यता किसानलाई मल नपाएर चिन्ता उता संसदमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरु आ-आफ्नै डम्फु बजाउन व्यस्त

Read Time = 6 mins

काठमाडौं । नेकपा(एमाले) की सांसद गंगा चौधरी सत्गौवाले भारतीय सिमाबाट मल ल्याउने किसानलाई ज्यादती नगर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद चौधरीले मल दिन नसक्ने सरकारले सिमानाबाट मलको पोको ल्याउने किसानलाई लाठि नलगाउन निर्देशन दिनुपर्ने बताउनुभयो । उहाँले व्यापारीहरुले कमिशन दिएर सिमाबाटै मल भित्राउने तर आफ्नै खेतमा प्रयोग गर्न किसानले मल ल्याउँदा भने ज्यादती हुने गरेको उल्लेख गर्नुभयो ।

नेकपा(एमाले) की सांसद रेखा कुमारीले मल अभावको सम्बन्धमा सरकार बेखबर रहेको बताउनुभयो । सरकारले मल उपलब्ध गराउन गम्भिरता देखाउनुपर्ने बताउनुभयो । उहाँले मलको समस्याको बारेमा कृषि मन्त्रीले संसदमा कति समय बोल्न सक्नुहुन्छ भन्ने प्रश्न समेत गर्नुभयो ।

नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले नेपालमा विगत देखि नै रासायनिक मलको अभाव हुने गरेको उल्लेख गर्दै रासायनिक मलको उद्योग खोल्नुपर्ने बताउनुभयो । उहाँले विदेशबाट जि टु जिमार्फत् मल ल्याउनुपर्ने र विशेषगरी भारतबाट ल्याउन पहल गर्नुपर्ने बताउनुभयो ।
नेकपा(माओवादी केन्द्र)की सांसद रामकुमारी चौधरीले मल ल्याउनका लागि गरिने टेन्डर प्रक्रिया नै बेठिक भएको बताउनुभयो । उहाँले कानून संशोधन गरेर टेन्डर प्रक्रिया फेर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विगतमा चक्रपाणि खनाल कृषि मन्त्री हुँदा जि टु जिमार्फत् मल ल्याउन प्रस्ताव गरिएको उल्लेख गर्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले जि टु जि आवश्यक छैन भनेर फाइल फ्याकेको बताउनुभयो ।
नेकपा(एकीकृत समाजवादी) का सांसद जीवनराम श्रेष्ठले मल कारखाना खोल्नतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सरकारले समयमै किसानलाई मल उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

जनता समाजवादी पार्टी नेपालका सांसद प्रमोद साहले सरकारले मलको स्थायी व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । स्थायी व्यवस्थापन हुन नसकेका कारण बारम्बार समस्या आएको उहाँको भनाई छ ।

नेकपा(माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले ६ महिना अघिदेखि संसदमा मलको अभावको सम्बन्धमा छलफल भएको भए हालको समस्या समाधान हुनसक्ने बताउनुभयो । विगतमा संसद विघटन हुँदा सार्वजनिक महत्वको विषय संसदमा छलफल गर्न नपाएको र सोही कारण किसानले पाउनुपर्ने धेरै कुराहरु नपाएको उहाँले बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाकि सांसद दुर्गा पौडेलले सरकारले जि टु जि मार्फत् बंगलादेश, भारत र चिनबाट मल ल्याउने भन्ने कुरा कहाँ पुग्यो सो को स्थिति जानकारी गराउनुपर्ने बताउनुभयो । उहाँले दिर्घकालीन रुपमा मल भण्डारण गर्न बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । त्यस्तै विगतमा टेन्डरमा पारी मल नल्याउने ठेकेदारहरुलाई कारबाही गरिनुपर्ने उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मल ल्याउने विषयमा विभिन्न अनियमितता भएको सन्दर्भमा मन्त्रीहरु फेरिरहनुका कारणले अहिलेसम्म असर परेको बताउनुभयो । मल आयातमा भएको अनियमितता र भ्रष्टाचारको मुद्दा अख्तियारमा भएका कारण कृषि सामग्री संस्थानका कर्मचारीहरु निर्णय गर्न नपाउने अवस्थामा पुगेको उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले मलको समस्या समाधान गर्न सरकारलाई गम्भिर हुन आग्रह गर्नुभयो । उहाँले संसद मन्त्रीको मुख र हात च्यात्ने थलो नभएको पनि बताउनुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद उमाशंकर अरगरियाले नेपाललाई कृषिप्रधान देश नभई कमिशनप्रधान देश घोषणा गर्न माग गर्नुभयो । उहाँले कृषिमा ६० प्रतिशत जनसंख्या निर्भर भएको कुरालाई हटाएर राजनीतिमा ६० प्रतिशत जनसंख्या निर्भर रहेको कुरा राख्न माग गर्नुभयो ।

उहाँले अर्थमन्त्रीले ३० प्रतिशत आयात घटाउने बजेट वक्तव्यमा उल्लेख गरेको भन्दै ३० प्रतिशत आयात बढाउने भनेर वक्तव्यमा सच्याउनुपर्ने भनि व्यंग्य गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?