कात्तिक अन्तिम वा मंसीरको पहिला सातासम्म प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुनसक्ने, आयोगले थाल्यो तयारी

Read Time = 9 mins

काठमाडौँ । आउँदो कात्तिक मसान्त वा मङ्सिरको पहिलो सातासम्ममा एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने गरी मिति घोषणाको तयारी भएको छ ।

नेपालको संविधान जारीपछिको दोस्रो प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोग र नेपाल सरकारसँग परामर्श भइरहेको छ । ती निर्वाचनका लागि लक्षित गरेर मतदाता नामावली सङ्कलन तथा अद्यावधिक आउँदो असार १ गतेदेखि खुला गरिएको छ । विसं २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको पाँच वर्षे अवधि मङ्सिर पहिलो साता सकिँदैछ । दुई पटकक विघटन भएर पनि सर्वोच्च अदालतबाट पुनःस्थापित प्रतिनिधिसभाको कार्यकाल सकिने भएपछि सरकार र आयोग आवश्यक तयारीमा जुटेका छन् ।

आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले निर्वाचनको मिति घोषणाका लागि नेपाल सरकारसँग औपचारिक र अनौपचारिक छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले निर्वाचनको मिति घोषणा कम्तीमा १२० अगाडि नै हुने गरी गराउन आयोगले सरकारलाई आग्रह गरेको जनाउँदै मतदाता नमावलीमा नामावली नदोहोरिने गरी नाम दर्ता र संशोधनका लागि सम्बन्धित निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयमा आवश्यक प्रबन्ध गरिएको बताउनुभयो । नेपालको संविधानमा आयोगको परामर्शमा नेपाल सरकारले निर्वाचनको मिति घोषणा गर्ने व्यवस्था छ ।

असार १ गतेदेखि नामावली सङ्कलन तथा अद्यावधिक

मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता नगरिने हुँदा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति निकट भविष्यमा घोषणा हुने सम्भावना रहेकाले सो घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम सङ्कलन गर्न योग्यता पुगेका सबै नागरिकलाई आफ्नो नाम दर्ता गराउन आयोगले आग्रह गरेको छ ।

निर्वाचनमा मतदानका लागि मतदाता नामावलीमा नाम हुनु अनिवार्य भएकाले आयोगले नयाँ नाम दर्ता र अद्यावधिकका लागि पुनः समय दिएको छ । यसअघि गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अगाडि २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुगेकाका लागि मतदानमा भाग लिन सकिने गरी सो निर्वाचनअगावै नामावली सङ्कलन र अद्यावधिक कार्य खुला गरिएको थियो । सो निर्वाचनमा नयाँसहित एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका थिए ।

आयोगले अब हुने निर्वाचनका लागि सबै निर्वाचन कार्यालय र सबै जिल्ला प्रशासन कार्यालय एवं ७३ वटा इलाका प्रशासन कार्यालयबाट यही असार १ गतेदेखि मतदाता नामावली सङ्कलन गर्ने, पेसा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको नागरिकले निजको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गई मतदाता नामावली दर्ता गर्नसक्ने र मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्म मितिलगायतका विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा नाम दर्ता अधिकारी ९निर्वाचन अधिकारी० ले आवश्यक निर्णय गरी त्रुटि सच्याउने तय गरेको छ ।

आयोगका प्रवक्ता पौडेलका अनुसार कुनै मतदाताले झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भनी त्यस्तो नाम मतदाता नामावलीबाट हटाउनका लागि कुनै पनि व्यक्तिले प्रमाणसहित उजुरी दिएमा नाम दर्ता अधिकारीले छानबिन गरी त्यस्तो नाम हटाउने सम्बन्धमा निर्णय गर्ने, कुनै मतदाताले विवाह वा बसाइँ सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा साविकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्नेछ । साथै निवेदन दर्ता भएको कार्यालयले प्राप्त निवेदनउपर आवश्यक निर्णय गरी अर्को जिल्लासँग सम्बन्धित भए सम्बन्धित जिल्लामा आवश्यक प्रमाणसमेत स्क्यान गरी पठाउने निर्णय भएको उहाँले जनाउनुभयो ।

यस्तै कुनै मतदाताले आफ्नो नाम रहेको मतदानस्थलबाट पायक पर्ने सोही वडाको अर्को मतदानस्थलमा नाम सार्न निवेदन दिएमा सोहीबमोजिम स्थानान्तरण गरिदिने, मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि कुनै व्यक्तिले इमेल वा फ्याक्समार्फत निर्वाचन कार्यालयमा निवेदन दिएमा त्यस्तो निवेदनउपर प्रमाण कागजात हेरी प्रमाण पुगेका आधारमा सम्बन्धित नाम दर्ता अधिकारीले नामावली अद्यावधिक गर्ने आयोगले जनाएको छ ।

विसं २०७३ माघ २० गतेभन्दा अघि दर्ता भई नागरिकतामा उल्लेखित ठेगानाभन्दा फरक ठेगानामा मतदाता नामावली रहेका व्यक्तिले नागरिकतामा उल्लेखित ठेगानामा नै मतदाता नामावली सारी पाउन निजको मतदाता नामावली रहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिएमा निजको नाम सो जिल्लाको मतदाता नामावलीबाट निजको नागरिकतामा उल्लेखित ठेगाना भएको स्थानीय तहको वडामा सार्ने व्यवस्था मिलाउन आयोगले भनेको छ ।

कुनै मतदाताको मृत्यु भएको वा नागरिकता त्याग गरेको वा विवाह वा बसाइँ सरी गएको कारण मतदाता नामावलीबाट नाम हटाउनका लागि निवेदन प्राप्त भएमा नाम दर्ता अधिकारीले प्रचलित कानूनबमोजिम प्रत्येक महिना निर्वाचन कार्यालय र सम्बन्धित वडा कार्यालयमा सात दिनको समय दिई सूचना टाँस गर्ने व्यवस्था मिलाउने छ ।

यस्तो सूचनाको विवरणउपर निर्वाचन कार्यालयमा कुनै उजुरी परेमा सोको छानबिन गरी पेश भएको प्रमाणबमोजिम र उजुरी नपरेमा सोहीबमोजिम निर्वाचन कार्यालयले नामावली अद्यावधिक गर्ने, दोहोरो दर्ता नहुनेतर्फ सचेत हुँदै नाम दर्ता गर्ने व्यवस्था मिलाउने छ ।

कुनै मतदाताले दोहोरो नाम परेको भनी हटाउन निवेदन दिएमा जिल्लाभित्रको दोहोरो नाम नाम दर्ता अधिकारीले रूजु गरी अघिल्लो दर्तालाई हटाई पछिल्लो पटक दर्ता भएको नाम मतदाता नामावलीमा कायम गरिदिने तथा फरक जिल्लाको हकमा आयोगमा लेखी पठाउने आयोगले जनाएको छ ।

आयोगले फोटोसहितको मतदाता नामावली सङ्कलन भएबमोजिम आयोगबाट वितरण भएको मतदाता परिचयपत्र भएको तर कुनै कारणले मतदाता नामावलीमा नाम नरहेको भए त्यस्तो व्यक्तिको नाम दर्ता गरिदिनेछ ।
-रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?