काठमाडौं । आज विश्व रक्तदाता दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन १४ तारिखमा विश्वभरि रक्तदाता दिवस मनाउने गरिन्छ । सन् २००४ देखि सुरु भएको दिवसमा स्वच्छ रगतको उपलब्धता, स्वयंसेवी रक्तदाताहरूको महत्व र रगतजन्य अन्य जीवनरक्षा गर्ने तत्वहरूबारे सचेतना फैलाइन्छ । मानव रगत समूह (ब्लड ग्रुप) पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसरमा सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो ।
दिवसलाई नयाँ रक्तदाताका रूपमा युवाहरूलाई उत्प्रेरित गर्ने र नियमित रक्तदाताहरूलाई सम्मान गर्ने अवसरको रूपमा समेत लिने गरिएको छ । रगत शरीरमा रहेको रातो तरल पदार्थ हो । यो प्लाज्मा र रक्त कोषहरूको समिश्रणबाट बनेको हुन्छ । यसले शरीरका कोषहरूमा ग्लुकोज, एमिनो एसिड लगायतका पोषक तत्वहरू सँगै अक्सिजन लगायतका आवश्यक पदार्थहरू पुर्याउने काम गर्दछ । यसले कार्बनडाइक्साइड, युरिया, ल्याक्टिक एसिड जस्ता काम नलाग्ने तत्वहरूलाई शरीरबाट बाहिर निष्कासन गर्नसमेत सहयोग गर्दछ । मानव शरीरमा औसत पाँच दशमलव पाँच लिटर रगत रहेको हुन्छ । मानिसको कुल वजनको सात प्रतिशत रगत हुन्छ । रगतमा प्लाज्मा ५४ दशमलव तीन प्रतिशत, रातो रक्तकोष ४५ प्रतिशत र सेतो रक्तकोष शून्य दशमलव सात प्रतिशत हुन्छ ।
सामान्य अवस्थाको एक स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्दा शारीरमा कुनै हानि नोक्सान नहुने चिकित्सकहरूको भनाइ छ । सामान्यतया १८ देखि ६५ वर्ष उमेरसम्मका स्वस्थ व्यक्तिको रगत बिरामीका लागि उपयोगी हुने चिकित्सकको भनाइ छ । रक्तदानबाट मृत्युको मुखमा पुग्न लागेका बिरामीहरूको ज्यान बचाउन मद्दत पुग्दछ । एकजनाले दिएको रगतबाट तीनवटा पदार्थ बनाई तीन जनाको ज्यान बचाउन सकिने भएकाले रक्तदानलाई ‘जीवन दान’समेत भन्ने गरिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच