काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । सत्ता गठबन्धनको एक घटक जसपाका शीर्ष नेताहरूबीच असन्तुष्टि बढ्दै गएपछि विवाद चरमोत्कर्षमा पुगेको हो । पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्ष बीचको विवाद चर्किएको हो । खासगरी मन्त्री परिवर्तन गर्ने विषय र विधान अधिवेशनको कुराले जसपाभित्र विवाद बढेको छ । असन्तुष्टि बढ्दै गएपछि पार्टी फुट्ने आँकलनसमेत गर्न थालिएको छ ।
स्थानीय तहको निर्वाचनअघि देखिएको विवाद समधान गर्न असार १ गते विधान अधिवेशन गर्ने सहमति भएको थियो । तर, असार १ गते विधान अधिवेशन हुने सम्भावना छैन । सहमतिअनुसार विधान अधिवेशन नहुने देखिएपछि भट्टराई पक्षका नेताहरू असन्तुष्ट बनेको स्रोतको दाबी छ ।
यसैबीच परिषद् अध्यक्ष डा. भट्टराईलगायत सो पार्टीका शीर्ष नेताहरूले आफनो पक्षमा पार्टीभित्र बहुमत रहेको जनाउँदै मन्त्रिपरिषद् पुनर्गठन गर्दा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई सोमबार बिहान भेटघाट गर्नुभएका संघीय परिषद् अध्यक्ष भट्टराईले महत्वपूर्ण निर्णयमा तीन जनाको हस्ताक्षर हुने पार्टीको यसअघिको निर्णय स्मरण गराउँदै अध्यक्ष यादवको एकल निर्णय अस्वीकार गर्न ध्यानाकर्षण गराउनुभएको हो ।
‘मन्त्रिपरिषद् पुनर्गठन गर्दा उपेन्द्रजीको एकल निर्णयलाई स्वीकार नगर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने काम भयो,’ जसपाका एक नेताले भन्नुभयो, ‘पार्टीको महत्वपूर्ण निर्णयमा तीन जनाको हस्ताक्षर अनिवार्य भएकाले उपेन्द्रजीले एकल हस्ताक्षर गरेर पठाएको पत्रलाई आधिकारिकता नदिन पनि बाबुरामजीको तर्क थियो ।’
सो पार्टीको महत्वपूर्ण निर्णयमा भट्टराईसहित यादव र अशोक राईको हस्ताक्षर अनिवार्य गर्ने यसअघि नै केन्द्रीय कार्यकायरिणी समिति बैठकले गरेको निर्णय प्रधानमन्त्रीलाई अवगत गराएका छन् ।
अध्यक्ष यादव कृषि तथा सहकारीमन्त्री महिन्द्रराय यादवलाई मात्र सरकारबाट फिर्ता बोलाएर अन्यलाई यथावत राख्न चाहनुहुन्छ भने बाबुराम समूह पार्टी भित्रको आन्तरिक सहमतिअनुसार ६ महिनापछि मन्त्रिपरिषद्को पूरै ‘सेट’ परिवर्तन गरेर नयाँ अनुहारलाई राख्नुपर्नेमा जोड गर्दै आएका छन् । जसलाई यादवले अस्वीकार गरेपछि जसपा नेपालमा विग्रह बढ्दै गएको छ ।
स्थानीय तहको निर्वाचनमा पनि टिकट वितरणमा यादवले एकलौटी गर्न खोजेको कारण पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसकेको आरोप उहाँमाथि लाग्दै आएको छ । त्यसमाथि, मन्त्रिपरिषद् पुनर्गठनमा पुनः यादवले एकल हस्ताक्षर पठाउने सम्भावना देखेपछि भट्टराई समूह बालुवाटार पुगेको हो ।
जसपाको विधानअनुसार दुईजना अध्यक्ष रहनेछन् । एकजना अध्यक्ष र एकजना संघीय परिषद् अध्यक्ष रहने विधानको व्यवस्था छ । विधानअनुसार दुवैलाई कि अध्यक्ष बन्नुपर्ने वा संशोधन गरेर एकजना मात्रै अध्यक्ष राख्नुपर्ने माग जसपामा उठेको थियो । सोही विवादलाई मिलाउन विधान संशोधन गर्न अधिवेशन डाक्ने सहमति भए पनि यादव अधिवेशन डाक्न उदासीन देखिएको एक नेता बताउँछन् ।
स्रोतका अनुसार भट्टराई पक्षले दुई अध्यक्ष रहनुपर्ने बताउँदै आएको छ भने यादव पक्ष एक अध्यक्ष रहनुपर्ने अडानमा छ । ‘विधान अधिवेशन गर्ने भनिएको थियो । तर, अहिलेसम्मको स्थिति हेर्दा असार १ मा विधान अधिवेशन हुनेमा शंका पैदा भएको छ,’ एक नेता भन्छन् ।
गत साउन ११ गते जसपाको आधिकारिकता उपेन्द्र पक्षले पाएपछि महन्थ ठाकुर पक्षले नयाँ पार्टी दर्ता गरेको थियो । विवादको एक पक्षले अर्कै पार्टी गठन गरेको केही महिना नबित्दै जसपाभित्र अर्को विवाद उत्पन्न भएको छ । अहिले भट्टराई र राई एक पक्षमा हुनुहुन्छ भने यादव अर्को पक्षमा । पछिल्लो समय यादवबाट असन्तुष्ट नेताहरू भट्टराई समूहमा जान थालेपछि यादव पार्टीमा कमजोर बन्दै गएको बताइन्छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका