फोहोरको डंगुरले कालीगण्डकी कोरिडोर दुर्गन्धित

हिमालय टाइम्स
Read Time = 6 mins

-डम्मर बुढा मगर

बागलुङ । फोहोरको डंगुरले कालीगण्डकी कोरिडोर दुर्गन्धित बनाएको छ । बागलुङ बजार क्षेत्रबाट उठाइएको फोहोर अव्यवस्थितरूपमा कालीगण्डकी कोरिडोरछेउमा थुपार्दा कोरिडोरमा यात्रा गर्ने यात्रुहरूलाई समस्या भएको छ । सडकछेउमा अस्तव्यस्तरूपमा रहेको फोहोरले यात्रु रोगको सिकार बन्नुपरेको छ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको मालढुंगामा बागलुङ नगरपालिकाले बजारको फोहोर थुपार्दै आएको छ । अव्यवस्थितरूपमा थुपारिएको फोहोरले यात्रु तथा स्थानीयले समस्या भोग्दै आएका छन् । यही सडकमार्फत् दैनिक सयौँ यात्रु ओहोरदोहोर गर्ने गर्छन् । फोहोरको गन्धले गर्दा यात्रा गर्न निकै कठिनाइ भएको यात्रुको गुनासो छ ।

सडकछेउमा रहेको डम्पिङ साइडबाट आएको गन्धले बाटोमा यात्रा गर्न निकै गाह्रो हुने गरेको यात्रु सुशील मानन्धरले बताउनुभयो । उहाँले सम्बन्धित निकायले फोहोरको सही व्यवस्थापन गर्न नसके यसले थप जटिल समस्या निम्त्याउन सक्ने बताउनुभयो । ‘बाटोको छेउमै यस्तो दुर्गन्ध छ, सयौँ मान्छे यही सडकबाटै यात्रा गरिरहेका हुन्छन्, उनीहरूलाई कति असर पु¥याएको छ,’ मानन्धरले भन्नुभयो । चिसो मौसममा खासै बाहिर गन्ध नआए पनि गर्मीको समयमा निकै गन्हाउने र यसको गन्धका कारण यात्रुहरू बाटो हिँड्नै नसक्ने उहाँको भनाइ छ । ‘पुसमाघको समयमा खासै गन्ध आउँदैन, यो गर्मी समयमा त निकै गन्हाउँछ, यसले त स्वास्थ्यमा निकै असर पु¥याएको छ,’ उहाँले भन्नुभयो, ‘यस्तो सडकछेउमा भन्दा सरकारले अन्य कुनै ठाउँमा फोहोर व्यवस्थापन गर्न सके राम्रो हुन्थ्यो, यसले त बाहिरबाट आउने पर्यटकलाई पनि राम्रो सन्देश दिँदैन ।’

दैनिक यही सडक भएर यात्रा गर्दा फोहोरको दुर्गन्धले आफू र यात्रुहरू बिरामी पर्ने गरेको गाडी चालक ओमबहादुर श्रीसले बताउनुभयो । उहाँले गाडीमै फोहोरको गन्ध पस्दा यात्रुहरूले बान्ता गर्ने गरेको बताउनुभयो । ‘यो बाटोमा गाडी चलाउन लागेको धेरै वर्ष भयो, पहिलेदेखि नै यस्तै समस्या थियो, अहिले पनि उस्तै छ, फोहोरको कारणले कति बिरामी परियो, यात्रु पनि धेरै बिरामी पर्ने गरेका छन्,’ उहाँले भन्नुभयो, ‘गाडीमै फोहोरको गन्ध पसेर यात्रुहरूले बान्ता गर्ने गरेका छन्, गाउँ जाने बाटो यही हो, अर्को बाटो छैन, यो फोहोरले हामीलाई निकै समस्या भएको छ ।’

डम्पिङ साइडका रूपमा प्रयोग हुँदै आएको स्थलभन्दा केही माथि प्रसिद्ध कालिका मन्दिर हुँदा यहाँको फोहोरले गन्धका कारण मन्दिरमा समेत झिँगा भन्किँदा तीर्थालुलाई समेत असर पु¥याएको छ । नगरपालिकाले यस क्षेत्रमा वर्षौंदेखि फोहोर फाल्दै आएको छ । गाडीले बजार क्षेत्रको फोहोर दैनिक यहीँ लगेर थुपार्दै आएको छ ।

फोहोरको सही व्यवस्थापनका लागि बागलुङ नगरपालिकाले समेत योजना बनाउन सुरु गरेको नगर उपप्रमुख राजु खड्काले बताउनुभयो । उहाँले यो समस्या लामो समयदेखि रहँदै आएको भन्दै अब यसको सही व्यवस्थापनका लागि नगरपालिकामा छलफल भइरहेको बताउनुभयो ।

उपप्रमुख खड्काले फोहोर व्यवस्थापनका विषयमा आफूहरू गम्भीर भएर लागेको भन्दै यसको सही व्यवस्थापन गर्नेमा आफूहरू प्रतिबद्ध भएको बताउनुभयो । ‘यहाँको फोहोरको विषयमा हामीले नगरपालिकामा छलफल चलाएका छौँ, हामीहरू पनि गम्भीर छौँ यसबारे, यसको सही व्यवस्थापन हुनेछ,’ उपमेयर खड्काले भन्नुभयो, ‘यस ठाउँको विकल्प पनि खोज्नेछौँ र फोहोरलाई सही व्यवस्थापन गर्नेछौँ ।’

अव्यवस्थितरूपमा थुपारिएको फोहोरका बारेमा धेरै पहिलेदेखि आलोचना भइरहेको छ । नागरिकको स्वास्थ्यका हिसाबले पनि यस क्षेत्रलाई डम्पिङ साइडका रूपमा प्रयोग गर्नुनहुने देखिन्छ । बागलुङ जिल्ला प्रवेशद्वार नजिकै रहेको डम्पिङ साइड उपयुक्त स्थानमा नभएको स्थानीयहरूको भनाइ छ । डम्पिङ साइडनजिक रहेको बस्तीमा समेत फोहोरको गन्धले सताइरहेको स्थानीयको भनाइ छ । हावा लाग्नेबित्तिकै फोहोरका कणहरू घरभित्रै आउने उनीहरूको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?