काठमाडौं । नेपाल राष्ट्र बैंकले बागमती प्रदेशको आर्थिक वर्ष २०७८/०७९ को अर्धवार्षिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार खाद्य तथा अन्य बालीले ढाकेको भूक्षेत्र र उत्पादन १.१ प्रतिशतले घटेको छ । प्रमुख खाद्यान्न बालीमध्ये समीक्षा अवधिमा धान उत्पादन ०.४ प्रतिशतले घटेको छ भने कोदो उत्पादन ०.१ प्रतिशत र फापर उत्पादन १५.० प्रतिशतले बढेको छ । तरकारी उत्पादन ०.२ प्रतिशतले बढेको छ भने पशुजन्य उत्पादनअन्तर्गत दूध उत्पादन ७.० प्रतिशत, मासु उत्पादन ८.१ प्रतिशत र अण्डा उत्पादन १.५ प्रतिशतले बढेको छ ।
सो अवधिमा बागमती प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले कृषि, वन र माछापालन क्षेत्रमा एक खर्ब तीन अर्ब कर्जा लगानी गरेका छन्, जुन प्रदेशमा प्रवाहित कर्जाको ४.० प्रतिशत हो । कृषि क्षेत्रमा प्रवाहित कर्जामा काठमाडौंको अंश ४०.४ प्रतिशत, चितवनको अंश २९.९ प्रतिशत, मकवानपुरको ६.४ प्रतिशत, काभ्रेपलाञ्चोकको ५.१ प्रतिशत, धादिङको ४.० प्रतिशत, नुवाकोटको ३.७ प्रतिशत, ललितपुरको ३.१ प्रतिशत, भक्तपुरको २.४ प्रतिशत, सिन्धुलीको १.८ प्रतिशत, सिन्धुपाल्चोकको १.२ प्रतिशत, दोलखाको ०.७ प्रतिशत, रामेछापको ०.६ प्रतिशत र रसुवाको अंश ०.६ प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा प्रदेशको अध्ययन नमुनामा समेटिएका उद्योगको क्षमता उपयोग औसतमा ४५.५ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा उद्योगको क्षमता उपयोग औसतमा ४८.९१ प्रतिशत थियो । औद्योगिक उत्पादनमध्ये पश्मिना उत्पादन २.० प्रतिशत, रङ उत्पादन १३.३ प्रतिशत र कपडा जुत्ता उत्पादन ३४.१ प्रतिशतले बढेको छ भने प्रशोधित दूध उत्पादन ६.१ प्रतिशत, सिमेन्ट उत्पादन १७.४ प्रतिशत र चुरोट उत्पादन १७.१ प्रतिशतले घटेको छ । बैंक तथा वित्तीय संस्थाले प्रदेशमा प्रवाह गरेको औद्योगिक कर्जा कुल प्रवाहित कर्जाको ३७.४ प्रतिशत रहेको छ ।
त्यस्तै, प्रदेशमा पर्यटन क्षेत्रमा केही सुधार देखिएको छ । अन्तर्राष्ट्रिय एवं आन्तरिक पर्यटनमा कोरोना संक्रमण प्रभाव कम भएसँगै सकारात्मक प्रभावका कारण पर्यटक आगमन बढेको बताइएको छ । घरजग्गा रजिस्ट्रेसन संख्या १४.९ प्रतिशतले बढेको छ भने रजिस्ट्रेसनबाट प्राप्त हुने राजस्व १५ अर्ब ७५ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्थाले प्रदेशमा परिचालन गरेको निक्षेप २०७८ असार मसान्तको तुलनामा ५.१ प्रतिशतले र कर्जा प्रवाह १०.५ प्रतिशतले वृद्धि भएको छ । कर्जा-निक्षेप अनुपात औसतमा ७७.१ प्रतिशत रहेको छ । केन्द्रीय तथ्यांक विभागले आर्थिक वर्ष २०७८/०७९ मा कुल गार्हस्थ्य उत्पादन ४८ खर्ब ५१ अर्ब पुग्ने अनुमान गरेको छ । कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २३.९ प्रतिशत, १४.३ प्रतिशत र ६१.८ प्रतिशत रहने अनुमान छ ।
सोही अवधिमा राष्ट्रिय अर्थतन्त्रमा बागमती प्रदेशको क्षेत्रगत हिस्सा ६.७ प्रतिशत रहने अनुमान छ । उक्त प्रदेशको कुल गार्हस्थ्य उत्पादन १७ खर्ब ९० अर्ब ६८ करोड पुग्ने अनुमान छ । समीक्षा वर्षमा प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ११.१ प्रतिशत, १२.२ प्रतिशत र ७६.७ प्रतिशत रहने अनुमान छ । विभागको प्रारम्भिक तथ्यांकअनुसार समीक्षा वर्षमा मुलुकको समग्र कृषि, उद्योग र सेवा क्षेत्रमा बागमती प्रदेशको अंश क्रमशः १७.१ प्रतिशत, ३१.६ प्रतिशत र ४५.९ प्रतिशत रहने अनुमान छ ।
आव २०७८/०७९ मा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै अर्थात् ३६.९ प्रतिशत रहेको छ भने कर्णालीको सबैभन्दा कम अर्थात ४.१ प्रतिशत रहेको छ । बृहत् आर्थिक वर्गीकरणअनुसार कृषि क्षेत्रको उत्पादनमा प्रदेश १ को हिस्सा सबैभन्दा धेरै अर्थात् २१.८ प्रतिशत रहेको छ भने कर्णालीको हिस्सा सबैभन्दा कम अर्थात् ५.४ प्रतिशत रहेको छ । उद्योग क्षेत्रको उत्पादनमा बागमतीको हिस्सा सबैभन्दा बढी अर्थात् ३१.६ प्रतिशत रहेको छ भने कर्णालीको हिस्सा सबैभन्दा कम अर्थात् ३.२ प्रतिशत रहेको छ । सेवा क्षेत्रको उत्पादनमा बागमतीको हिस्सा सबैभन्दा बढी अर्थात् ४५.९ प्रतिशत रहेको छ भने कर्णालीको हिस्सा सबैभन्दा कम अर्थात् ३.८ प्रतिशत रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच