✍️ गणेश सुवेदी
नेपाली गीतसंगीत क्षेत्रमा दैनिकजसो सयौंको संख्यामा गीतसंगीतसम्बन्धी काम भइरहेको हुन्छ । गीतकार, संगीतकार, संगीत संयोजक, वाद्यवादक, रेकर्डिष्ट, रेकर्डिङ स्टुडियो, म्युजिक भिडयो निर्देशक, प्राविधिक, कलाकारहरू र प्रवद्र्धक कम्पनीलगायत कति धेरै व्यक्ति यस क्षेत्रमा संलग्न छन् । यसबाट धेरैको चुलो बलेको छ, जीवन चलेको छ र आफूलाई मनपराउने श्रोता/दर्शकको आकर्षण पनि छ ।
त्यसैगरी श्रोता/दर्शकले आफूलाई मनपर्ने गीतसंगीत छानीछानी सुन्न र हेर्न पाएकै छन् । जहाँ जाऔं गीतसंगीत घन्किएकै हुन्छ । मान्छे मन्त्रमुग्ध हुँदै गीतसंगीतमा झुमेकै हुन्छन् । जसका लागि अहिले धेरै सजिलो माध्यम छ, डिजिटल प्लेटफर्म अर्थात् युट्युब च्यानल । अहिले श्रोता जो, जहाँ तथा जुनसुकै अवस्थामा भए पनि आफ्नो मोबाइलमा औंला चलाउनासाथ आफूलाई मन पर्ने गायकगायिका वा नयाँ कुनै गीत सुन्ने सुविधा छ, युट्युबमार्फत ।
वास्तवमा समयसँगै अहिले डिजिटल बजारले धेरै फड्को मारिसकेको छ र श्रोता÷दर्शक तथा सर्जकलाई यसले जोड्ने काम गरेको छ । सर्जक पनि आफ्नो सिर्जना छिटोभन्दा छिटो, धेरैभन्दा धेरै श्रोता/दर्शक माझ पुगोस् भन्ने चाहन्छ र त्यसैका लागि राम्रै लगानी पनि गर्दछ । पछिल्लो चरणमा युट्युबसँगसँगै लोकप्रियता कमाएको छ, टिकटकले । युट्युबका लागि भाइरल टाइपको गीतसंगीत सिर्जना गर्नुपर्दछ भने टिकटकका लागि कर्णप्रिय र सहजै गाउन सकिने वा अभिनय गर्न सकिने गीतसंगीतको सिर्जना गर्नुपर्दछ । भनौं, सर्जकहरूलाई करोडौं भ्युज जाने र लाखौंले टिकटक बनाउने खालको गीतसंगीत सिर्जना गर्ने दबाव वा बाध्यता छ ।
अहिले गीतसंगीतसम्बन्धी प्रक्रिया सुरु गर्न थाल्यो कि टिकटकलाई नै फोकस गर्नुपर्ने अवस्था आएको छ । टिकटकमा आफूलाई अभ्यस्त बनाएका वा टिकटकमा अभिनय गरेका धेरै जनाले रुचाएका वा धेरैभन्दा धेरै फलोअर्स भएका टिकटक स्टारलाई लिएर गीतसंगीतकोभिडयो निर्माण हुँदै आएको छ अर्थात् टिकटक नै पहिलो प्रचारप्रसार माध्यमको रूपमा प्रयोग हुँदै आएको छ ।
पहिले-पहिले रेडियो र टेलिभिजनहरूमा गीत पठाउने छुट्टै माध्यम हुन्थ्यो । एफएम रेडियो र रेडियो नेपालमा गीतसंगीत दर्ता गर्ने तथा प्रशारण गर्ने छुट्टै व्यक्ति तोकिन्थ्यो । त्यसैगरी टेलिभिजनका लागि अर्को माध्यम बनाइन्थ्यो । त्यसमा प्रशारण गर्नुपर्दा लाग्ने शुल्कसमेत तोकिन्थ्यो । डिजिटल बजार फष्टाउनुपूर्व गीतसंगीतको प्रवद्र्धनको माध्यम भनेकै एफएम रेडियो, रेडियो र टेलिभिजन च्यानल नै थिए तर अहिले त्यतातिर सर्जकहरूले खासै ध्यान दिँदैनन् । गिनेचुनेका सर्जकहरू त्यसको महत्व र आवश्यकता बुझेकाबाहेक त्यहाँसम्म पुग्ने चाहना राख्दैनन् ।
नेपाली गीतसंगीत क्षेत्रमा अहिले वार्षिक अर्बाैंको आँकडामा लगानी भित्रिएको छ । जसले ती स्रष्टासर्जकको जीवन चल्नमा सहयोग पुर्याएको छ र यो क्षेत्र नै पेशाव्यवसायको रूपमा फष्टाएको छ तर यसलाई सूक्ष्म रूपमा विश्लेषण गरेर हेर्ने हो भने यसको प्रतिफल के ? अर्थात् यस क्षेत्रमा लगानी गर्ने स्रष्टाले वा लगानीकर्ताले के प्राप्ति गर्दछ ? कुनै पनि पेशाव्यवसाय वा क्षेत्रमा प्रतिफल प्राप्तिका लागि लगानी गरिन्छ र मुनाफा प्राप्ति नै पहिलो तथा अन्तिम उद्देश्य हुन्छ । यस क्षेत्रको लगानीले लगानीकर्तालाई के दिन्छ ?
प्रश्न गम्भीर छ, भन्न त हामीहरू सिर्जनाको कुनै मूल्य हुँदैन भन्छौं । सर्जकहरू प्राप्तिका लागिभन्दा पनि आत्मसन्तुष्टिका लागि सिर्जना गर्दछन् पनि भनौंला । यही नै सही तर्क हो त ? हामी कति दिन रहरका भरमा, सौखका भरमा सिर्जनशील हुने ? कसैलाई लाग्ला यस्तो कुरामा किन चासो भन्ने तर सवाल यहीँनेर छ । व्यक्तिले, सर्जकले आत्मसन्तुष्टिका लागि कतिन्जेल लगानी गर्ने ? कतिसँग हारगुहार गर्ने ? कतिन्जेल मद्धत माग्ने ? घरखेत वा बारीको पाटो कतिन्जेल बेच्ने ?
बजार भनेको उत्कृष्ट वस्तुको नै हुन्छ चाहे तरकारी बजार होस् वा खसीबजार चाहे सुपरमार्केट हुन वा मलहरू सबैमा उत्कृष्टताको नै खोजी हुन्छ । गीतसंगीत पनि बजार नै हो तर यो बजारमा गीतसंगीत भन्ने वस्तुको मूल्य कति ? लगानीकर्ताले यसको मूल्य कति निर्धारण गर्ने र त्यसवापतको भुक्तानी कहाँबाट लिने ? व्यावसायलाई टिकाउन वा प्रवद्र्धन गर्न त मुनाफा चाहिन्छ नै । वास्तविक लगानी कति र सम्भावित आम्दानी कति भन्ने आकलन गरेर बजारमा पुँजी भित्रन्छ ।
बजारमा भित्रिएको पुँजीले अरू पुँजी बढाउने काम ग¥यो भने व्यवसाय फष्टाउँछ अर्थात् दिगो रहन्छ । अहिले गीतसंगीतको बजार भनेको यस्तो बजार हो, त्यहाँबाट सबैभन्दा उत्कृष्ट वस्तु छान्न सकिन्छ, त्यो पनि निःशुल्क । वाहृय मूल्य चुक्ता नगरी छानीछानी पाइन्छ, सपनामा देखेजस्तै सुन्दर र आकर्षक अनि सर्वसुलभ रूपमा ।
एकपटक गम्भीर भएर सोचौं, चाहे स्रष्टासर्जक होस्, चाहे श्रोतादर्शक वा गीतसंगीतसम्बन्धी व्यावसायिक संस्था सबैले यसमा गम्भीर हुनुपर्ने बेला आएको छ । प्रवद्र्धक वा व्यावसायीहरू सोच्नुस् त उत्पादन नै रोकिए तपाईंहरूको व्यवसाय कसरी चल्छ ? तपाईंको दैनिकी कसरी चल्छ ? स्रष्टासर्जक सोच्नुस् त तपाईंको लगानीले मुनाफा आर्जन नगरे कतिदिन हारगुहार गरेर गीतसंगीतमा लगानी गर्नुहुन्छ ? श्रोतादर्शक पनि सोच्नुस् त राम्रा गीतसंगीतको सिर्जना गर्ने, तपाईंहरूलाई मन्त्रमुग्ध बनाउने गीतसंगीत निर्माण गर्ने व्यक्ति नभए वा लगानी गर्ने सामथ्र्य नभए तपाईंहरू सुमधुर गीतसंगीत कसरी सुन्न सक्नुहुन्छ ?
पानीको कुनै स्रोत नपाए खोलाको मुहान सुक्न सक्छ । घर पोत्ने माटोको पहाड खन्दाखन्दै रित्तिन्छ भने दुःखले आर्जन गरेको पैसा रित्तिन कतिबेर लाग्ला ? तर, पनि उत्सुकता जाग्ला यो क्रम त सदीयौंदेखि चलेकै छ । हिजो नारायण गोपालदेखि अहिलेका नवप्रतिभाहरूको धमाधम आगमन भएकै छ, लगानी भित्रिएकै छ । हो, यो निरन्तर प्रक्रिया हो, यो अन्त्यहीन शृंखला हो र यो चलिरहन्छ पनि तर यति भन्दै गर्दा यो पेशा र व्यावसायको रूपमा स्थापित भयो त ?
यहाँका स्रष्टासर्जकहरूले निरन्तरता दिएका छन् त ? स्रष्टासर्जकसम्बन्धी खोज अनुसन्धान गरौं त ? हजारौं स्रष्टा अहिले विदेश पलायन भएको तथ्य छ । पेशा परिवर्तन गरेको रेकर्ड छ । सिर्जनशीलतामा आएको यो बे्रकलाई हामीले कसरी लिने ? गिनेचुनेका वा श्रोता÷दर्शकले चाहेका गायकगायिकाबाहेक पुराना सर्जक कहाँ पुगे ? लगानीकर्ता कहाँ पुगे ? नयाँ-नयाँ मात्रैले कति दिन चल्ने ? नयाँ, पुरानो हुँदै गए कसरी टिक्ने ?
स्रष्टासर्जक भनेको आत्मसन्तुष्टिका लागि मात्रै जन्मेका देखिन्छन् । तारिफमै आल्हादित हुन्छन् । वास्तवमा सिर्जनाले दिने भनेकै आत्मसन्तुष्टि र लोकप्रियता नै हो तर त्यसभन्दा पर सोच्नुपर्ने बेला आएको छ, सर्जकहरूले । सबैभन्दा ठूलो कुरा स्थापित हुनसक्नु हो । बाँचुञ्जेल सिर्जना गरिरहने वातावरण निर्माण गर्नु हो । यसर्थ हामी सिर्जना सँगसँगै व्यावसायिक भएर कसरी जान सक्छौं त्यसतर्फ गम्भीर हुनुपर्दछ । यस विषयमा स्रष्टासर्जक उत्पादक एवं वितरक कम्पनी र सम्बद्ध सरकारी निकायबीच गहन छलफल गर्नुपर्दछ ।
रोयल्टी, युट्युब, टिकटकले धानेको यो क्षेत्रको विकास र स्रष्टासर्जकको संरक्षण र उत्पादित वस्तु (गीतसंगीत) को प्रवद्र्धन कसरी गर्न सकिन्छ भन्ने कुराको गहन अध्ययन गर्नुपर्ने बेला भएको छ । यसको अर्को महत्वपूर्ण पाटो श्रोतादर्शकलाई कसरी जोडन सकिन्छ, यो क्षेत्रको प्रबद्र्धनका लागि ? उहाँहरूको योगदान कसरी हुनसक्छ भन्ने कुराको खोजी गरिनुपर्दछ ।
हामी लाखौं रुपैयाँ खर्च गरेर करोडौं भ्युजको अपेक्षामा सिर्जना गर्दछौं । के करोडौं भ्युज पुगेपछि हाम्रो लगानी फिर्ता हुन्छ त ? लाखौं व्यक्तिहरूले टिकटक बनाउँदैमा हाम्रो लगानी उठ्छ त ? वा वर्षको एक पटक प्राप्त हुने रोयल्टीले हाम्रो लगानी फिर्ता दिन्छ त ? या स्टार भएर मेला महोत्सवमा जाँदैमा हाम्रो जीवन चल्छ त ? हो चल्ला केही सिमित व्यक्तिहरूको तर बहुसंख्यक स्रष्टाहरूको लगानी भएको यो क्षेत्रमा बहुसंख्यक स्रष्टाहरूले निरन्तरता दिनसक्ने वातावरणको खोजी गर्नुपर्ने बेला भइसकेको छ ।
जसरी हामी सिर्जनामा सचेत र गहन खोजी गर्दछौं । त्यसैगरी स्रष्टासर्जकले आफ्नो भविष्यका बारेमा गहन चिन्तन गरौं । व्यावसायिक निरन्तरता कसरी दिन सकिन्छ भन्ने कुरालाई प्राथमिकतामा राख्यौं भने हामी निरन्तर सक्रिय रहन सक्छौं । त्यसो भनेकै गीतसंगीतको बजारलाई विस्तार गर्नु हो । अहिलेको डिजिटल बजारको मात्रै भर पर्यौं भने हामी पलायन वा विस्थापन हुनुको विकल्प छैन ।
आउनुहोस्, आजैबाट यो विषयमा चर्चा गरौं । सरकार होस् या अन्य कुनै सम्बन्धित निकायसम्म पुगौं, छलफल गरौं । वार्षिक अर्बाैंको कारोबार हुने गीतसंगीत क्षेत्रको उत्थान र स्रष्टासर्जकको सम्मानका लागि प्रतिबद्ध बनौं । होइन भने सक्नेले अमेरिका र युरोपको भिसा अनि अलि कम सक्नेले अरेबियन मुलुक र सक्दै नसक्नेले गाउँफर्क अभियान चलाउनुको विकल्प छैन । चर्चा गरौं गीतसंगीत क्षेत्रको र सम्मानित भई बाँचौं र बचाऔं । जय गीत, जय संगीत !
Sabai milera Sarstha ra Sirjana ko Samamn Garau ! Jay Geet Jay Sangit !