मुस्ताङ र डोल्पा जोड्ने सडक निर्माण तीव्र

हिमालय टाइम्स
Read Time = 4 mins

म्याग्दी । गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक निर्माणले तीव्रता पाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सडक आयोजनाअन्तर्गत सडक डिभिजन कार्यालय बागलुङले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडक निर्माणलाई गति प्रदान गरेको हो ।

सडक डिभिजन कार्यालयका अनुसार मुस्ताङ र दुवैतर्फबाट क्रमागत योजनाको रुपमा पछिल्लो पाँच वर्षयता सडक निर्माण भइरहेको छ । डिभिजनका सवइञ्जिनियर टोपबहादुर थापाले चालु आर्थिक वर्ष २०७८/७९ मा पनि प्रतिस्पर्धाबाट छनोट भएको निर्माण कम्पनीले डोल्पा जोड्ने सडक निर्माण थालेका जानकारी दिनुभयो ।

‘एक्लेभट्टिदेखि मुस्ताङको अन्तिम मानवबस्ती साङ्ता हुँदै ४० किलोमिटर मार्ग खोलिसकेको छ’, उहाँले भन्नुभयो, ‘यसपालि एक लाख ८७ हजार घनमिटर कटिङ र तीन हजार ५१० घनमिटर ग्याबियन पर्खाल लगाउने थालिएको छ ।’

विसं २०७८ चैत १७ गते रु चार करोड ६४ लाख ८२ हजार २६७ मा जागृति–कुन्सालीङ जेभीसँग ठेक्का सम्झौता भएको थियो । विसं २०८० असोज २० गतेसम्म सम्झौताको म्याद छ । निर्माण कम्पनीका प्रतिनिधि जीवन रोकायाले भौगोलिक रुपमा विकट र दुर्गम तथा हिमपात हुने भएकाले यही बर्खायाममा सम्पन्न गर्ने लक्ष्यसहित तीव्रता दिएको बताउनुभयो ।

दुई वटा एक्साभेटर (डोजर) ले अहिले सडकको मार्ग खन्ने काम गरिरहेका छन् । केही दिनमै ग्याबियन पर्खाल निर्माण गर्न थप मजदुर परिचालन गरिने प्रतिनिधि रोकायले बताउनुभयो ।

समुद्री सतहदेखि चार हजार मिटरभन्दा बढीको उचाइमा सडक निर्माण भइरहेको छ । मुस्ताङतर्फबाट डोल्पाको सिमाना याकखर्कसम्म सडक पुर्याउन लागिएको हो । डोल्पातर्फबाट मुस्ताङको सिमाना नजिकसम्म सडक जोडिएको छ ।

एघार मिटर फराकिलो सडक निर्माण गर्न लागिएको हो । यो सडकलाई आर्थिक वर्ष २०७६/०७७ मा ११ करोड, २०७५/०७६ मा चार करोड बजेट विनियोजन भएको थियो ।

मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले डोल्पा जोड्ने सडकले दुई प्रदेशको आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीलाई आवतजावतमा सहज हुने बताउनुभयो । हप्तौं लगाएर मुस्ताङ आउने उत्तरी डोल्पावासी एकै दिनमा आउन सक्नेछन् । घोडा, खच्चर, याक र चौरीमा बोकाएर सामान ढुवानी गर्नुपर्ने बाध्यता हट्ने जनाइएको छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?