नेपाली राजनीतिले लिक छाडेर बेलिक हुन लागेको धेरै दिन भएको छैन । नेपाली राजनीतिका युग पुरुषका रूपमा परिचित श्री गिरिजाप्रसाद कोइरालाको जीवनकालको उत्तराद्र्धमा नेपालको राष्ट्रिय जीवनमा एक प्रकारको असामान्य परिस्थिति आयो । त्यो बेला उनले त्यो समस्या समाधानका निमित्त माओवादीको गोलमेचको मागलाई संसदीय मेलमिलाप, सहकार्य र राष्ट्रिय एकता भनेर परिभाषित गरी बम, बन्दुकको राजनीतिका नाममा हिंसा, हत्या र आतंकलाई आफ्नो अभीष्टसिद्धिको माध्यम बनाउँदै आएका माओवादी विद्रोहीलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउने प्रयास गर्दा कतिपय तात्कालिक आवश्यक्ताका काम गर्नुपरेको थियो ।
उनले यदि यसो नगरेका भए वनका बन्दुक र व्यारेकका बन्दुक एकाकार भएर सदाका लागि प्रजातान्त्रिक वातावरणको अन्त्य पनि हुन सक्थ्यो । जसरी २००७ सालको क्रान्तिपछि पुतली गारतलाई राजाका हातमा राखिदिनाले प्रजातन्त्र प्राप्तिका निमित्त लामो संघर्ष गर्नुपरेको यथार्थ हामी सबैले बुझेकै छौं । हामीले संविधान सभाको निर्वाचन र निर्वाचित संविधान सभाले बनाएको संविधानले पुराना गाँठागुँठीलाई विस्थापन गरेपछि पनि भदौमा आँखा फुटेका डिँगाले चैतमा पनि हरियो देख्छ भने झैँ आफ्नै ढंग नपुगेर बिग्रिएका काममा पनि गठबन्धन र लठबन्धनका साङ्ला निर्माण गरी अहिलेका ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ र शेरबहादुरले नेपाली राजनीतिलाई मात्रै होइन विश्वप्रसिद्ध संसदीय प्रजातन्त्रलाई नै कुहेर अनुहार नचिनिने भएको गन्धे या कुनै सडल जीवजस्तै बनाएका छन् ।
अतः एउटा ठूलो जनविद्रोहले नेपाली राजनीतिका गरामा उम्रिएका गन्धे झार उखेलेर नफालेसम्म यो देश सभ्य मान्छे बस्न लायकसम्म पनि नरहने बनाउन लागेका छन् । आजका दिन सबै नेपालीले सोच्नै पर्ने गम्भीर विषय भनेको नै यही बनेर आएको देखिन्छ । भान्से लोभी बनेर भान्सामा बनेका खाद्यपरिकार लुकाउने, आफन्तलाई मात्रै भाग लाउने गर्न लाग्यो भने पाकालयमा कोही किन जाने ? भन्ने प्रश्न उठेकै कारणले धरानमा हर्क साम्पाङ, काठमाडौंमा बालेन्द्र साह, धनगढीमा गोपी हमाल, जनकपुरमा मनोज साहलगायत देशैभरिबाट जनताको असन्तुष्टि र योग्य सक्षम उम्मेदवारको खोजी गर्ने पूर्वसूचना दिएका छन् ।
काठमाडौंकी निवर्तमान उपप्रमुख हरिप्रभा खड्गीले अब किन राम्रो काम गर्ने ? पार्टीले उनलाई रुवाएको दुनियाँले देखेको छ । हाम्रा दलका नेता गिदीविहीन र चेतना भुत्ते बनाएर बसेका कारण आउँदो प्रदेश र संघका निर्वाचनमा यिनले जनताको चाहना पूरा गर्लान् जस्तो लाग्दैन । यदि यही व्यवहार देखाए भने जनता यिनका क्रियाकलापका विरुद्ध सडकमा नआउँलान् भन्न सकिँदैन ।
यदायदा हि धर्मस्य ग्लानिर्भवति भारत !
