वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना ?

हिमालय टाइम्स
Read Time = 16 mins
A A- A+

✍️ प्रा. देवीभक्त ढकाल
२०७९ जेठ १४ गते बेलुका सुत्ने बेलासम्म म स्वस्थ्य थिए । सामान्यतया ९ बजे नै सुत्ने गर्छु । राति दुईदेखि तीनको बीचमा मेरो निद्रा खुलेछ । बाथरूम प्रवेश गर्दै गर्दा मेरो आँखा बाथरूममा टाँगिएको ऐनाको सहयोगले अनुहारमा पर्‍यो । अनुहार अस्वाभाविक रूपले फुलेको देख्दा म आफैं झस्किएँ । अनुहारलाई अझै नियालेर हेर्दा घाउ, चोट कतै छैन तर पूरै अनुहार सुन्निएको छ । बिहानसम्म पर्खनुको विकल्प नहुँदा म सुतेँ । उठ्दा बिहानको ६ बजेको रहेछ । मसँग अस्पतालको विकल्प थिएन ।

सरकारी अस्पतालमा उपचार गर्छु भन्नु पनि लाज हुने अनौठो संस्कृति मौलाएकाले अचेल कुन अस्पताल जाने विषय महत्वपूर्ण हुन्छ । प्रायः सबै निजी अस्पताहरूमा सरकारी अस्पतालका डाक्टरहरू पार्ट टाइममा काम गर्छन् । तर, आश्चर्य के छ भने प्राइभेटको तामझाम र पैसा ठग्ने प्रविधिका कारण तिनै डाक्टरहरूको सेवा सरकारी अस्पतालमा झुर र निजी अस्पतालको महँगो सेवा गुणस्तरीय हुन्छ भन्ने हाम्रो गलत बुझाइ छ ।

फेरि सरकारी अस्पताल गरिबहरूका लागि हुन् भन्ने गलत मनोविज्ञान पनि क्रियाशील छ । समाजमा प्रतिष्ठाका लागि पनि निजी अस्पताल जानुपर्छ भन्ने मान्यताले अस्पताल छनौटमा अन्यौल हुन्छ । सरकारी अस्पतालहरूमा भौतिक संरचना, जनशक्ति र उपकरण आदिको जति पर्याप्तता छ त्यो निजी अस्पतालहरूमा छैन । तर, निजी अस्पतालहरू सीमित क्षमतामा पनि व्यवस्थापन कुशलताका कारण राम्रा मानिन्छन् ।

सरकारी अस्पतालहरूको अस्तव्यस्तता, सरसफाइ र चिकित्सक वा कर्मचारीहरूको व्यवहार बिरामीमैत्री नभएको अनुभूति भयो भने प्रमुखहरूसँग छलफल र सुझाबको लेनदेनको विषय मलाई सामान्य लाग्छ । निजी अस्पतालहरूले सरकारकै जनशक्तिलाई उपयोग गर्छन् ।

डाक्टर, बिरामी दुवैलाई शोषण गरेर अधिक पैसा असुल्ने गर्छन् । तसर्थ सरकारी अस्पताललाई सुधार गर्ने प्रयत्नले बहुसंख्यक नागरिकहरूको कल्याण हुन्छ भन्ने विश्वासका कारण पनि म सरकारी अस्पताल रोज्छु । सरकारी अस्पताहरूको स्तर उन्नति गर्दा धेरै सेवाग्राहीहरू लाभान्वित हुने भएकाले मेरो प्राथमिकतामा सधैं सरकारी अस्पतालहरू नै पर्छन् ।

नव धनाढ्यहरू, नेताहरू, तस्कर, व्यापारी, उच्चपदस्थ अधिकारी साथै समाजका तथाकथित लब्धप्रतिष्ठित व्यक्ति सबै निजी अस्पालमा जाने गर्दा सरकारी अस्पतालको सेवा झन् गुणस्तरहीन हुँदै जान्छ । सरकारी अस्पतालको अस्तित्व संकटग्रस्त हुँदा उपचार झन् खर्चिलो हुन्छ । विपन्नहरू स्वास्थ्य सुविधाबाट थप वञ्चित हुन्छन् भन्ने डरले म सकेसम्म सरकारी अस्पतालहरूको सेवा लिने गर्छु ।

