कृति समीक्षा : खेमनाथ दाहालको ‘यात्राको सिकर्नी’ पढिसकेपछि

हिमालय टाइम्स
Read Time = 38 mins

✍️ विमल अधिकारी
१. परिचय :
नेपाली साहित्यको क्षेत्रमा ५० को दशकदेखि कविता विधामार्फत देखिएका खेमनाथ दाहाल (विसं. २००९, लाबृ, तेह्रथुम) काव्य लेखनमा अब्बल साबित भइसकेका छन् । वाणिज्य शास्त्रमा स्नातकोत्तर पूरा गरेका एक विद्वान् ज्योतिषी पण्डितका छोरा दाहालमा सानै उमेरदेखि संस्कृत, पूर्वीय दर्शन एवं नेपाली साहित्यप्रति गहिरो रुचि भएको बुझिन्छ । जीवनयापनका क्रममा कहिले सरकारी जागिर त कहिले यायावर बन्दै विभिन्न ठाउँमा पुग्छन उनी । खेमनाथ दाहाल आफैंमा एक विद्वानका छोरा थिए । तत्कालीन समयमा अन्तरजातीय विवाह समाजलाई अग्राहृय थियो । उनले भने त्यसकालमा पनि अन्तरजातीय विवाह गरेर सामाजिक रूपान्तरणको पक्षपोषण गरेँ । एक प्रकारले उनी त्यस कालमा स्पट उदाहरण बने, अभियन्ताझैँ भए ।

उनको अतीतलाई नियाल्दा पाण्डित्यपूर्ण वातावरणमा हुर्किएका दाहालले साहित्यप्रतिको गहिरो रुचि भएका कारण सानैदेखि कविताहरू लेखिरहने तर प्रकाशनमा खासै चासो नराख्ने गरेको बुझिन्छ । खेमनाथको साहित्यिक इतिहास केलाउँदा ढल्कदा उमेरमा विसं.२०५४ मा ‘श्रद्धाञ्जलि’ नामक कविता सङ्ग्रह प्रकाशन पछिमात्र नेपाली साहित्यको क्षेत्रमा विधिवत प्रवेश गर्न पुगेको देखिन्छ । छोरीछोराको उच्च शिक्षा अमेरिककामा पूरा भएपछि दाहाल अमेरिका पुग्छन् ।

अमेरिका घुम्ने क्रममा हार्वड विश्वविद्यालयको परिवेश देख्छन् । अमेरिकी जीवनशैली देख्छन् । ग्यास स्टेसनको संसारमा नेपालीहरूको जीवन देख्छन् र त्यही अनुभव र अनुभूतिलाई कलामार्फत कला भर्छन् । कविता लेख्छन् । हावर्डको चौतारीमा भन्ने डायस्पोरिक कविताहरूको संग्रह तयार हुन्छ । त्यसपछि नेपाल आएर बगर पत्रिकाका प्रधान सम्पादक एवं प्रकाशक साहित्यकार कवि नकुल सिलवालसँगको सानिध्यमा रहेर उनकै प्रकाशनमा चौथो कृतिका रूपमा ‘हावर्डको चौतारीमा’ (कविता संग्रह,२०६४) बगरमार्फत प्रकाशित गराउँछन् । हुनत यो कृति प्रकशित हुनुपूर्व नै दाहालका ‘श्रद्धाञ्जलि’ (कविता संग्रह, २०५४) ‘रश्मि’ (खण्डकाव्य, २०५६) ‘योद्धा’ (काव्य, २०६०) नामक कृति र यथेष्ठ कविताहरू शब्द संयोजन, बगर, मधुपर्क, गरिमा, दोभान, आदी पत्रिकामार्फत प्रकाशित भइसकेका थिए ।
त्यसपछि अहिलेसम्म आइपुग्दा आफे विशिष्ट सिर्जनक्षमतालाई अझ तिखार्दै श्वेतपत्र महाकाव्य (२०६७) ‘म त बन्दी भएकोछु’ -कविता संग्रह २०७२) र ‘यात्राको सिकर्नी’ (नियात्रा संग्रह २०७७) प्रकाशमा आइसकेकाछन् । यो सबै दाहालको प्रतिभा अध्यासको उपज हो । ढिलै भए पनि यस्ता प्रतिभा नेपाली साहित्यको इतिहासले पाएको छ । खेमनाथ दाहालका २०७२ : बगर फाउण्डेसन) बगर पत्रिकाले प्रकाशन गरेको छ ।

