भोगाइ : भगवानको सवारी

रत्न प्रजापति
Read Time = 15 mins

मान्छेको भिड छ । भिडमा बिरामीको संख्या ठूलो छ । झण्डै त्यति नै संख्यामा बिरामीका आफन्त पनि छन् । ती सबै भगवानको प्रतीक्षामा छन् । बिरामीहरू ऐया र आत्थु गर्दैछन् । बिरामीका आफन्तहरू आत्तिँदैछन् । भन्दैछन्, ‘गाह्रो भइसक्यो, डाक्टर कहिले आउने हुन् ?’
मान्छेहरू हातमा पूर्जी लिएर यता र उता गर्दैछन् । सायद ती भगवानको बासस्थान थाहा नपाएर खोज्दैछन् । डाक्टर बस्ने हरेक कोठाको ढोकामा नम्बर टाँस्सिएको छ । त्यही हेर्दै मान्छेहरू यता र उता गर्दैछन् । पढ्नलेख्न नजान्ने निरक्षर अरूलाई सोध्दैछन्, ‘२१७ नम्बरको कोठा कुन हो ? २२६ नम्बरको कोठा कुन हो ? २४६ नम्बरको कोठा कुन हो ? २५७ नम्बरको कोठा कुन हो ?’ थाहा हुनेहरूले देखाउँदैछन्, ‘उ.. यता । उ.. त्यता ।’ मान्छेहरू हातको पुर्जी हल्लाउँदै यतै-त्यतै दौडिँदैछन् । मानौं कि डाक्टरसँग भेट नहोला कि जस्तो । अथवा छिटो डाक्टरलाई भेटेर आफ्नो पीडा र व्यथा सुनाइहालौं जस्तो ।

मान्छेका हातहातमा पुर्जी छन् । त्यो डाक्टरलाई भेट्ने पुर्जी हो । सबैजना डाक्टरलाई भेट्न आतुर छन् । कसैलाई छिटो डाक्टरलाई भेटेर जागिरमा जान हतार छ । कसैलाई स्कुल-कलेज जान हतार छ । कसैलाई ज्याला-मजदुरीमा जान हतार छ । सबैलाई हतार छ । फुर्सद कसैलाई छैन । मानौं कि जिन्दगी हतारमै बितिरहेको छ ।

सायद डाक्टरलाई पनि फुर्सद छैन । त्यसैले १० बजे आउने भनिएका डाक्टर पौने एघार बजिसक्दा पनि आइपुगेका छैनन् । डाक्टरलाई भेट्न आतुरको व्यग्रता झन्झन् बढ्दो छ । ‘कस्तो ढिला गरेको । समयमा आउनुपर्छ नि !’ भिडबाट कसैको आक्रोश सुनिन्छ ।
‘कोरोना महामारीको बेलामा यसरी मान्छेको भिड जम्मा पारेर । मान्छेको ज्यानको मतलब गर्नुपर्दैन ?’ भिडबाट अर्को पनि आक्रोश सुनिन्छ । ‘कस्ता निर्दयी ।’ एउटी अधबैंसे आइमाईको आवाज ।

‘दश ठाउँमा भ्याएर आउने होला ।’ एउटा पुरुषको आवाज । अरू मौन छन् । एकले अर्काको मुख हेर्दैछन् । सायद त्यो पुरुषको आवाजमा सबैको सहमति छ । ‘मान्छेको ज्यानको मतलब भए पो । आफूलाई यहाँ कति गाह्रो भइसक्यो ।’ एउटी अर्की अधबैंसे आइमाईको आवाज ।
‘त्यही त नि । छिटो हुन्छ कि भनेर बिहानदेखि आएर बसेको । चार घण्टा भइसक्यो । न खानु न पिउनु ।’ अर्को एउटा पुरुषको आवाज । आवाजहरू क्रमशः आइरहन्छन् । ती आवाजमा गुनासो छन् । असुन्तुष्टि छन् । अनि पीडा छन् । व्यथा छन् । सबैभन्दा धेरै आक्रोश छन् । डाक्टरसँग पनि आक्रोशित हुनुपर्ने समय आयो । कस्तो विडम्बना भोगिरहेछन् मान्छेहरूले !

सबैका आ-आफ्ना पीडा छन् । गुनासो छन् । गथासो छन् । डाक्टरलाई भेट्ने पुर्जी लिन बिहान पाँच बजेदेखि लाममा बसेका छन् । सात बजे पुर्जी बाँडिन्छ । अनि डाक्टर चाहिँ १० बजे आउने समय दिइएको छ । बीचको तीन घण्टाको समय के गर्ने ? टाढादेखि आएका बिरामीले के गर्ने ? घर फर्कने र फेरि १० बजे डाक्टर भेट्न आउने कि डाक्टरलाई कुरिरहने ? यस्तो दुविधामा धेरै पर्छन्, परेका छन् । भोकैप्यासै डाक्टरलाई कुर्छन्, कुरिरहन्छन् ।

‘ए हजुर, मलाई साह्रै गाह्रो भा’को छ । मेरो पालो अलि अगाडि राखिदिनुस् न है ।’ बल्लबल्ल पुर्जी संकलन गर्न आएको डाक्टरको सहायकलाई कसैले भन्छ । ‘मेरो त झन् पखाला चलेको छ । साह्रै अप्ठ्यारो भइसक्यो । सबैभन्दा अगाडि मेरो पालो राखिदिनुस् न है ।’ अर्कोले भन्छ । डाक्टरका सहायकले कसैको कुरा सुन्दैन । ऊ सहज भएर भन्छ, ‘आ-आफ्नो नम्बरअनुसार डाक्टरलाई भेट्ने पालो सबैको आउँछ ।’

ठूलो आश गरेर सहायकसित बिन्तिभाउ गरेका मान्छेहरू खिस्रिक्क पर्छन् । भित्रभित्रै रिसाएर त्यो सहायकलाई कर्के आँखाले हेर्न थाल्छन् । ‘आफ्नो मान्छेलाई भए सबैभन्दा पहिला छिराउँथ्यो होला ।’ कतैबाट फुत्त यस्तो गुनासो आउँछ । सबैले एकपटक ऊतिर हेर्छन् । ऊ अलि नौजवान देखिन्थ्यो ।

‘यहाँ घुस चल्छ कि चल्दैन होला ?’ कसैले परिहासपूर्वक भन्छ । सुनेर सबैजना गललल हाँस्छन् । भन्ने मान्छे आफैं पनि हाँस्छ । हाँस्दा सबैका अनुहार उज्याला देखिन्छन् । हाँस्नु स्वास्थ्यका लागि लाभदायक रहेछ । ‘पाए त किन छोड्थे र ! नपाएर पो ।’ अर्कोले उस्तै परिहासपूर्वक भन्छ । फेरि एकपटक हाँस्ने पालो सबैको । सबैजना उस्तैगरी गललल हाँस्छन् । फेरि एक पटक सबैको अनुहार उज्यालो देखिन्छ । हाँस्नु स्वास्थ्यका लागि साँच्चै लाभदायक रहेछ ।

घडीमा ११ बज्छ । बल्ल डाक्टर आउनु हुन्छ भगवान नै आए जसरी । गजक्क परेर दायाँ-बायाँ बिरामीलाई हेर्दै । मुसुक्क मुस्कुराउँदै भगवानले भक्तलाई दर्शन दिए जसरी । बिरामीहरू चाहिँ प्रसन्न भएर होइन खिन्न भएर व्यंग्य हान्छन्, ‘बल्ल भगवानको सवारी भयो ।’ तर, भगवानले सुन्दैनन् । सुने पनि नसुनेझैँ गर्छन् । गल्ती त भगवानले गरेकै हुन् नि भक्तलाई अनावश्यक रूपमा धेरै बेर कुराएर ।
भगवानले शरीरमा पिपी ड्रेस, मुखमा मास्क अनि फेससिल्ड र हातमा पञ्जा लगाउनुभएको छ । संसारभरि कोरोना फैलिएको छ । कोरोनाको सबैभन्दा बढी डर त भगवानलाई नै रहेछ । अरूले त खालि मुखमा मास्कमात्रै लगाएका छन् । भगवानले चाहिँ जिउ नै ढाक्नेगरी अनेकथरी लगाउनु भएको छ ।

कसैको मोबाइलमा रिङटोन बज्छ, ‘कोरोना.... कम्तीमा दुई मिटरको दूरी कायम राख्नुस् ।’ तर विडम्बना हेरियोस्, भगवानलाई कुरेर बस्नेहरूको बीचमा दुई मिटरको होइन, मुस्किलले दुई इन्चको दूरी होला । कोरोना संक्रमणको जोखिम उच्च छ । त्यस्तो जोखिम मोलेर मान्छेहरू भगवान भेट्न कुरेर बसेका छन् ।

भगवान कुर्सीमा बिराजमान हुनुहुन्छ । आज भगवानले सधैं घाँटीमा झुण्ड्याउने गरेको स्टेथोस्कोप झुण्ड्याउनुभएको छैन । हातमा कलम चाहिँ बोक्नुभएको छ । साथमा छन् केही चिर्कटोका चाङ । जसमा प्रसादस्वरूप केही लेखेर दिनुहुन्छ भगवानले आफ्ना भक्तलाई । त्यो चिर्कटो लिएर सन्तुष्टिको सास फेर्दै निस्कन्छन् भक्तहरू अर्थात् बिरामी मान्छेहरू ।

छोरीसँगै म पनि भगवान भेट्ने लाइनमा छु । खासमा हामी बिहान छ बजे नै इमरजेन्सीमा आएका हौं । इमरजेन्सीका डाक्टरले एक पटक ओपिडीमा मेडिसिन डाक्टरलाई पनि देखाउनुपर्छ भनेकाले हामी ओपिडीको टिकट काटेर डाक्टरको प्रतीक्षामा बसेका हौं । अरूलाई जस्तै भगवानलाई भेट्ने त्यो आतुरता र व्यग्रता हामीमा पनि छ । हाम्रो धैर्यको बाँध फुट्नै लागिसकेको छ । अरूले जस्तै घरीघरी ढोकाबाट भित्र चियाउँदैछु म पनि । भित्र भगवान र भक्त संवाद गरिरहेका छन् ।

इमरजेन्सीमा बितेको समयबाहेक भगवानलाई कुरेको तीन घण्टापछि भगवानलाई भेट्ने हाम्रो पालो आउँछ । भगवानको सहायकले छोरीको नाउँ बोलाउँदा म फुरुङ्ग हुन्छु । फुरुङ्ग भएरै भित्र पस्छौं छोरी र म । अघि नै भगवानलाई सबै कुरा भन्छु भनेर सोचिसकेको हुन्छु तर भगवान भेट्ने खुशीमा फुरुङ्ग भएरभित्र पस्दापस्दै भन्छु भनेका सबै कुरा बिर्सिन्छु ।

म भगवानलाई सादर नमस्कार गर्छु । छोरीले पनि गर्छिन् । भगवानले टाउको मात्रै हल्लाउनु हुन्छ । म पहिला हातको घडीमा समय हेर्छु । समय सम्झिन्छु । अनि केही दूरी राखेर भगवानको सामुन्ने उभिन्छु । छोरी कुर्सीमा बस्छिन् । छोरी र भगवानीबीच लामो टेबुल छ । जसको दूरी लगभग दुई मिटरजति नै छ । सरकारी सञ्चारमाध्यमले भट्याउने दुई मिटरको सामाजिक दूरी कायम गरौं भन्ने सन्देश यहाँ चाहिँ लागू भएको देख्छु म । अर्थात् भगवान र भक्तबीच तोकिएको दुई मिटर दूरी कायम रहेछ ।