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।। (गीता)
जनताको उभारलाई अटेर गर्दा नै कांग्रेस २३ सिटमा खुम्चिएथ्यो, ओलीजीका दम्भको दुष्परिणाम आज एमाले भोग्दै छ । अति चञ्चलपना र खेलका लोभका परिणामले प्रचण्डलाई पनि किनारा नलाई नहुने सोच नेपाली जनताले बनाएका छन् जस्तो लाग्छ । झलनाथले अब सर्प खेतीमा मात्रै ध्यान दिए भयो । महन्त र उपेन्द्र पनि मिति सकिएका औषधि भइसकेका छन् । मधेसको जमिन्दारी प्रथा अब चल्नेवाला छैन । विराटनगरका कोइरालाको वंशवाद चलेको देखेर प्रकाशमान र विमल पनि वंशवादको ढ्वाङ थाप्न पुगेकै हु्न् ।
कति जनसमर्थन पाए भन्ने कुरो पनि तिन करोड नेपालीका आँखा मन मस्तिष्कमा सुरक्षित नै छ । अबका दिनमा कोही पनि भ्रममा नपरे हुन्छ नेपाली माटामा वंशवाद चल्ला भनेर । विश्वेश्वरप्रसाद कोइरालाको पनि वंशवाद चलेन यो देशमा किनभने तारिणीप्रसाद कोइराला, केशवप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला आफैंमा राजनेता थिए । मातृका र बीपीको टक्कर पर्दा बीपीले जिते उनलाई बढी जनताले साथ दिए अन्यथा यी दुवै विश्वस्तरका नेता थिए ।
यसरी हेर्दा पिताजी कृष्णप्रसाद कोइरालाको वंशवाद चलेकोसम्म भन्न सकिने अवस्था देखिन्छ । अब फेरि पनि डा.शशांक र सुजाताले वंशवाद र पारिवारिक बिरासद खोजे भने प्रकाशमान र विमलेन्द्रलाई देखाएकै बाटो नेपाली जनताले नदेखाउलान् भन्न सकिँदैन । हो डा.शशांक अतिशालीन सुसभ्य छन् तर १४औं महाधिवेशनका बेलाको यात्रा र शेरबहादुर देउवा डा. शेखर दुवै टिमको नामले उहाँलाई असजिलो बनाएको देखिन्छ । सारा मतदाता डा.साहेब बीपीको छोरा भएरमात्रै के गर्नु ? काम केही गर्नुहुन्नभन्दा रहेछन् । केही काम गर्न भन्यो भने ककसको सल्लाह लिनुहुन्छ । म नवलपुरतिर पनि गएथेँ, त्यहाँ पनि पहिलेको जस्तो वर्चस्व मैले भेटिनँ ।
यसो भएका कारणले अहिले ग्राफ डा.शेखर कोइरालाकै माथि भए पनि भाइ र बहिनीको तप्क्यानले नसताउला भन्न चाहिँ सकिँदैन । यद्यपि डा.शेखर कुनै बिरादर होइन नेपाली कांग्रेसका तमाम कार्यकर्तालाई आफ्नै सन्तानलाई झैँ माया गर्ने श्रीमती नोना कोइराला र बीपी, गिरिजाप्रसाद तथा तारिणी आदिलाई राजनीति गर्न पूरा अवसर प्रदान गर्नका निमित्त राजनीतिको जूवा काँधमा बोकेर पनि खेती किसानी सम्हालेर सुशीला कोइराला, रोषा कोइरालालाई मद्धत गरेर अहिलेका शेखर, शशांक, ज्योति, निरन्जन, सुजाता आदिलाई समुचित पठनपाठनको वातावरण प्रदान गर्ने बीपीका माहिला भाइ केशवप्रसाद कोइराला (जसलाई विराटनगरका मान्छे कोशुबावु भन्छन्)ले र बद्री बस्नेत अनि नोना कोइरालाले थेगेको कांग्रेस भन्ने मान्छे अद्यापि विराटनगरमा बग्रेल्ती भेटिँदा रहेछन् ।
यसरी नै जनकपुरमा सरोज महेन्द्रनारायण निधि र सरोज मारिएपछि त्यसै स्थानमा क्रियाशील भएर लीला कोइरालाले निधिलाई साथदिएरमात्रै होइन छोरी बुहारी जस्तो उमेरकी लीला पनि घप्लक्क काँध थापेर कांग्रेसमा होमिएकी थिइन् । यसरी हेर्दा यी कुरा आजका धेरै नयाँ कांग्रेसी कार्यकर्तालाई थाहा छैन । अतः अब चाल पाएका कांग्रेसले योग्यता, क्षमता र युगानुकूल आचरण गर्ने निर्लोभी, वंशवाद होइन; योग्यतावाद र राजनीतिक चरित्रवादका आधारमा निर्णय लिनसक्ने व्यक्ति दिनुपर्छ पार्टीले । अन्यथा मेरा हजुरबाले घ्यू खाएका थिए नपत्याए मेरा हात सुँघ भनेर कोही मान्नेवाला पनि छैनन् र पत्याउनेवाला पनि छैनन् ।
विश्वासो नैव कर्तव्य नेतृ राजकुलेषु चद्रनीति ।
राजनीति नै एउटा यस्तो गज्जबको कुरा हो जसमा पुर्खा, वंश, धन सम्पत्ति र यशले कुनै पनि मद्धत गर्न सक्दैन । यदि कतै गरेको छ गरिन्छ गराइन्छ भने त्यो अज्ञान, कुसंस्कार, अशिक्षित जनता, बिकाउ मतदाता भएका समाजको कुरोमात्रै हो । यस प्रकारका कुरालाई राजनीतिशास्त्रका शब्दावलीमा सामाजिक तत्व भनिन्छ । राजनीतिमा सामाजिक तत्वको प्रवेश भनेको वंशवाद या परिवारवादको प्रविष्टि भनेर बुझनुपर्दछ । राजसंस्थाका शासनमा सामाजिकता हुन्छ । कम्युनिज्म र सैन्य शासनमा चाहिँ एकाधिकार हुन्छ । दलीय शासन भनेका दुई प्रकारका हुन्छन् । एकदलीय अधिनायकवादी शासन, चीनको शासन व्यवस्था एकदलीय अधिनायकवादी हो ।
अर्को हो भारत, नेपाल, बेलायत, अमेरिका, जर्मनी, दक्षिण कोरियामा भएको जस्तो धैरै दलका बीचमा प्रतिस्पर्घा भएर कुनै एक दलले बहुमत पाएर सरकार निर्माण गर्ने र दोस्रो ठूलो दल प्रतिपक्षमा बस्ने पद्धति भएको । या एकभन्दा बढी दलको मिलीजुली सरकार बन्नेसमेत अवस्था भएको । हाम्रा देशमा बहुदल भए पनि नेताहरूका सत्तालिप्साका कारणले दलीय प्रतिस्पर्धालाई अप्राकृतिक किसिमका गठबन्धनले विकृत बनाएर बहुदलीय संसदीय प्रजातन्त्र भन्नै नसुहाउने बनाएका छन् । केन्द्रबाट फलानालाई भोट नदिए कारबाही गरिन्छ भन्नुभनेको एकव्यक्तीय मनोपोली चलाउनु हो ।
संसारमा सबैभन्दा खराब शासन सैनिक शासन मानिन्छ । त्यसपछिको खराब शासन कम्युनिष्ट शासन हो भने यसभन्दा पछिको खराब शासन राजाको एकलौटी शासन हो । सबैभन्दा राम्रो शासन भनेको आवधिक निर्वाचन पद्धतियुक्त, विधिको सर्वोच्चता, मानव अधिकारको पूर्ण प्रत्याभूति भएको बहुदलीय शासन पद्धति नै हो तर आज हाम्रा देशमा यसलाई गठबन्धन र केन्द्रीय समितिको निर्णय तथा आदेश, अनुशासनका नाममा फिडेल क्यास्त्रोको शासनभन्दा पनि तल्लो तहमा हाम्रा सभापति, उपसभापति र तिनका आदेश नै ब्रहृमवाक्य ठान्ने हुतीहारा केन्द्रीय समितिका सदस्यले संसारको सुन्दरतम पद्धतिलाई पनि विकलांग, कुरूप र ऊटजस्तो विरूपको बनाएका छन् ।
