अब असार लागिसकेको छ । असार भनेको सार नभएको भन्ने बुझिन्छ । सार भनेको फुर्सद हो । फुर्सद नहुने महिना भएकै कारण यस महिनालाई असार भनिएको हो । असार किसानहरूका लागि व्यस्तताको महिना हो । त्यसैले कुनै व्यस्त समयको उदाहरण दिनुपर्यो भने असारको पन्ध्र जस्तो व्यस्त भन्ने गरिन्छ । अबको केही समय धान र कोदो रोपाइँमा नेपाली किसानहरू व्यस्त रहन्छन् । उनीहरूलाई खेती–किसानीको काम छोडेर अन्य क्षेत्रतिर चियाउने समेत फुर्सद हुँदैन । यो महिना मौसम प्रतिकूल रहने समय हो । राजधानीलगायत केही शहरी क्षेत्रमाबाहेक अन्य ग्रामीण क्षेत्रमा यही बेफुर्सदीका कारण विवाह व्रतबन्ध सप्ताहलगायत अन्य धार्मिक सांस्कृतिक तथा रीति परम्परागत कार्य न्यून मात्रामा मात्र गरिन्छ ।
तर, यो खेतीको व्यस्त समयमा पनि किसानले आवश्यक मल, बिउ तथा कृषि उपकरण पाइरहेका छैनन् । हाम्रो देशमा केही दशकअधिसम्म आफ्नै ढंगको परम्परागत कृषि प्रणाली थियो । मल, बिउ वा उपकरण किसान आफैंले व्यवस्था गर्ने गरेका थिए । हलो, कोदालो, कोदाली, दाँते, फ्याउरी, पटाहा वा लिँडुको आफैं बनाउँथे । बिउ आफैं बल्याएर राखेका हुन्थे । पशुपालन गरिन्थ्यो, प्रांगारिक मलको जोहो आफैंले गरेका हुन्थे । त्यसैले कुन मौसममा कुन खेती गर्ने हो त्यहीबमोजिम सबै कुराको तर्र्जुमा आफैंले गरेर तयारी अवस्थामा रहन्थे ।
आजकाल यस्तो अवस्था छैन । विकासे प्रणाली भित्रिनाले एकातिर हामीलाई फाइदा पुगेको जस्तो देखिएको भए तापनि हाम्रो रैथाने प्रणाली हराउँदै गएको छ । यसले गर्दा हामी परनिर्भरतातर्फ उन्मुख हुँदै गएका छौं । जब-जब खेतीको बेला हुन्छ तब तब हामी सरकारको अपेक्षामा रहने गर्छौं । तत्-तत् कुरा सरकारले कहिले उपलब्ध गराउँला भनेर पर्खिनुपर्ने हुन्छ । जुन कुराको आवश्यकता जहिले हुने हो त्यसबेला ती कुरा पाइएन भने समयमा खेती गर्न पाइँदैन । सरकारले विदेशबाट त्यस्ता कुराहरू ल्याउँदा खेतीको समय टरिसको हुन्छ, यसले गर्दा कृषि प्रणाली प्रभावित बन्न जान्छ ।
यसले गर्दा उत्पादन घटिरहेको छ । विशेषगरी हामी मलमा परनिर्भर बन्न पुगेका छौं । रैथाने प्रणालीबाट गोबरमल, पातपतिंगर कुहाएर बनाइएको मल, खरानी, घैंचाहरू जस्ता प्रांगारिक मललाई मलका रूपमा प्रयोग गर्ने परम्परा हटिसकेका छन् । रासायनिक मलको प्रयोग व्यापक रूपमा बढ्नाले हामी एकातिर परनिर्भर बनिसकेका छौं भने अर्कातिर हाम्रो माटोको उत्पादकत्व पनि घटिसकेको छ । रासायनिक मल प्रयोग भएको माटोमा पच्चीस वर्षसम्म त्यसको प्रभाव रहिरहन्छ भन्ने विज्ञहरूको मत छ । यस्तो अवस्थामा माटो बिग्रियो भने त्यसको उपचार गर्नुपर्ने हुन्छ तर अब सजिलाका कारणले हामी नेपाली किसान रासायनिक मलकै प्रयोग गर्न चाहन्छन् । तर, समयमा मल नपाइने भएका कारण कृषि प्रणाली प्रभावित हुनेगरेको छ ।
यता सरकारले पनि समयमै मलको व्यवस्था गरेर किसानका लागि उपलब्ध गराउन सकेको छैन । कुनै-कुनै सरकारका पालामा त असारमा चाइने मल आइपुग्दा मंसिर महिनासम्म लागेको छ । यसपटक पनि मल आउन ढिला हुने देखिएको छ यही कारणले संसदबाट विशेष प्रस्ताव नै पारित भएको छ । संसदबाट सबै उपाय अवलम्बन गरेर समयमै किसानलाई मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । ढिलो हुनुमा अन्तर्राष्ट्रिय कारण भएको कृषिमन्त्रीको मत छ । मूल्यको उतार चढाबका कारण समयमै मल ल्याउन नसकिएको उहाँको विचार रहेको छ ।
मल अहिले चाहिएको छ तर कृषिमन्त्रीको भनाइमा असारको अन्त्यसम्ममा मल आइपुग्ने सम्भावना छ भन्नुभएका कारण त्यस समयमा पनि आउला कि नआउला भन्ने आशंका छ । एक त सरकारको कुरामा धेरैको विश्वास नहुने गरेको छ । त्यसमाथि पनि कृषिमन्त्री नै सम्भावनाको कुरा गरिरहनु भएको छ । जसले गर्दा अन्यौलपूर्ण अवस्था कायम रहने देखिन्छ । यस्तो नहोस् किसानले समयमै मल पाऊन् । संसदको निर्देशन सरकारले पालना गरोस् र समयमै किसानले खेती गर्न पाऊन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच