सांसद र संसदको गरिमा रक्षा गर्नु हाम्रै कर्तव्य हो । यो काम संसद्ले गर्न सकेको छैन, यसमा मलाई दुःख लागिरहेको छ ।’ सत्तारूढ दल नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले पनि बजेट वितरणमा सांसदहरूलाई बच्चाको जस्तो व्यवहार गरिएको टिप्पणी गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?