प्रचण्डको हुंकारभित्र लुकेको रहस्य

Read Time = 13 mins

✍️ इन्द्रबहादुर बराल
स्थानीय चुनावपछि प्रचण्डको एउटा भाषणले निकै तरंग ल्यायो खास गरेर नेपाली कांग्रेसमा आफ्ना निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिने क्रममा नेपाली कांग्रेसलाई चेतावनी दिँदै केपी ओली बनाइदिने ध्वाँस दिए । उक्त ध्वाँसपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा सनसनी भएर फैलियो र सर्वत्र त्यसैको चर्चा अझै सेलाएको छैन । अहिले प्रचण्डकै भनाइलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खाले क्रिया÷प्रतिक्रियाले स्थान पाइराखेको छ । आज यहाँ त्यही विषयमा केन्द्रित भएर प्रचण्डको भूमिगत जीवनदेखि वर्तमानसम्मको संक्षिप्त विश्लेषण गर्ने चेष्टा गरिएको छ । जनयुद्व नामको नरसंहार कार्यको प्रारम्भदेखि हिंसात्मक सशस्त्र क्रान्तिको अन्त्यसम्म आइपुग्दा प्रचण्ड एउटा भयानक हिंस्रक प्राणीको रूपमा मानिसहरूले बुझ्ने गरेको पाइन्थ्यो ।

जब शान्ति प्रक्रियामा आए तब प्रचण्डको राप र तापको प्रभाव पहिलो संविधानसम्म खरो रूपमा सबै नेपालीले अनुभूति गरेकै तथ्य घाम जस्तै छर्लंगै छ । नेपालीहरूमा एक प्रकारको उत्सुकता थियो ‘नयाँ नेपाल’ को नारा बोकेर सत्तामा पुगेको प्रचण्ड नेतृत्वको नेकपा माओवादीले अवश्य पनि नेपालीको दिनचर्यामा केही न केही सकारात्मक परिवर्तन ल्याउनेछ । आश र त्रासका कारण माओवादी बनेका बहुसंख्यक नेपाली उनीहरू (माओवादी) को राज्य सञ्चालनको शैलीबाट विस्तारै वाक्क दिक्क हुँदै गए । उत्पीडित जाति, क्षेत्र, वर्ग, लिंग आदिलाई बाँडिएको अश्वासन केबल अश्वासनमै सीमित रहृयो । नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउने दिशा केन्द्रीकृत हुनुपर्ने सरकार सेना प्रभुख र पशुपतिका पुजारीलाई हटाउन लागे ।

तर, त्यस कदम आफैंलाई प्रतिउत्पादक बन्न पुग्यो र प्रचण्ड सत्ताको बागडोरबाट हात धुन बाध्य भए । प्रचण्डको अदूरदर्शी नेतृत्वको सरकारले संविधानसभाबाट संविधान निर्माण गर्ने कार्यमा कति विलम्ब भयो भन्ने कुरा प्रष्टै छ । त्यसका बाबजुद संविधानसभाबाट संविधान जारी गर्नुको विकल्प थिएन । पहिलो संविधानसभाको दुई वर्ष कार्यावधि थप गर्दा पनि कम्युनिष्ट नामका पार्टीहरू देशको मूल कानुन (संविधान) बनाउन पूर्णतःअसफल रहे । अन्ततः तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईले २०६९ जेठ १४ गते मध्यरातमा पहिलो संविधानसभा विघटन गरे ।

यसरी हेर्दा नेपालका तथाकथित कम्युनिष्टहरू पूर्णरूपले निकम्मा सावित भएकै हुन् । जुन तथ्य निकट (ताजा) इतिहासले प्रमाणित गरिसकेको छ । आज पनि अस्थिरताका लागि उनै पात्रहरू देखापरिरहेका छन् र भन्दैछन् हामीविना परिवर्तन, विकास र समृद्धि सम्भव छैन । तर, इतिहास साक्षी छ वास्तविकता अर्कै छ । त्यसको समीक्षा भोलिको इतिहासले गर्नेछ ।

नेपालको २४० वर्ष लामो एकात्मक र राजतन्त्रात्मक राज्य प्रणालीको अन्त्यको प्रारम्भ कहाँ कहिले र कसरी भयो भन्ने तथ्य जानकारी हुनु आवश्यक छ । हुन त यो स्वतन्त्र र निष्पक्ष रूपले इतिहासकारले लेख्ने नै छन् । तथापि अहिलेको पुस्ता जो राजनीतिक र सामाजिक अनि सांस्कृतिक रूपले चासो राख्ने जो कोहीले पनि जानेकै विषय हो कि यसमा स्वयं राजाहरूकै अहम् भूमिका छ । जुन दिन (२०५८ जेठ १९ गते) एउटा परम्परागत राजपरिवारको वंशनास गरी अर्कोलाई राजा घोषणा गरियो, त्यही दिनदेखि नेपालमा गणतन्त्रको अदृश्य बीजारोपण भएको थियो । किनभने ज्ञानेन्द्र शाहलाई मनैदेखि खुदै राजावादीहरूले पनि पचाइरहेका थिएनन् ।

ज्ञानेन्द्र शाह परम्परागत राजा थिएनन्, उनलाई त एउटा घटनाक्रमले राजा बनाएको थियो जसकाप्रति आमनेपालीको आशा र भरोसा थिएन । यसमा तत्कालीन माओवादी र नेपाली कांग्रेसको भूमिका अलिक प्रभावकारी थियो । एकातिर माओवादी गणतन्त्र चाहने अर्कातिर ज्ञानेन्द्र शाह संवैधानिक राजतन्त्रवादी नेपाली कांग्रेसलाई खेद्न थालेपछि माओवादी र कांग्रेस एउटै थलोमा उभिन बाध्य भए । यहाँसम्म आइपुग्न नेकपा एमाले नामको पार्टीको ह मा ह मिलाउनुबाहेक अन्य कुनै प्रभावकारी भूमिका देखिँदैनथ्यो । यो यथार्थलाई भलै नेकपा एमालेले पचाउन नसक्ला तर तीतो सत्य त्यही हो ।

यसर्थ अहिलेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा केही दम्भ बढेर आयो तर तत्कालीन एमालेमा बिलिन भएपछि क्रमशः आफू ओझेलमा पर्दै गएपछि नेकपको सरकार ढाल्नेतिर लागे । ओली सरकार ढालेपछि फेरि अर्को रूखको छाहारी खोज्दै बूढानीलकण्ठ पुगे । यसै पनि समकालीन राजनीतिमा अत्यन्तै महत्वाकांक्षी र अस्थिर नेताको पहिचान बनाएका प्रचण्डले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन पनि सफल देखिए । यद्यपि प्रचण्ड, माधव, झलनाथ आदिको भूमिकाबाहिर देखिए पनि त्यसको निर्णायक भूमिका नेपाली कांग्रेस नै थियो । तत्कालीन नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र दम्भले आफ्नै खुट्टोमा बञ्चरो आफैंले हानेकै हो ।

यो एउटा लामो शृंखला निरन्तर चलिरहृयो सरकार बनाउने र भत्काउने । नेपाली समकालीन राजनीतिक क्षितिजमा प्रचण्ड र केपी शर्मा ओली कहिल्यै गम्भीर र जवाफदेही देखिएनन् । यस्तो गैरजिम्मेवार तथाकथित नेताका कारण मुलुक सधैं अस्थिरतातिर धकेलिरहन्छ । अहिले पनि प्रचण्ड त्यही अस्थिर बाटो रोज्ने क्रममा छन् भन्ने बुझ्न त्यति गाह्रो छैन । भयानक डरलाग्दो हिंस्रक भएर भूमिगत राजानीतिबाट सतहमा निस्केका प्रचण्ड यति छिट्टै रुझेको बिरालो होलान् भन्ने लागेको थिएन तर भयो ।

यसको पछाडि उनीहरूमा खास गरेर प्रचण्ड र ओली दुवैमा सुसंस्कृत संस्कार नहुनु जिम्मेवारी देखिन्छ । हाम्रो नेपाली समाजमा एउटा भनाइ छ ‘कुलकी छोरी र मूलको पानी’ हो यिनीहरू कुनै असल संस्कारबाट राजनीतिमा आएजस्तो देखिँदैन न कुलका न मूलका । अरूलाई हुंकार गर्ने प्रचण्ड र हास्यविधिबाट देश र पार्टी चलाउँछु भन्नु ओली प्रवृत्ति हास्यास्पदमात्रै हो । यहाँ प्रंगगबस ओलीलाई पनि जोडिएको छ ।

अब रहृयो प्रचण्डले कांग्रेसलाई तर्साउन जुन हुंकार गरेका छन् त्यसको रहस्य के हुन सक्ला त्यतातिर सूक्ष्म चर्चा गरौं । सांगठनिक दृष्टिले क. प्रचण्डले नेतृत्व गरेको नेकपा माओवादी केन्द्र अत्यन्तै कमजोर र निरीह देखिन्छ । यो तथ्य बुझेका प्रचण्ड आफ्नो फेस सेभका लागि अनेक तिकडमबाजी गर्ने क्रममा अहिले कांग्रेसलाई तर्साउने खेलमा लागेका छन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सोझोपनको लाभ उठाएर छोरी रेणुलाई दुई/दुई चोटि मेयर बनाए तर अहिले कृतज्ञता प्रकट गर्नुपर्नेमा कृतघ्वन देखिए ।

तसर्थ क. प्रचण्डले हेक्का राख्नुपर्ने हो ‘एउटा माघले जाडो सकिँदैन’ । राजनीतिमा छेपाराले झैं रंग फेरिराख्दा दीर्घकालीन रूपमा त्यसको असरबारे पनि सोच्नुपर्ने हो प्रचण्डले । नेताहरू यसरी नै बेलगाम जथाभावी बोल्दै हिँड्दा जनतामा कस्तो प्रभाव पर्छ भन्ने सामान्य हेक्का नहुनु विडम्बना हो । यहाँ त नेता जनताबाट टाढिँदै गएको चिन्ताभन्दा नि व्यवस्थाप्रति अनास्था बढ्दै गएको स्थितिले परिवर्तनकारी शक्तिहरूमा चिन्ता व्याप्त हुँदै गएको छ । त्यसैले धेरै बाठो बन्दा आफ्नो धोती फुस्कने खतरा बढेर गएको छ, क.प्रचण्ड । यहाँ चिन्ता प्रचण्डको धोती फुस्कनेभन्दा सिंगो नेपालको संविधान २०७२ नै नरहने हो कि भन्ने आशंका प्रकट हुँदै गरेको आभाष पाइँदै छ ।

तसर्थ सबाल कांग्रेसलाई ओली जस्तै बनाइदिउँला भन्ने चेतावनीको भाषाले कतै आफैं फेरि जंगलतिर पस्नुपर्ने त होइन ? एक पटक त्यतातिर पनि सोच्नु होला क.प्रचण्ड । अब कांग्रेसलाई देखाएर एमाले तर्साउने र एमाले देखाएर कांग्रेसलाई चेतावनी दिने रुन्चे धम्की तुरुन्तै बन्द गर्दा बेस होला । ‘खोलो तरेर लौरो बिर्सने’ पुरानो बानी अझै तपाईंमा जीवितै देखिँदा अचम्मै पो लाग्न थाल्यो, लाग्दथ्यो अब ता त्यस्तो कुबुद्धि नआउला भनेको त ‘कुकुरको पुच्छर बाह्र वर्ष ढुंग्रामा राखे पनि बाङ्गाको बाङ्गै’ भने जस्तो पो देखियो । यदि यस्तै हो भने अब प्रचण्डका सुदिन सकिए भनेर बुझ्दा हुन्छ ।

स्थानीय निर्वाचनमा गठबन्धनको आड र भरोसा प्राप्त सफलताको मातले जथाभावी बोल्ने बानी छोडेर आगामी प्रदेश र संघीय निर्वाचनमा इज्यात छोप्नेतिर लाग्नु श्रेयस्कर हुने देखिन्छ क.प्रचण्ड । स्थानीय तहमा निर्वाचित आफ्ना जनप्रतिनिधिलाई बधाई तथा शुभकामना निर्देशन दिने क्रममा कांग्रेसका विरुद्ध जुन धम्कीपूर्ण चेतावनी दिनुभएको छ त्यो तुरुन्त फिर्ता लिनुमा बुद्धिमानी ठहरिनेछ । अन्त्यमा कांग्रेसका विरुद्ध चेतावनीपूर्ण भाषा बोलेर कि त वामएकताको ढोका खोल्न खोजिएको हो जुन अहिले ओलीले बन्द गरेर बसेका छन् । यसर्थ आगामी प्रदेश र संघीय निर्वाचनमा अहिलेको गठबन्धनलाई अरू कसिलो बनाउन खोजिएको हो ? प्रचण्डको हुंकारको रहस्य अझै खुल्न बाँकी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?