बुद्धसिंह मार्गको दुर्दशा, ट्र्याक खनेको तीस वर्षसम्म पनि ‘निकास र विकासविहीन’

हिमालय टाइम्स
Read Time = 7 mins

-नारायण खड्का

तनहुँ । पृथ्वी राजमार्गमा संकट आएपछि त्यसको वैकल्पिक सडकको याद धेरैलाई आउँछ अनि कुरा हुन्छ पोखरा–चितवन जोड्ने छोटो सडक बुद्धसिंह मार्गको । तर, कुरै मात्र गरेर त यो सडक नबन्ने रहेछ । गफै मात्र बढी गर्ने नेता र कर्मचारीहरूबाट दिक्क भएका स्थानीय बासिन्दा त्यसैले त भन्छन्, ‘यिनले काम नपर्दासम्म न शहीद बुद्धसिंह राना सम्झन्छन् न उनको नाममा बनाइएको यो बाटोलाई ।’

वि.स. २०१८ सालमा प्रजातान्त्रिक आन्दोलनका क्रममा भरतपुरमा शहीद हुनुभएका भानु नगरपालिका–५ बरभञ्ज्याङका बुद्धसिंह रानाको स्मरणमा नामकरण गरिएको हो बुद्धसिंह मार्ग । खासमा पृथ्वी राजमार्गको मुग्लिन–चितवन खण्डअन्तर्गत घुमाउने घाटमा जोडिने बुद्धसिंह मार्ग पृथ्वीराजमार्गकै दमौली खण्डमा कताबाट जोडिने भन्ने अहिलेसम्म टुंगो लाग्न सकेको छैन । स्थानीय उपभोक्ताहरूको सक्रियतामा २०४८ सालमा सदरमुकाम दमौलीबाट जिल्लाको दक्षिण भेग कछारका बासिन्दालाई सडकको पहुँचसँग जोड्ने उद्देश्यका साथ सडकको ट्र्याक खनिएको थियो । सडक खनेको यति लामो समय बितिसक्दा न त सडकको स्तरोन्नति हुन सकेको छ, न त राजमार्गसँग जोड्ने निकासै पहिचान हुन सकेको छ ।

मोटर मार्गलाई पृथ्वी राजमार्गसँग जोड्नका लागि व्यास नगरपालिकाको बेलबासबाट ट्र्याकको पहिचान हुन नसकेको मोटरबाटो उपभोक्ता समितिका पूर्व–अध्यक्ष विश्व बास्तोला बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘स्थानीय सरकारले निर्माण गरेको ३० फुटे बाटोमा यो मार्ग सुचारु भएपछि सवारी साधनको चाप थेग्न नसक्ने अवस्था छ, त्यसैले कुन विकल्पबाट बुद्धसिंह मार्गलाई पृथ्वी राजमार्गको दमौली खण्डमा जोड्ने भन्ने विषय अझै अन्योलमा छ ।’ ‘बुद्धसिंह मार्गलाई पृथ्वी राजमार्गसँग कुन बाटोबाट जोड्न सकिन्छ भन्ने विषयमा सरोकारवालाहरू बीच धेरैपटक छलफल भयो तर यो विषय अझै टुंगोमा पुग्न सकेको छैन‘, पूर्व–अध्यक्ष बास्तोलाले भन्नुहुन्छ, ‘बेलबासबाट बुल्दी खोलाको किनारै किनार कराङ्काठस्थित बसपार्कबाट राजमार्गसँग जोड्ने, छाब्दी खोलाको किनारै किनार हुँदै भादगाउँ–गल्भुवेसीबाट राजमार्गसँग जोड्ने, जिरोटारको मोटरवेल पुल–बिसघरे–दमौली हुँदै राजमार्गसँग जोड्ने लगायतका विकल्पका विषयमा छलफल भए पनि त्यो टुंगोमा पुगेको छैन ।’

अहिले सञ्चालनमा रहेको बीसघरे हुँदै दमौली बजार मार्ग, भादगाउँ हुँदै अमरपुरी मार्ग र भादगाउँ–गल्भुबेसी मार्गले घुमाउने घाटमा पुल निर्माणपश्चात् यातायातका साधन सञ्चालनको संख्या वृद्धि भएमा थेग्न नसक्ने अवस्था छ । ३० फुटे यी मार्गको दायाँबायाँ आवासीय भवनहरू निर्माण भइसकेका र स्थानीय सरकार तथा अन्य सरोकारवाला निकायले बुद्धसिंह मार्गको निकासका लागि समयमै आवश्यक जग्गा संरक्षण गर्न नसक्दा अहिले समस्या खडा भएको छ । यो विषयलाई समयमै टुंगोमा पुर्याएर सडकको स्तरोन्नतिमा ध्यान दिन नसके भविष्यमा झन् समस्या खडा हुने देखिन्छ । प्रदेश सरकारले बहुवर्षीय योजनामा राखी करिब ४६ करोड रुपैयाँमा सडक स्तरोन्नतिको ठेक्का सम्झौता भएको र आगामी आर्थिक वर्षका लागि करिब पाँच करोड रुपैयाँ बराबरको बजेटसमेत विनियोजन भएको अवस्था रहेको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो । यस्तै, बुद्धसिंह मार्गलाई पृथ्वी राजमार्गसँग जोड्नका लागि दुईवटा विकल्प देखिएको र सोहीअनुसार रेखांकनसमेत भएको नगरप्रमुख न्यौपानेले बताउनुभयो ।

सडकको ट्र्याक खनेको ३१ वर्ष बितसक्दा यो मार्गले निकास नभेटिनुका साथै विकास पनि हुन सकेको छैन । यो मार्गलाई तनहुँको कछार क्षेत्रका बासिन्दाको ‘लाइफलाइन’ का रूपमा पनि लिइन्छ ।

जिल्लाका दुर्गम कोटा, बैदी, छिपछिपे र धरमपानी, मास्दीघाट, नाल्दीपुल लगायतका गाउँबस्तीका बासिन्दालाई सडकसञ्जालसँग जोड्ने लक्ष्यका साथ साबिकका गाउँविकास समिति र स्थानीय जनताको सक्रियतामा दमौलीदेखि घुमाउने घाटसम्म कच्ची सडक विस्तार गरिएको थियो । ट्र्याक खोल्दाको सुरुको अवस्थाभन्दा पनि यो सडकको अवस्था अहिले थप दयनीय बन्दै गएको छ ।

पोखरा–डुम्रे–आँवुखैरेनी–मुग्लिङ हुँदै नारायणगढ पुग्नुभन्दा दमौलीबाट बुद्धसिंहमार्ग हुँदै घुमाउनेघाट हुँदै नारायणगढ पुग्न करिब २३ किलोमिटर दूरी छोटो पर्छ । यस मार्गमा व्यास नगरपालिका, बन्दिपुर, आँबुखैरेनी, देवघाट र ऋषिङ गरी पाँच पालिका जोडिएका छन् । आइएनएस–स्वतन्त्र समाचारको सहयोगमा

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?