धेरै काटेपछि अत्यन्त नै धारिलो हतियार पनि भुत्तिन्छ । धेरै दिनसम्म लाएर घष्ट्याएपछि घोटिएर जस्तै बलियो कपडा पनि पातलिन्छ । धेरै खायो भने जतिसुकै बलियो पाचनशक्ति भएका मान्छेको पेट पनि ढाडिन्छ । धेरै खाएपछि गुलियो पनि तीतो लाग्न थाल्छ । अघाएका बानियाँलाई गुण तीतो भन्ने त उखानै छ । राजनीतिक दलले पनि जनतालाई कति दल्ने भन्ने विचार पुर्याएरमात्रै दल्नुपर्छ । प्रजातन्त्रमा दलले जनतालाई र जनताले राजनीतिक दललाई नियन्त्रण गर्ने दोहोरो पद्धति रहेको हुन्छ ।
जसरी पोखरीका पानीले खेत पटाइन्छ त्यसैगरी खोलाका पानीले पनि खेत पोखरी दुवै पटाइन्छ र पोखरीको पानीमा विकार आयो भने त्यो पानी खोलामा हालेर बगाइन्छ त्यसैगरी राजनीतिक दलमा आएको विकार पखाल्न जनताका घरआँगनमा जाने व्यवस्था मिलाइएको हुन्छ । यसैलाई आवधिक निर्वाचन पद्धति पनि भनिन्छ । पानी प्राणीको जीवन प्राणको आधार भएजस्तै विधि प्रजातान्त्रिक पद्धतिको पानी हो, प्राण हो ।
यसका अभावमा प्रजातन्त्र व्यक्तितन्त्र र मनपरितन्त्रमा परिणत हुन्छ । पहिला ओलीले यसलाई आफूखुशी तन्त्रमा परिणत गरेथे भनेपछि प्रचण्ड, माधव र शेरबहादुरले यसलाई आफूखुसी तन्त्रमा बदलेका छन् । संविधान, ऐन र नियम आचरण, अनुशासन आदिको धज्जी उडाइएको छ । यस्तो अवस्थामा जनता र प्रजातान्त्रिक पद्धति दुवै कुहिराका काग बन्छन् । प्रजातन्त्र अप्रायोज्य बन्छ । मानवीय संस्कार-संस्कृति त्याज्य बन्दै जान्छन् । परम्परा परिशोधन होइन; परित्याज्य बनाएर फालिन्छ । आजको नेपालमा यस्तै नाना प्रकारका अपचलन लागू गरिएका छन् । शनिबार आइतबार बिदा, सहमतिका नाममा गाईलाई गोरु र भैंसीलाई भेडो मान्ने परम्परा बसाउने प्रयत्न गरियो ।
आज प्रजातन्त्र नियम कानुनका सारा मान मर्यादा च्यातचुत पारेर गठबन्धनका नाममा पिसाबको न्यानो तापेर पहिरामुनिको बास बसेको छ नेपाली कांग्रेस । घोर अप्रजातान्त्रिक शक्तिलाई सहयात्री ठानेर बाघको सवार गर्दै छन् नेपाली कांग्रेसका सभापति । भोलि जब चारैतिरबाट वाम आक्रमण हुन्छ अनि पहिला राँड जानिन पछि राँड मानिन, बाघ लाग्यो घिच्याउन राँड लागी चिच्याउन भन्ने उखानले चित्रण गरेको परिस्थति चरितार्थ भएपछि मात्रै अहिलेका कांग्रेस रूपको चेत फिर्ला कि ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच