आइजिपी नियुक्तिसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ असार ५ मा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) बढुवाविरुद्ध परेको मुद्दाको पेसी आगामी असार ५ गतेका लागि तोकेको छ । सर्वोच्चका प्रवक्ता विमल पौडेलले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलासले उक्त मुद्दा ‘हेर्दाहेर्दै’मा राखेर असार ५ गते सुनुवाइको मिति तोकेको जानकारी दिनुभयो । सोमबार कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीश चुडालको संयुक्त इजलासमा आइजिपी बढुवाविरुद्ध परेको मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको थियो ।

एआइजी विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआइजी सिंहलाई आइजिपी बनाएको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको थियो । गत वैशाख २२ गते सर्वोच्च अदालतले पोखरेलको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरे पनि जेठ १७ गतेका लागि पेसी सार्न नमिल्ने गरी अन्तिम सुनुवाइ तोकेको थियो । तर, त्यसको तीन दिनपछि अवकाश पाइसकेका तीनजना डिआइजीको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनीहरूको मुद्दामा पोखरेलको मुद्दासमेत सँगै राखेर एकै ठाउँमा हेर्ने आदेश गरेको हो ।

अवकाश पाइसकेका डिआइजीले हालेको रिटमा विपक्षी बनाइएकाहरूलाई म्याद तामेल नभएको र उनीहरूको लिखित जवाफसमेत नपरेको भन्दै जेठ १७ लाई पेसी सारिएको थियो । गत वैशाख १९ मा अवकाश पाइसक्नु भएका डिआइजीहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजङ कार्कीले एआइजी सिफारिसविरुद्ध दर्ता गर्नुभएको रिटमा पोखरेलले आइजिपी बढुवाविरुद्ध दर्ता गरेको रिटलाई पनि एकसाथ राखेर हेर्ने अदालतले आदेश गरेको थियो ।

सरकारले गत चैतमा थपिएका तीन एआइजी दरबन्दीमा धीरजप्रताप सिंह, वसन्त पन्त र रवीन्द्रबहादुर धानुकलाई बढुवा गरेको थियो । सरकारले वरिष्ठता मिचेर उहाँहरूलाई बढुवा गरेको निवेदकहरूको दाबी छ । सरकारले सिंहलाई आइजिपी बनाएसँगै पोखरेल बिदामा हुनुहुन्छ । उहाँको एक महिनाको बिदा स्वीकृत भएर पछिल्लोपटक १० दिन थप्न खोज्दा आइजिपी सिंहले अस्वीकृत गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?