मैले केही भन्नुअघि नै भगवान सोध्नुहुन्छ, ‘के भयो उहाँलाई ?’ के भन्नु मैले ? भन्छु भनेका सबै कुरा बिर्सिसकेको हुन्छु । अन्तिममा एउटैमात्र कुरा सम्झना आउँछ-खुट्टा दुखेको । तर म बोल्दिनँ ।
‘बेसरी खुट्टा दुख्छ ।’ छोरी घुँडामा हात राखेर भन्छिन् ।
‘अरू के के हुन्छ ?’ भगवान फेरि सोध्नुहुन्छ ।

यस्तो भएको, उस्तो भएको । छोरी आफूलाई भएका सबै कुरा भन्छिन् । अन्त्यमा भगवान आफैंले भन्नुहुन्छ, ‘दिसा-पिसाब ठीक छ ? निन्द्रा राम्रोसँग लाग्छ ? खाना रुच्छ ? थकाइ कत्तिको लाग्छ ? आदि इत्यादि ।

भगवानले सोध्नुभएका सबै प्रश्नको उत्तर सकेसम्म ठीकसँग दिने प्रयत्न गर्छिन् छोरी । म पनि थप केही कुरा भन्छु । अन्त्यमा हाम्रा कुरा सुनिसकेर भगवानले चट्ट कलम हातमा लिएर चिर्कटोमा ख्वारख्वारती केही लेखेर मलाई दिँदै भन्नुहुन्छ, ‘यो यो जाँच गराउनुस् र यो यो औषधि खुवाउनुस् । रिपोर्ट लिएर आइतबार, मङगलबार अथवा बिहिबार बिहान १० देखि १२ बजेभित्र मलाई भेट्नुस् ।’ १० बजेको समय दिएर ११ बजेमात्रै आउने भगवानको बानी मलाई पटक्कै मन पर्दैन ।

म ‘हस्’ भन्छु । ‘हस्’ भनेर छोरी कुर्सीबाट उठ्छिन् । म घडी हेर्छु । जम्मा तीन मिनेट भएछ । हामीले भगवानलाई भेट्न तीन घण्टा कु¥यौं । भगवानले हामीलाई जम्मा तीन मिनेट समय दिनुभयो । यो तीन मिनेटको समयभित्र भगवानले केही कुरा सोध्नु र हाम्रा कुरा सुन्नुबाहेक बिरामी छोरीको शरीरमा छुँदा पनि छुनु भएन । कमसेकम रक्तचाप नाप्नुपथ्र्यो, नाप्नु भएन । ज्वरो नाप्नुपथ्र्यो, त्यो पनि नाप्नु भएन । सायद भगवानलाई डर थियो, मेरी छोरीलाई कोरोना लागेको पनि हुनसक्छ भनेर । त्यति हुँदा पनि हामी भगवानप्रति धन्य भएर निस्किन्छौं छिट्टै बिसेक हुने आशामा ।

डाक्टर भनेका भगवान हुन् र बिरामी चाहिँ भगवानका भक्त । अनि अस्पताल चाहिँ मन्दिर हो बिरामीका लागि । बिरामीका लागि डाक्टर भगवान नै हुन् तर भगवान हुन जान्दैनन् अथवा हुन चाहँदैनन् हाम्रा डाक्टरहरू । बिरामी चाहिँ सधैं भगवानको भक्त नै भइरहन अभिशप्त छन् । त्यो अभिशाप हामीले पनि भोग्नुपर्‍यो, भोग्यौं । एक दिन एउटा सरकारी अस्पतालमा जचाँउन जाँदाको वृतान्त हो यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?