टी-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आसन्न एसिसी महिला टी-२० क्रिकेट च्याम्पियनसिपका लागि १५ सदस्यीय खेलाडीको नाम सार्वजनिक गरेको छ । आगामी असार ३ गतेदेखि ११ गतेसम्म मलेसियामा हुने उक्त प्रतियोगिताका लागि क्यानले रुविना क्षेत्रीको कप्तानीमा १५ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको हो ।

प्रारम्भिक टोलीमा रहेका १९ खेलाडीबाट नेपालले अन्तिम टोलीको घोषणा गरेको हो । टोलीमा कप्तान रुविनासँगै उपकप्तान इन्दु बर्मा, सीता रानामगर, ज्योति पाण्डे, कविता कुँवर, अस्मिना कर्माचार्य, कविता जोशी, ममता चौधरी, मनिषा उपाध्याय, डोली भट्ट, बिन्दु रावल, संगीता राई, अप्सरी बेगम, काजोल श्रेष्ठ र सवनम राई छनोट हुनुभएको छ ।

उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा बहराइन, भुटान, हङकङ र कुवेत छन् । त्यसैगरी समूह ‘ए’ मा आयोजक मलेसिया, ओमान, कतार, सिंगापुर र संयुक्त अरब इमिरेट्स (युएई) छन् । समूह चरणका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।

टोलीमा मनिषा उपाध्यायले पहिलोपल्ट स्थान बनाउनुभएको छ । हरनमयी रायको ट्राभल डकुमेन्ट बन्न नसक्दा उपाध्यायले टोलीमा स्थान बनाउनुभएको हो । मनिषा गण्डकी प्रदशेबाट घरेलु क्रिकेट खेल्ने गर्नुहुन्छ । उहाँको कप्तानीमा गण्डकीले गत चैतमा यु-१९ राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको थियो । यस्तै मध्यक्रमकी सरिता मगरले पनि टोलीमा स्थान बनाउन सक्नुभएन । टोलीका प्रशिक्षक जगत् टमाटाले एसिया कपमा छनोट हुने लक्ष्यसहित आफूहरूले सहभागिता जनाउने बताउनुभयो ।

‘युगान्डाको सिरिजपछि हामीले अभ्यास निरन्तर नै ग¥यौँ । मौसमको समयमा अभ्यास हुँदा चुनौतीपूर्ण पनि छ । हामीले हरेक अभ्यास गरेका छौंँ । मिहिनेत गरिरहेका छौं,’ टमाटाले भन्नुभयो, ‘अघिल्लो महिना नेपाली महिला क्रिकेटले युगान्डासँग पाँच महिला टी-२० आई सिरिज खेल्दा खेलाडीको फिटनेस र फिल्डिङ भने धेरै कमजोर रहेको थियो । अहिले त्यसमा कमी आएको छ । ‘फिटनेसमा हामीले धेरै काम गरेका छौँ । ट्रेनर पनि हामीसँग भएकाले फिटनेस र फिल्डिङमा काम गरेका छौँ । हामीले धेरै समय फिटनेस र फिल्डिङमा काम गरेका छौँ । नतिजा राम्रो आउने अपेक्षा गरेको छु ।’

नेपालकी कप्तान रुविना क्षेत्री बेलवासेले शुक्रबारदेखि मलेसियामा सुरु हुने एसिसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल एसिया कपका लागि छनोट हुँदै ट्रफीका साथ फर्किने बताउनुभयो ।

‘यो प्रतियोगिता टोली र मेरो दुवैका लागि एकदमै महत्वपूर्ण छ । समग्रमा हामीले खेलेका सबै प्रतियोगिता महत्वपूर्ण नै हुन्छ । आफूले कसरी प्रस्तुत गर्ने भन्ने हुन्छ । हरेक प्रतियोगिताबाट हामीले सिकिरहेका छौँ,’ कप्तान रुविनाले भन्नुभयो, ‘अहिलेको प्रतियोगितामा शीर्ष दुई टोलीलाई मौका दिइएको छ । त्यसो भएर आफ्नो पर्याप्त स्रोतलाई प्रयोग गरेर यसलाई उत्कृष्ट बनाउन सकिन्छ भनेर काम गरेका छौँ ।’
नेपालले एक महिनाअघि युगान्डासँग पाँच महिला टी-२० आई सिरिज खेलेको थियो । उक्त सिरिजमा देखिएका कमजोरीहरू सुधार गरिएको कप्तान क्षेत्रीले बताउनुभयो ।

‘ती पाँचवटा खेल हाम्रा लागि धेरै महत्वपूर्ण भए । हामीलाई थाहा भयो हामी कहाँ छौँ र कुन क्षेत्रमा काम गर्नुपर्छ । हामीले ट्रेनरको सहयोगमा १० दिनसम्म फिल्डिङमा नै काम गर्‍यौँ । अहिलेको अवस्थामा पनि फिटनेसमा काम गरेका छौँ । फिटनेस सुधार हुनेमा आशा छ,’ उहाँले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?