एसिया कप छनोट : इन्डोनेसियासँग अन्तिम खेल खेल्दै नेपाल

हिमालय टाइम्स
Read Time = 3 mins

कुवेत । एएफसी एसिया कप २०२३ छनोट अन्तर्गत दुवै खेलमा पराजित भएको नेपालले आज अन्तिम खेलमा इन्डोनेसियाको सामना गर्दैछ ।

कुवेत  सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा हुने खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।

इन्डोनेसियाविरुद्ध खेल्दै गर्दा नेपाल समूह ‘ए’ मा पहिलो जितको खोजीमा हुनेछ । नेपाल प्रतियोगितामा सुखद् अन्त्य गर्न चाहन्छ ।

नेपाल र इन्डोनेसिया आधिकारीक प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् । यस अर्थमा नेपाल र इन्डोनेसिया अपरिचित प्रतिस्पर्धी हुन् ।

यद्यपि नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी कुवेत र यस अघि समेत इन्डोनेसियाको खेल हेरेका कारण आत्मविश्वासी छन् । उनी युवा टोलीबाट कम्तिमा एक खेल आफ्नो पक्षमा पार्न चाहन्छन् ।

तर, प्रतियोगितामा इन्डोनेसिया बलियो स्थितिमा रहेको छ । उसले पहिलो खेलमा घरेलु टोली कुवेतलाई २–१ अन्तरले पराजित गरेको थियो । डिफेन्सिभ खेलसँगै इन्डोनेसिया काउन्टर खेलमा बलियो देखिएको छ । दोस्रो खेलमा भने इन्डोनेसिया बलियो टोली जोर्डनसँग १–० अन्तरले पराजित भएको थियो ।

यता, नेपाल भने पहिलो खेलमा जोर्डनसँग शसक्त प्रदर्शन गर्दै २–० अन्तर र कुवेतसँग ४–१ अन्तरले पराजित भएको थियो ।

यता, अर्को खेलमा जोर्डन र आयोजक कुवेतबीच प्रतिस्पर्धा हुनेछ । यस खेलमा विजयी भए जोर्डन सिधै एएफसी कपमा छनोट हुनेछ ।

यदि कुवेत २–० अन्तर बढी जित भएमात्रै फाइनल चरणमा स्थान बनाउने छ । जारी प्रतियोगितामा जोर्डन ६ अंक सहित शीर्षस्थानमा छ । कुवेत र इन्डोनेसिया समान तीन अंकसहित दोस्रो र तेस्रो स्थानमा रहँदा नेपाल पुछारमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?