यस कृतिमा उनका कृतिहरूको अग्रज समालोचक समीक्षकबाट उच्च मूल्यांकन भएको छ । ग्रन्थ पढिसकेपछि खेमनाथ कस्ता कवि एवं सर्जक हुन् भनी टीकाटिप्पणी गर्नै पर्दैनभन्दा अतिशयोक्ति नहोला । उक्त पुस्तकको समालोचनात्मक लेखहरूले पनि दाहाललाई नेपाली साहित्यको काव्य विधामा स्थापित गराएको छ । गद्यपद्य दुवैमा कविता लेख्ने दाहालको मूल रुचि पद्यतर्फ नै बढी देखिन्छ । उनले त्यसमा विशिष्ट सिर्जन क्षमता प्रदर्शन गरिसकेका छन् ।

एक साहित्यकार भएकाले खेमनाथ कविता विधामा मात्रै कहाँ सीमित भएर बस्न सक्छन् र ? यायावरीय वृत्ति अपनाउँदै देश परदेश गरिरहन्छन् । भ्रमणशील स्वभावका दाहाल कहिले अमेरिका त कहिले मलेशिया सिंगापुर त कहिले नेपाल भारतका तीर्थस्थल गरिरहन्छन् । जीवनको उत्तराद्र्धोन्मुखमा पनि ललितपुरको बालकुमारीस्थित कोलनीको एक कुनामा पत्नी उषकासाथ रहँदै साहित्यिक चिन्तन-लेखनमा सक्रिय भइरहन्छन् । नेपाली भाषा साहित्य संस्कृतिको विकाससँग आफ्नो सामाजिक योगदान र प्रसिद्धिका खातिर एकोहोरिरहन्छन् ।

साहित्यिक क्षेत्र अनुत्पादक हो भन्ने थाहा पाउँदापाउँदै पनि लागिरहन्छन् । छोरी र छोराले अमेरिकाबाट पठाएको पकेट खर्च बचाएर भए पनि लेखन प्रकाशनमा लगानी गर्छन् । यस्ता साहित्य सेविले सन् २०१७ को दशैँतिर मलेसिया र सिंगापुरको भ्रमण गरेका छन् । मलेसियामा छोरी ज्वाइँ नातिहरूको पनि जमघट भएकोछ । नेपालबाट दाहालपत्नी मलेसिया पुगेका छन् भने अमेरिकाको कनेक्टीकटबाट छोरी ज्वाइँको टोली आएको छ भ्रमण योजना अनुसार । त्यही भ्रमणलाई खेमनाथले नियात्राको नाम दिई ‘यात्राको सिकर्नी’ नामक पुस्तक प्रकाशन गराएका छन् ।

विसं. २०७७ मा प्रकाशित उक्त पुस्तकको प्रकाशक भने दाहालपत्नी उषा हुन् । यो स्तम्भकारले काम गर्ने स्टोरमा नियात्रा आइपुगेपछि आफूले जाने बुझेको समीक्षा गरिदिऊँ भन्ने लागेर पाठकाभिमुख समीक्षा गर्ने कोसिस गरेको छु । अग्रज समालोचक प्रा. राजेन्द्र सुवेदी र प्रा.डा. कृष्णप्रसाद दाहालबाट भूमिका लेखन भएको छ । उक्त नियात्राका विभिन्न अध्यायको टिप्पणी गर्ने र कृतिको विशेषतालाई बुँदागत रूपमा राख्ने उद्देश्य यो स्तम्भकारको छ । अतः त्यसतर्फ केन्द्रित हुनु उचित हुन्छ ।

२ ‘यात्राको सिकर्नी’ भित्रका नियात्राहरूको टिप्पणी :-
खेमनाथ दाहालकृत ‘यात्राको सिकर्नी’ दाहालपत्नी उषा दाहालले विसं २०७७ मा प्रकाशन गराएको देखिन्छ । यस कृतिमा १६ अध्याय छन् । १६औं शीर्षकमा चाहिँ भ्रमणका महत्वपूर्ण तस्वीरहरू समावेश छन् भने १५औं शीर्षक चाहिँ पुस्तकको मूल शीर्षकको रूपमा देखिन्छ । पुस्तकको निष्कर्ष पनि यही १५औं अध्यायको ‘यात्राको सिकर्नी’ हो । सन् २०१७ मा दाहाल परिवारले मलेसिया सिंगापुरको भ्रमण गरेको छ ।
यही क्रममा नियात्राकारले भोगेका, देखेका, अनुभव गरेका र सुनेका विषयवस्तुलाई यस पुस्तकमा समेटिएको छ । मूलतः नियात्राकार खेमनाथले सत्यतथ्य, खोजमूलक शैलीमा यो पुस्तक तयार गरेका यस पुस्तकका १५ शीर्षकका बारे एकएक गरेर छोटो टिप्पणी गर्नु उपयुक्त लागेकोले टिप्पणीकारले त्यही अनुरूप यो आलेख लयार पार्ने प्रयत्न गरेको छ ।

२.१ काठमाडौंदेखि क्वालालम्पुरसम्म :
सन् २०१७ अर्थात् विसं २०७४ दशैँका बेला खेमनाथ दाहालको टोलीको मलेसिया भ्रमण भएको छ । मलेसियाका तत्कालीन राजदूत डा.निरञ्जनमानसिंह बस्नेतको आतिथ्य मलेसियाको विकास समिद्धि देखेर नियात्राकार पुलकित भएको आदि विषय यस अध्यायमा समेटिएका छन् ।

२.२ राजदूत निवासदेखि टायम्स स्क्वायरसम्म :
नियात्राकारले यस अध्यायमार्फत विकास, समृद्धि, भौतिक संरचना, ठूलाठूला सुपर मार्केट, रेस्टुरेन्ट, परिकार, पाककलाको प्रशंसा गरेकाछन् । प्रायःजसो नेपालीहरू सुरक्षा गार्डमा काम गरिरहेको एवं आफ्नो परिवार चलाइरहेको बनाउँदै बाध्यता विवशताले नेपालीहरू परदेसिएको निचोड निकालका छन् । दिनप्रतिदिन बेरोजगारीको समस्याले विकराल रूप लिइरहेकोमा नियात्राकारको गम्भीर चिन्ता देखिन्छ ।

२.३ गेन्टिङ हाइट्देखि चेन सी टेम्पलसम्म :
पहाडको उकालो तान्न नसकेर राजदूतावासको भ्यान थला परेको, बेवारिसे गाडीमा चर्को भाडा तिरी गन्तव्यमा पुग्नुपरेको, क्यासिनो घरको वयान, अमेरिकाका प्रसिद्ध क्यासिनो घरसँग तुलना, प्यागोडा शैलीका मठ मन्दिरको प्रशंसा, भगवान बुद्ध प्रति श्रद्धा आदि विषय यस अध्यायमा आएका छन् । साथै, नियात्राकार खेमनाथले विकास, धर्म-संस्कृति कला, इतिहास, पुरातत्व, भूगोलको अध्ययन गरेर मात्र यात्रा गरेको स्पष्ट हुन्छ । समग्रमा मलेसियास्थित उक्त टेम्पलहरूको भ्रमणबाट नियात्राकार निकै प्रभावित भएका छन् ।

२.४ बटु गुफा :
मलेसियामा मुस्लिम धर्मालम्वीहरूको संख्या अधिक रहे पनि अन्य धर्मालम्वीहरू पनि रहेको कुरा उल्लेख छ । हिन्दू, बौद्ध, धर्मालम्बीहरू अल्पसंख्यक समुदायमा पर्ने र त्यहाँका तमिलहरू हिन्दूधर्ममा विश्वास गर्ने आदि बताइएको छ यस अध्यायमा । बटु गुफाको ऐतिहासिकता, महत्व एवं धार्मिक-पर्यटकीय महत्वलाई दर्साइएको छ । नियात्राकारले नेपालको बोडे जात्रालगायत अन्य जात्रासँग बटु गुफाको तुलना गरेका छन् ।

२.५ पेट्रोनास टावर्सलाई नियाल्दा :
मलेसियाका अग्लाअग्ला भवन निर्माणको इतिहास, विकास र समिद्धि, विकास । समिद्धिको चाहना, अमेरिकाको ट्विन टावरसँग मलेसियाका अग्लाअग्ला गगनचुम्बी भवनको तुलना आदि यस अध्यायमा आएका छन् । नियात्राकार खेमनाथ योजना लक्ष्यका साथ अघि बढ्न सके प्रगति हुने दाबी गर्छन् । त्यस्तै भौतिक विकासले व्यापारको विकास गर्ने र देश समृद्ध-समुन्नत हुने तर्क राख्छन् ।

२.६ सिंगापुर यात्रा :
सन् २०१७ अक्टुबर ७ तारिखका दिन क्वालालम्पुरबाट ३५५ किमी दुरीमा रहेको सिंगापुर देशको भ्रमण गरेको गरेको छ नियात्राकारको टोलीले । यात्रामा देखिएका सम्पूर्ण घटना यस अध्यायमा उतार्ने कोसिस भएको छ । निकै लामो पृष्टको यस अध्यायमा नियात्राकारले पाठकलाई सिंगापुरको जनजीवन, परिवेश, विकास आदि देखाएका छन् । यात्राका क्रममा लावालस्कर लागेर सिंगापर जाने र मलेसिया फर्कर्ने दृश्यलाई रोचक मानेका छन् नियात्राकारले । बिहान कामगर्न गएका मलेसियनहरू बेलुका हुलका हुल फर्कर्ने रहेछन् । उनीहरूका लागि पानीपँधेरो जस्तो रहेछ । नेपालीहरू हुलका हुल बाँधेर सिंगापुर काममा गई साँझ घर फर्कर्ने प्रसंग निकै रोचक छ ।

सिंगापुरलाई सिंगापुर बनाउने राष्ट्रपति लीको निकै प्रशंसा गरिएको छ । विकसित, सम्पन्न, समृद्ध सिंगापुर देखेर नियात्राकार दाहाल पनि समृद्ध विकसित नेपालको सपना देख्छन् । नेपालमा राष्ट्रपति ली जस्तो नेतृत्वको आवश्यकता ठान्छन् । यस अध्यायमा लेखक सिंगापुरको विकास, प्रतिव्यक्ति आय, रोजगारी, अर्थतन्त्र, राजनीति व्यवस्था देखेर छक्क परेका छन् । विकास होस् सिंगापुर जस्तो भन्छन् । र, त्यस्ता विकास, समृद्धि, सिस्टमले नियात्राकारलाई निकै प्रभाव पारेको छ । सिंगापुरस्थित होटल रेस्टुरेन्टमा पाएको आतिथ्य सत्कार एवं पाककलाबाट नियात्राकार दाहाल पुलकित बनेका छन् ।

समग्रमा लेखक खेमनाथ दाहालले सिंगापुरको इतिहास, भूगोल, अर्थतन्त्र, राजनीतिबारे तथ्यपरक सूचना दिएका छन् । त्यतिमात्र होइन, आफूसँगै पाठकलाई पनि सिंगापुर डुलाएका छन् । कतिपय पाठक/समीक्षक यस अध्याय पढ्दा झिँजो मान्न सक्छन् । पट्यारलाग्दो अध्याय भए पनि सिंगापुर जान्न÷बुझ्न यसले ठूलो मद्दत गरेको छ । पटक-पटक नेपाल सिंगापुर जस्तो विकसित बनोस् भन्दै प्रार्थना गर्ने दाहाल एक विकासप्रेमी राष्ट्रवादी स्रष्टासर्जकका आफूलाई रूपमा आफूलाई स्थापित गर्न खोज्छन् यस अध्यायमार्फत ।

२.७ मेलका यात्रा :
कहीँकतै हाँसीमज्जा, चियाकफी गफ यस अध्यायमा भए पनि यस अध्यायमा नियात्राकार खेमनाथ दाहालले ऐतिहासिक-पुरातात्तिक विषयलाई मूल विषय बनाएका छन् । एक इतिहासको विद्यार्थी जसरी, एक शाधार्थी जसरी पुरातत्व एवं संग्रहालयको अवलोकन भ्रमण अध्ययन गरेका छन् । नेपालमा पुरातत्व र संग्रहालयको उचित संरक्षण हुन नसकिरहेकोमा गम्भीर चिन्ता प्रकट गर्दै यसको उचित संरक्षण सम्बद्र्धन गर्ने सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

२.८ पुत्राजयमा नेपालको झण्डा :
मलेसिया भ्रमणका क्रममा पुत्राजय भन्ने ठाँउमा पुगेका नियात्राकार त्यहाँको परिवेशको चित्रण गर्छन् । नेपाली राजदूतावास निर्माणको लागि लिइएको जमिनमा भवन निर्माण हुन नसकेको कारण थाहा पाएर निराश बन्छन् लेखक । उक्त स्थानमा रहेको नेपालको झण्डासहितको स्तम्भ देखेर नियात्राकार नेपालप्रति गर्व गर्छन् ।

यस अध्यायमा मनोवाद, निजात्मक शैलीको अधिक प्रयोग भएको पाइन्छ । कुनै पनि भ्रमण गर्नुपूर्व त्यहाँको भूगोल, परिवेश, मौसम, इतिहास आदिको अध्ययन गर्नुपर्छ या भ्रमणपूर्व त्यस ठाउँको बारे थोरबहुत जानकारी लिनुपर्छ । नियात्राकार यस कुरामा निकै अघिरहेछन् भन्ने कुराको पुष्टि भइकोछ । साथै खेमनाथ आफू खोज-अनुसन्धानमूलक लेखक भएको कुरा प्रष्ट हुन्छ यो अध्यायको अध्ययनपछि ।

२.९ मानार्थ राजदूत टेरी टिओको डार्कमा :
मानार्थ राजदूत टेरी टिओले अतिथि देवो भवः को उदाहरण पेश गरेका छन् । नेपाली कामदारका बारेमा छलफल, कामदारका समस्या-पीडा-व्यथा, डार्कको चिल्ड्रन पार्क, टेरीको घोडाफार्ममार्फत मातृमूमिप्रतिको अगाध माया, राजदूतघरको समयावधिसम्म काम गर्न नपाउने पीडा, नेपालको तरल राजनीतिक अवस्था आदिलाई यस अध्यायमा समेटिएको छ । टेरीको आतिथ्य सत्कार, राष्ट्रवादी भावना देखेर नियात्राकार निकै प्रभावित बनेका छन् ।

२.१० राजकुमारको निम्तो :
एक कामदारका रूपमा मलेसिया पुगेको राजकुमार सापकोटा एउटा स्टार होटलको उच्चपदमा पुगेको करा निकै राचक लाग्छ । राजकमारलाई भेटेपछि नियात्राकार पुलकित भएका छन् । मलेसियामा कतिपय नेपालीहरू विकृति-विसङ्गतिमा फसी जीवन बर्बाद गरिरहेको कुरा सुनेपछि नियात्राकार निकै गम्भीर बनेका छन् । कम्पनी छोडेर अवैधानिक बन्ने एवं सुरासुन्दरीमा रमाउने कतिपय नेपाली युवाहरूको दुखान्त अन्त्यको कथा सुनेर लेखक खेमनाथ भावुक बन्छन् । त्यसप्रति दुःख प्रकट गर्छन् । पूर्वदीप्ति शैलीमा राजकुमारले मलेसियाका नेपाली कामदारको जीवनशैली, दिनचर्या एवं परिवेश बताएका छन् । मूलतः नियात्राकार यस अध्यायमा नेपालीहरूको चरित्रचित्रण गर्न सफल छन् ।

२.११ दूतावासको सेरोफेरो :
दूतावास भवनको समस्या, निरीहपन, गोर्खालीहरूको युद्धको इतिहास, नेपाल फर्कने पूर्वसन्ध्याको परिवेश, एयरपोर्टसम्म पु¥याउन ड्राइभर प्रकाशको सेवा एवं मलेसिया-नेपाल कूटनीतिक सम्बन्धको इतिहास आदि विषय यस अद्यायमा आएका छन् ।

२.१२ भूगोल र इतिहास :
मलेसियाको राजनीतिक इतिहास, विभिन्न आन्दोलन, एकीकरण एवं सन १९६५ मा टुक्रिएको सिंगापुर-मलेसियाको वर्णन छ । नियात्राकारले गम्भीर खोज-अनुसन्धान गरेर यो अध्याय तयार गरेको पाइन्छ ।

२.१३ मलेसियाको अर्थतन्त्र :
करिब ५० वर्षको समयावधिमा मलेसियाले उद्योग-धन्दा कलकारखानामार्फत विकासको ठूलो फड्को मारेको कुरा यस अध्यायमा उल्लेख छ । प्रतिव्यक्ति आय उच्च दरमा बढिरहेको मलेसियाको अर्थतन्त्र झन् मजबुत बनेको छ । प्रधानमन्त्री महाथिरले मलेसियालाई आजको मलेसिया बनाए । विकास र समृद्धिको एक नमुना बन्यो मलेसिया । मलेसियाको विकास देखेर नेपालमा पनि उद्योगधन्दाको विकासको सपना देख्छन्–नियात्राकार । उद्योग-धन्दाको विकासलेमात्र बेराजगारीको समस्यासमाधान हुने ठहर गछर्न् । पटक-पटक नेपालको विकास र समृद्धिको कामना गरिरहन्छन् नियात्राकार यस अध्यायमार्फत् ।

२.१४ दक्षिणपूर्व एसियामा कम्युनिष्ट विद्रोह र युद्ध :
दक्षिणपूर्व एसियामा भएका विभिन्न आन्दोलन, कम्युनिष्ट विद्रोह एवं विभिन्न कालखण्डमा भएका युद्धको इतिहासलाई यस अध्यायमा समेटिएको छ । मूलतः मलेसियामा भएको कम्युनिष्ट विद्रोह, भियतनाम, लागोस, कम्बोडिया युद्धको इतिहासलाई चर्चा गरिएको छ । सन् १९७५-१९७८ को खमेर रुज शासनकालको बर्बरता एवं स्वतन्त्रताप्राप्त पछिको दक्षिणपूर्वी एसियाको जानकारी यस अध्यायमा भेटिन्छ । कम्युनिष्ट आन्दोलनका प्रखर वक्ता एवं विचारक जननेता मदन भउडारीका सहपाठी भएर पनि कम्युनिष्ट आन्दोलनबारे राम्रो जानकारी राखेका छन् खेमनाथले । कम्युनिष्ट विचारबाट समेत उनी प्रभावित देखिन्छ उनका कृतिहरूको अध्ययन गर्दा । कतिपय वामपन्थी नेताहरूलाई समेत पाठ पढाएका छन् यस अध्यायमार्फत ।

यसरी खोज अनुसन्धानमूलक अध्ययन गरी दक्षिणपूर्वी एसियाका विभिन्न आन्दोलनको जानकारी लिसक्नुले दाहाल राम्रा गैरसाहित्यिक लेखकको रूपमा समेत चिनिन सक्छन् । आन्दोलनबाटै आएका दक्षिणपूर्वी एसियाका कतिपय देश विकासमा निकै अघि रहेको यथार्थ प्रकट गर्दै नेपालको वर्तमान दूर्दशा एवं बेरोजगारीप्रति दिक्क भएका छन् नियात्राकार । नेपालमा संघीय गणतान्त्रिक व्यवस्थाको अभ्यास गरेको पनि करिब एक दशक नाघिसक्दा पनि समस्या यथावत् भएकोमा लेखक खेमनाथ गम्भीर चिन्तामा परेका छन् । खासमा दक्षिणपूर्व एसियामा कम्युनिष्ट आन्दोलन र देशप्रतिको चिन्तामा नै यो अध्याय सम्पन्न भएको छ ।

२.१५ यात्राको सिकर्नी :
पुस्तकको मूल शीर्षकका रूपमा रहेको यो अध्याय पुस्तकको निचोडको रूपमा आएको छ । मोही पारेर नौनी निकालिन्छ । त्यही नौनी हो ‘यात्राको सिकर्नी’ अध्याय । नियात्राकार खेमनाथ दाहालको मूल सन्देश यही अध्यायमा भेटिन्छ । नेपालले पनि विभिन्न आन्दोलनको चरण पार गरेको छ । प्रत्येक आन्दोलनपछि आमूल परिवर्तन हुनुपर्ने हो । तर, आन्दोलन एवं परिवर्तन अवसरवादमा रूपान्तरण भएकोमा दाहाल आक्रोश पोख्छन् । नेपालका कतिपय नेताहरू विदेशीको गाटी बन्दै नेपालको अस्तित्व त समाप्त गर्ने होइनन् भन्दै खबरदारीसमेत गर्छन् । नेपालको पछौटेपन, निरीहता एवं अविकास, बेरोजगारीप्रति गम्भीर भएर यस पुस्तकको बिट मारेका छन् दाहालले । उनी जहाँतहाँ राष्ट्रिय भावनाले ओतप्रोत छन् ।

३. ‘यात्राको सिकर्नी’ नियात्रा संग्रहका विशेषताहरू बुँदागत रूपमा
(क) खोज-अनुसन्धानमूलक (ख) इतिहास भूगोलको गहिरो अध्ययन (ग) विकास र समृद्धिको चाहना (घ) बेरोजगारीको पीडा (ङ) विकास र समृद्धिको तुलना (च) परिवेशगत चित्रण (छ) विकृति-विसङ्गतिको चित्रण (ज) विकासका पिता राष्ट्रपति ली र प्रधानमन्त्री महाथिरको उच्च प्रशंसा (झ) पारिवारिक माहौल (ञ) पुनर्ताजगी (ट) राष्ट्रियता (ठ) मलेसिया र सिंगापुरको जनजीवन, शैली एवं परिवेशको चित्रण (ड) आतिथ्य सत्कारको प्रदर्शन (अतिथिदेवो भवः को आत्मसात्) (ढ) मलेसियामा रहेका नेपाली कामदारको समस्या एवं राजदूतावासको निरीहपन तथा समस्याको जानकारी (ण) उच्चस्तरीय भाषा शैलीको प्रयोग (त) कविता /श्लोक एवं पूर्वीय दर्शनका सूक्तिहरू समावेश (थ) भाषिक चातुर्य, स्तरीय शब्दचयन (द) अभिधा, लक्षणा भाषाको प्रयोगमार्फत आफ्नो सिर्जनक्षमताको प्रदर्शन (ध) कहीँकतै अंग्रेजी शब्द एवं संस्कृतका पदावलीको प्रयोग (न) वाक्यगठन गर्दा भूतकालिक क्रियापदमा रुचि आदि ।

४. दुर्बल पक्षहरू :
पूर्वीय मान्यताअनुसार दोषरहित काव्य हुन्न भनिएको छ । यो ‘यात्राको सिमर्नी’ पुस्तक दोषमुक्त चाहि हुन सकेको छैन । यस कृतिलाई नियात्रा भनिए पनि यो पूर्णरूपमा नियात्रा बन्न सकेको छैन । पुस्तकका अध्यायहरू अध्ययन गरिसकेपछि पाठक/समीक्षक नियात्रा निबन्ध-प्रबन्धको क्वाटी भनी टिप्पणी गर्न सक्छन् । रोचताको कमी, पट्यारलाग्दो अध्याय पनि यस कृतिका दुर्बल पक्ष हुन् । इतिहासका विद्यार्थीको लेखजस्तो भएकाले कतिपय समीक्षकले कृतिलाई गैरसाहित्यिक रचना भनी टिप्पणी गर्न सक्छन् । नियात्रा तत्वको कमी भएका कारण यस कृतिलाई प्रबन्ध संग्रह भन्न सक्ने प्रशस्त आधार देखिन्छ ।

भाषिक क्षमता हुँदाहुँदै पनि खेमनाथले विधाको लिक छोडेको देखिन्छ । नढाटीकन भन्नु, मनोवाद, भावना, कल्पना, विचार, कथ्य, परिवेश, घटनावर्णन, तिथिमिति, हाउभाउ आदि तत्व नियात्रामा आउनुपर्छ भनी अग्रज स्रष्टा बताउँछन् । तर, प्रस्तुत कृति खोज-अनुसन्धानमूलक इतिहासको प्रबन्ध जस्तो बनेको छ । साहित्यलाई इतिहासको सत्यतथ्यले थिचेको छ । यहाँ नियात्रा ओझेलमा परेको छ । रोचक प्रसंगलाई दिमागको डायरीमा राखी छोटोमीठो अध्याय बनाउनुपथ्र्यो । यति हुँदाहुँदै पनि दाहालको निःस्वार्थ साहित्यसेवालाई उच्च मूल्यांकन गर्नै पर्छ । आगामी दिनहरूमा दाहाल यस कुरामा सचेत भई पुस्तक प्रकाशन गर्नेछन् भनी अपेक्षा गरिन्छ ।

५. निष्कर्ष :
नेपाली साहित्यका क्षेत्रमा पचासको दशकपछिमात्र देखा परेका खेमनाथ दाहाल मूलतः कवि हुन् । गद्यपद्य दुवैमा कलम चलाउन सक्ने दाहालको साहित्यिक व्याप्ति फराकिलो बन्दै गएको पाइन्छ । ‘श्रद्धाञ्जलि, हावर्डको चौतारीमा, म त बन्दी भएको छु’ कविता संग्रह रश्मि खण्डकाव्य, योद्धा काव्य, श्वेतपत्र महाकाव्य, जस्ता स्तरीय पुस्तकाकार कृति प्रकाशित गराइसकेपछि तेह्रथुमको लाब्रीमा जन्मिएर धरान, चक्रघट्टी, विराटनगर हुँदै ललितपुरको बालकुमारीमा थन्किएका खेमनाथ नेपाली साहित्यका कवि खेमनाथ दाहाल भएर चिनिएका छन् र स्थापित पनि भइसकेका छन् ।

आधा दर्जनभन्दा बढी काव्यकृति नेपाली साहित्यको भण्डारमा सुम्पी ठूलो गुन लगाएका छन् । कृति प्रकाशनका लागि के अरुको मुख ताक्नु ? भन्दै छोराछोरी र आफ्नो हिम्मतमा पुस्तक प्रकाशन गराइरहेका छन् । साहित्यकार खेमनाथलाई साहित्यिक क्षेत्र अनुत्पादक हो भन्ने थाहा छ तैपनि एकोहोरो भएर साहित्यिक चिन्तन एवं जनजीवनको अध्ययन गर्छन् । दीर्घ साधनामात्र होइन, आफ्नै खर्चमा पुस्तकहरू प्रकाशन गराउँछन् खेमनाथ । यो उनीभित्र रहेको साहित्यानुराग हो ।

उनमा रहेको महानताको प्रकटीकरण पनि हो । पद्य कविता लेखनमा बढी रुचि राख्ने दाहालको यो पहिलो गद्य लेखन हो ‘यात्राको सिकर्नी’ । यसमा सन् २०१७ को दशैँताकाको पारिवारिक भ्रमणलाई मूल विषय बनाएका छन् । दाहाल दम्पती नेपालबाट मलेसिया पुग्ने र अमेरिकाको कनेक्टिकटबाट छोरीज्वाइँ नातिहरू मलेसिया आउने चाँजोपाँजो मिलाएर दाहाल परिवारले मलेसिया–सिंगापुरको भ्रमाण गरेको छ ।

नातेदार तत्कालीन राजदूत डा.बस्नेतको पाहुना लागेर यात्रा–भ्रमण सहज तरिकाले गरेका छन् । दाहालको टोली पुनर्ताजगी बनेको छ ज्ञान लिएको छ । ज्ञान र सूचना पाठकलाई पनि दिएको छ । नियात्रा पढिसकेपछि विकास, समृद्धि, तस्वीर, सेल्फी, सिफुड, कफी, क्यासिनो, होटल, रेस्टुरेन्ट, गगनचुम्बी भवन पटक-पटक आउने शब्द हुन् । यी शब्दले नियात्राकारलाई निकै प्रभाव पारेको छ ।

मूलतः मलेसिया पुगेका नेपाली युवाहरूको दैनिकी, दिनचर्या, जीवनशैली, विकृति-विसंगति, समस्या आदिलाई क्रेन्द्रमा राखिए पनि पुस्तकमा मलेसियाका प्रधानमन्त्री महाथिर र सिंगापुरका राष्ट्रपति ली जस्तो सक्षम विकासप्रेमी नेताको नेपालमा आवश्यकता रहेको संकेत गरिएको छ । आन्दोलनले व्यवस्था परिवर्तन हुन्छ । नयाँ व्यवस्थाले समृद्धि र विकास गर्छ । उद्योग-धन्दा कलकारखानाको विकासले रोजगारीको वृद्धि हुन्छ । रोजगारीले प्रतिव्यक्ति आय वृद्धि हुन्छ । प्रतिव्यक्ति आयदर उच्च भएपछि देशको अर्थतन्त्र मजबुत हुन्छ ।

अनि देश समृद्ध र विकसित हुन्छ । नियात्राकारले मलेसिया–सिङ्पुरलाई विकास र समृद्धिको अनुपम उदाहरण मानेकाछन् । नेपालमा गणतान्त्रिक व्यवस्था लागू भएको करिब एक दशक हुन लागिसक्दा पनि नेपाल बेरोजगारी, अविकास, पछौटेपन एवं भ्रष्टाचारले आक्रान्त छ । यो दुर्दशा गराउने नालायक नेताहरू हुन् भन्ने निष्कर्ष दाहालको छ । भूपी शेरचनको ‘हामी’ कविताका पात्रहरू जस्ता कतिपय नेताहरू भइरहेकोमा आफैंलाई धिक्कारेका छन् । प्रस्तुत कृतिको निष्कर्ष नै समृद्ध नेपाल, विकसित नेपाल, रोजगारयुक्त नेपाली हो ।

अत्यन्त सङ्क्षेपमा भन्नुपर्दा खेमनाथ दाहालको सिर्जनक्षमताको व्याप्तिका रूपमा ‘यात्राको सिकर्नी’ नियात्रा-निबन्ध-प्रबन्ध कृति आएको छ । यद्यपि उनले यस कृतिलाई नियात्रा भने पनि । दाहालले खोज-अनुसन्धानमूलक ढंगले इतिहास, भूगोल र पुरातत्वलाई केन्द्र्रमा राखी यो पुस्तक तयार गरेको देखिन्छ । लेखन उत्कृष्ट भए पनि अर्धनियात्रात्मक कृति चाहिँ बन्न सकेको छ ‘यात्राको सिकर्नी’ । खेमनाथ यस कृतिमार्फत एक गम्भीर, स्तरीय, खोज-अनुसन्धानमूलक लेखकका रूपमा आफूलाई चिनाउन सफल छन् ।

पूर्वीय दर्शन आदिको राम्रो ज्ञाता एवं विद्वान् खेमनाथ लेखनमा अब्बल नै ठहरिएका छन् । यस कृति कृतिले विधागत पथ समाउन नसकेकाले उनी आलोच्य पनि बन्न सक्छन् । कहीँकतै रोचक प्रसंगले पुस्तकले रोचकता थपेकै छ । नियात्रातत्वको कमी महसुस भए पनि सत्यतथ्य घटना, इतिहास र मलेसिया-सिंगापुुर जान्नको लागि पुस्तकले निकै सहयोग गरेकोछ ।

जुन स्रष्टा देश विदेशको भ्रमण गरी जनजीवनको अध्ययन गर्छ उसमा विशिष्ट सिर्जनक्षमता हुन्छ भन्ने कुराको उदाहरण खेमनाथ बन्न सक्छन् । यायावरीय वृत्ति अपनाउँदै अमेरिका, नेपाल, भारत, मलेसिया, सिगापुर घुमिरहने खेमनाथ दाहालको संस्मरण नियात्रा विधामा पनि राम्रो सम्भावना देखिन्छ तर डायस्पोरिक विषयक रचना संस्मरण, नियात्रा, आत्मवृतान्तमा कलम चलाउनुपर्छ । आगामी दिनहरूमा अमेरिकी बसाइका संस्मरण, नियात्रा तयार गरी पाठकसमक्ष पस्कियुन भन्ने कामना छ । साथै नेपाली साहित्यको इतिहासमा थप योगदान पुर्‍याउनेहोस् भनी शुभकामना ।

कृतिकारः खेमनाथ दाहाल
कृतिः यात्राको सिकर्नी
विधाः नियात्रा
प्रकाशन वर्षः विसं २०७७, साउन
प्रकाशकः उषा दाहाल
पृष्ठः ३०+२१३
मूल्य : रु. ४५०

हाल : कोलोराडो, अमेरिका ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?