यसपटक काठमाडौंमा भएकाले सरकारको पुरानु र ठूलो अस्पताल वीर अस्पताल जाने भयौं । २०७९ जेठ १५ गते आइतबारको दिन थियो । अस्पताल आइतबार बन्द हुँदैन भन्ने विश्वासले वीर अस्पताल तिर लागेँ । अस्पताल पुगेपछि थाहा भयो अस्पतालको सेवा सरकारको अदूरदर्शी निर्णयले आइतबार बन्द हुँदा म जस्तै थुप्रै बिरामीहरू दिग्दारीमा भेटिए । परिस्थितिले वीर अस्पतालको इमर्जेन्सीमा जान बाध्य बनायो । इमर्जेन्सीको बाहिरै छिचोलिनसक्ने भिड रहेछ । भित्र पस्न खोज्दा सुरक्षाकर्मीले निर्ममताका साथ धकल्न थाले । त्यो व्यवहारले पहिलो गाँसैमा ढुंगा लाग्यो । शिष्ट भाषाको कस्तो खडेरी, सुरक्षाकर्मी झोक्किएर भन्दै थिए टिकट खोइ ? इमर्जेन्सी प्रवेशद्वार नजिकैको सानो झ्यालबाट टिकट लिएँ ।

त्यसपछि इमर्जेन्सी कक्षमा छिर्न खोज्दा लाग्थ्यो महाभारतको युद्ध मैदानमा पस्दैछु । त्यो नछिचोलिकन उपचार हुने कुरै भएन । म त एलर्जीले अनुहार पूरै सुन्निएर अब त एउटा आँखाको अलिकति छेउले मात्रै हेर्न सक्थे । तसर्थ साथी अनिवार्य थियो । मलाई हिँड्न होइन उभिनसमेत असहज भएको अवस्थामा इमर्जेन्सीको भिड छिचोल्दै भित्र जाने कुरा सामान्य थिएन । स्वास्थ्य परिस्थिति जटिल भएकाले नजिकै मृत्युुले घेरिएको व्यक्तिले बाँच्नका लागि अन्तिम प्रयासको अवस्थाबाट गुज्रँदै बल्लतल्ल इमर्जेन्सी कक्षभित्र पस्ने लडाइँ जितियो । बल्ल डाक्टरसँगबाट उपचार लिने युद्धको सुरुवात भयो । इमर्जेन्सीमा डाक्टर र नर्सको संख्या भने कम थिएन ।

त्यहाँ कमी थियो व्यवस्थापनको । व्यवस्थापनको महत्व वीर अस्पतालको इमर्जेन्सीमा पसेपछि थाहा हुन्छ । इमर्जेन्सीभित्र अस्पताल थिएन । प्रयागराजमा लाग्ने बाह्र वर्षे मेलाभन्दा अव्यवस्थित भिड थियो । बिरामीका आआफ्ना वेदना थिए तर सम्बोधनको संयन्त्र अव्यवस्थित होइन शून्य थियोे । डाक्टर नजिकै जान पनि सुरक्षाकर्मीले रोक्दा बिरामीहरू आतंकित थिए । बल्लबल्ल एकजना डाक्टरलाई मैले अनुहार हेर्न अनुरोध गर्दा, हेरेपछि उनी झस्के । हातले पर्खन संकेत गरे तर उनी कता पसे अत्तोपत्तो भएन किनकि त्यहाँ जिम्मेवार र जिम्मेवारी नामको वस्तु थिएन ।

उभिएको ठाउँमा सुरक्षाकर्मीले उभिन नदिएर आतंकित पारेको छ । मानिसहरूको भिडले कतै खुट्टा राख्ने ठाउँ छैन । सबै बेडहरूमा दुई-दुई जना बिरामी देख्छु । कुनैमा तीन पनि थिए । इमर्जेन्सीको अव्यवस्थाले निराश बनायो । शरीरले उभिन आड खोजेको छ । साँघुरो ठाउँको कोलाहलमय वातावरणले पीडा थपिएको अनुभव भयो । बस्ने व्यवस्था कतै छैन । बेन्च, मेचको कुरै छोडौं, उभिनसम्म ठाउँ छैन । खुट्टा लगलग कामेका छन् । कतै समाएर उभिन लाग्यो भने सुरक्षाकर्मी आउँछ र उता, उता भन्छ ।

उता कता हो भन्दा थाहै छैन । त्यहाँको अवस्था हेर्दा धिक्कार लाग्यो । निस्कौं भने यो एलर्जीले श्वासप्रश्वासको नलीसम्म सुनिँदै गर्दा श्वासप्रश्वास रोकिएर जीवन नै अन्त्य हुन्छ भन्ने चिन्ताले ग्रस्त छु । अर्को अस्पताल जान पनि बीचैमा सिध्याउँछ कि भन्ने डरले जान सकिन । इमर्जेन्सीको अव्यवस्था र डाक्टरहरूसँग भेट्न भएको कठिनाइ सम्झँदा अहिले पनि आङ जिरिङ्ग हुन्छ ।

त्यसैबेला एक युवतीलाई पोको पारेर एकजना पुरुषले बल्लतल्ल इमर्जेन्सीमा छिराए तर त्यो मानव पोका बिसाउने ठाउँ त्यहाँ कतै थिएन । त्यस बिरामीको पोको कतै राख्न नपाएर छट्पटीएको सम्झँदा अहिले पनि अस्पताल व्यवस्थापनप्रति धिक्कार लाग्छ । त्यो मानव पोको लिएर छट्पटी गर्दै गरेको चित्र र वीर अस्पतालको व्यवस्थापकीय अक्षमताको कहालीलाग्दो नकारात्मक दृश्य जीवनमा कहिल्यै नबिर्सने घटना बन्यो ।

मेरो स्वास्थ्य जाँचका लागि धेरै अनुनयविनयपछि एकजना महिला डाक्टरले औषधि लेखिन । हतारहतारमा औषधि त ल्यायौं । इन्जेक्सन लगाउन अर्को महाभारत सुरु भयो । तिनै महिला डाक्टरको सहयोगमा इन्जेक्सन दिन एकजना नर्स तयार भइन् । त्यहाँ बिरामीलाई बेडको कुरै छोडौं टुसुक्क बस्ने पनि ठाउँ थिएन । मर्नभन्दा बौलाउन निको भने झैँ मैले नसक्दा नसक्दै उभिएर नै हातमा क्यानुला लगाउन भने । त्यो क्षण नकारात्मक स्मरणीय रहृयो । उभिएर नै क्यानुलामार्फत शरीरमा इन्जेक्सनका माध्यमले औषधिले प्रवेश पायो ।

अब बाँच्ने आशा पलायो । इन्जेक्सन लगाएपछि बस्ने मन छ । पाए पो बस्ने । औषधिकै कारण हुनपर्छ शरीर लठ्ठ भयो । अब त बस्न नपाएको मानिसलाई शरीरले सुत्ने ठाउँको व्यवस्था गर्न दबाब दिन थाल्यो । इन्जेक्सनले भने सहज भएको अनुभव तत्काल नै अनुहारले ग¥यो । इमर्जेन्सीले रगतको विविध जाँच, भिडयो एक्सरे, छातीको एक्सरे, इसीजी जस्ता थुप्रै जाँच गर्न भनेकाले आराम गर्नभन्दा जाँचको प्रक्रियामा लाग्यौं । यति धेरै परीक्षण किन भन्ने लाग्दालाग्दै पनि सबै परीक्षण बाध्यकारी भयो ।

परीक्षण र रिपोर्टका लागि झण्डै ६ घण्टा समय बित्यो । रिपोर्टका लागि खर्च र दुःख भयो तर ती सबै रिपोर्टहरूपछि डाक्टरले हेर्नै चाहेनन् । रिपोर्ट हेरिँदैन भने किन टेष्टको खर्च र दुःख ? यसको जवाफ अस्पतालले दिनुपर्ने कि नपर्ने ? अव्यवस्थाको पनि हद हुन्छ ? बिरामीलाई आतंकित बनाउने काम अस्पतालले कति गर्ने ? अब इन्जेक्सन बाह्र घण्टापछि लगाउनुपर्नेछ । इमर्जेन्सीमा खुट्टा टेक्ने ठाउँ छैन । डाक्टर बस् भन्छन् । कता बस्ने बारे उनी अनुत्तरित हुन्छन् । हामी घर जान्छौं भन्दा हातमा लगाएको क्यानुला नझिकीकन जान दिँदछैनन् ।

अब चार घण्टापछि फेरि इन्जेक्सन दिनुपर्ने भएकाले यसलाई नझिकीकन जान दिनुहोस् भन्दा डाक्टर मान्दैनन् । बस्न ठाउँ छैन । वीर अस्पताको इमर्जेन्सीबाट निस्केर अस्पतालभित्रको बैंकको काउन्टरमा राखिएको फलामको सोफा जस्तो बेन्चमा आराम गर्न पुगे । त्यो थचक्क बस्ने ठाउँ पाउँदा पनि के के न पाएको अनुभूति भयो । राति ११ बजेपछि फेरि इन्जेक्सन दिइयो । अब रातको १२ बज्दै गर्दा बस्न बेड छैन । जान पनि क्यानुला झिक्न पर्ने शर्त हाम्रा लागि अव्यावहारिक र अमानवीय दुवै लाग्यो ।

राति १ बजेपछि बैंक शाखा भएको कक्षबाट बाहिर निस्केर क्यानुला लगाएको हातलाई खल्तीमा हालेर अपराधकर्मी झैँ बाहिरिन पर्दाको पीडा पोख्ने शब्द नै मसँग छैन । हामी अस्पताल परिसरबाट अमिलो मन लिएर निस्कियौं । घर आयौं । केही घण्टा सुत्न पाउँदा आनन्दको सीमा भएन । भोलिपल्ट अस्पताल खुला हुँदै गर्दा टिकट लिएर चर्मरोग विभागको डाक्टरलाई देखाउँदा किन यति धेरै टेष्ट गरेको भनेर हप्काइन् । हामीले टेष्ट रहरले होइन करले गरेका हौं भन्यौं । इन्जेक्सन पनि एउटामात्र दिनुपर्ने किन दुईटा भनेर प्रश्न गर्दा हामीलाई इमर्जेन्सी उपचारप्रति सधैं शंकालु बनायो ।

हामी जस्तो डाक्टरसँग कुरा गर्न सक्नेहरूले त वीर अस्पतालको सेवा लिन यो हविगत भयो भने गरिबहरू र निरक्षर ग्रामीण जनसंख्यालाई अस्पतालको अव्यवस्थाले कति पीडा दिएको होला ? इमर्जेन्सीलाई सेवागृह कि यातना गृह के भन्ने ? बिरामीको उपचार व्यवस्थापनको सन्दर्भमा जिम्मेवारहरूको चेतना, विवेक र मानवताको विचल्ली संसारमा कतै छ भने त्यो वीर अस्पतालको इमर्जेन्सीमा छ । सामाजिक अभियन्ताहरू, मानवताप्रति सहानुभूति, सद्भाव राख्ने जोकोहीले अध्ययन, चिन्तन, मनन र सुधारको भद्रअवज्ञा आन्दोलन के गर्दा मानवताको रक्षा र कल्याण हुन्छ त्यो गर्न एकपटक वीर अस्पतालको इमर्जेन्सीको अव्यवस्थाको अवलोकन गर्न जरुरी छ ।

तर, विपन्नले सेवा लिनुपर्ने यो इमर्जेन्सीलगायत अस्पतालको समग्र सेवालाई व्यवस्थित र गुणस्तरीय बनाउने जिम्मेवारी कसको ? यो प्रश्न सधैं अनुत्तरित हुनु हुँदैन । यो सप्रनुपर्छ । सपार्नुपर्छ । इमर्जेन्सीको सेवा लिन आउने आवाजविहीनहरूको आवाजलाई सार्वजनिक गर्नाले आशा र विश्वास गरौं वीर अस्पताललगायत नेपालका अन्य अस्पतालबाट प्रवाहित हुने गुणस्तरहीन सेवाहरू, अपर्याप्त भौतिक संरचना, उपकरण साथै विद्यमान अव्यवस्थाको सुधारका लागि यथेष्ट दबाब पक्कै सिर्जना गर्नेछ । सुधारका लागि आशावादी बन्नु उत्तम विकल्प हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
6 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Tirtha Parajuli
Tirtha Parajuli
2022-06-14 10:05 am

Beer aspatalma Bhognu pareko pidalaae marmik dhangale prastut bhaeko chha. Sathai Beer aspatal sudharko laagi sakaratmak sujhab dinu bhaeko Le rammro lagyo.

maya sharma
maya sharma
2022-06-14 10:06 am

अस्पताल व्यवस्थापनलाई सुधारका लागि राम्रो दबाब।भोगाईको सार्वजनिकीकरणले समस्यालाई उजागर गरेक‍ो छ।

गणेशप्रसाद नेउपानेलाई
गणेशप्रसाद नेउपानेलाई
2022-06-15 6:43 am

अति मार्मिक, बस्तु तथ्य छ।यो विषयलाई सम्बन्धित पक्षले गम्भीर भएर तत्कालै सुधर गर्न सुझाव गर्दछु।

छुटाउनुभयो कि ?