पर्यटकको वृद्धिसँगै हाम्रा अपेक्षा

हिमालय टाइम्स
Read Time = 5 mins

भन्न त नेपाललाई कृषिप्रधान देश भन्दै आइएको छ, तर परम्परागत रूपमा नेपाल कृषिप्रधान देश भए पनि हाल कृषिप्रति हाम्रो आकर्षण क्रमशः घट्दै गइरहेको छ । खेती गर्नेहरूको संख्या न्यून हुँदै गएको छ । खेती किसानीभन्दा वैदेशिक रोजगारी ठीक भन्ने मान्यताले स्थान जमाएको छ । पलायनकर्ताले बाटो लिएका छन् । हामी अहिले त आवश्यक खाद्यान्न र तरकारीदेखि अन्य धेरै प्रकारका उपभोग्य सामग्री विदेशबाटै झिकाउने गरिरहेका छौं । कृषिका साथै पर्यटन व्यवसायले पनि ठाउँ पाइरहेको थियो ।

नेपाल प्राकृतिक, सामाजिक र सांस्कृतिक रूपमा सम्पन्न भएकाले भ्रमण, अध्ययन र अनुसन्धान गर्ने चाहना राखेर आउने पर्यटकको संख्या दिनप्रतिदिन बढिरहेको थियो । अचानक कोरोनाको संक्रमण संसारव्यापी फैलिएकाले एक देशको पर्यटक अर्को देशमा जाने कार्यमा बाधा पर्न गयो । यसपूर्व नेपालले पर्यटन वर्ष आयोजना गरेर वर्षभरिमा बीस लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित भ्रमण वर्षको तयारी गरी केही संख्यामा पर्यटक नेपाल आउन थालिसकेका थिए । तर, अचानक कोरोना संक्रमण र यसबाट सिर्जना हुने परिस्थितिबाट नागरिकलाई जोगाउन लकडाउनको सहायता लिइयो ।

लामो समयदेखि गरिएको ‘नेपाल भ्रमण वर्ष’ स्थगित भयो । लकडाउनले दुई वर्षको समय प्रभावित हुनपुग्यो । अझै भन्ने नै हो भने त्यसबेला कोरोनाको प्रभावले आगामी केही वर्षसम्म आर्थिक, सामाजिक क्षेत्रमा प्रभाव देखाइरहनेछ । त्यसबेला थलापरेको नेपालको विशेषगरी आर्थिक क्षेत्र अझै केही वर्षसम्म यथास्थानमा फर्किन सक्ने छैन । तर, यसो भन्दाभन्दै हाल केही संख्यामा नेपालमा विदेशी पर्यटक आउने गरेका छन् ।

दिनप्रतिदिन पर्यटक बढ्दै गएमा फेरि केही समयपछि साविकको अवस्थामा पुग्न सहयोग पुग्नेछ । नेपालको केही गाउँ, बजार तथा केही साना शहरी क्षेत्रमा पर्यटन व्यवसाय गरेर जीवनयापन गर्नेहरू धेरै छन् । नेपाल यस क्षेत्रबाट लाभान्वित बन्नसक्ने अवस्था रहँदा-रहँदै पनि हामीले सम्भावना भएबमोजिम आर्जन गर्न सकिरहेका छैनौं ।

हुन त पर्यटकको संख्या यति पु¥याउने भनेर बढाएर मात्र हुँदैन । भारतीय पर्यटक नेपाल आएर खासै खर्च गर्दैनन् । आफ्ना लागि आवश्यक दैनिक उपभोग्य सामग्रीसँगै लिएर आउँछन् । पर्यटकहरूको संख्यामा भन्दा गुणस्तरमा ध्यान दिनुपर्ने आवश्यकता छ । खर्च नगर्ने धेरैजना पर्यटक आउनुभन्दा खर्च गर्ने थोरै पर्यटक आउँदा देशले केही आर्जन गर्न सक्छ । तिनीहरूले चाहेको सेवासुविधा दिनसक्ने सामथ्र्यको विकास भने हामीले गर्नुपर्ने हुन्छ । त्यसो गर्न हामीले सकेका छैनौं । हामीले पर्यटकले चाहेको जस्तो पर्याप्त सेवासुविधा दिनसक्ने क्षमताको विकास गर्न साधन र स्रोतको कमी छैन ।

प्रकृतिप्रदत्त कुराहरूले हाम्रो देश सम्पन्न छ । त्यसको भरपुर उपयोग गर्न सकिरहेका छैनौं । पर्याप्त मात्रामा पर्यटक गाइड तालिम दिन, पर्यटकहरूको आराम र विश्रामका लागि होमस्टे, होटल, रेष्टुरेन्टको विकास भएको छैन । होमस्टेहरू आवश्यकताबमोजिम सञ्चालन हुन सकेका छैनन् । पर्यटकहरूका लागि सेवासुविधाको विकास गरी आकर्षित गर्न सकेका खण्डमा नेपालले पर्यटन क्षेत्रबाट प्रशस्त आर्जन गरी देशको उन्नति गर्न सक्छ । पर्यटकका मनोभावना बमोजिमका साधन र स्रोतहरू विकास गरी कुन विषयको अवलोकन, अध्ययन गर्न तिनीहरू आएका हुन् सोहीबमोजिमको व्यवस्था गर्न भने हामीले सक्नै पर्ने हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?