बुटवल । परपुरुषकी श्रीमती र नावालिकालाई कुटपिट गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यममन्त्री विमलाकुमारी खत्री वलीलाई मुख्यमन्त्री कुलप्रसाद केसीले संरक्षण दिनुभएको छ ।
प्रहरीबाट छुटाएर मुख्यमन्त्री केसीले अभियुक्त वलीलाई आफ्नै निवासमा राख्नुभएको हो । मुद्दाको किनारा नलाग्दै अभियुक्त वलीलाई संरक्षण दिएपछि मुख्यमन्त्रीको आलोचना हुन थालेको छ ।
प्रहरी हिरासतमा रहेकी वलीलाई मंगलबार राति दाङबाट बुटवल ल्याइएको थियो । प्रहरी स्रोतका अनुसार उनलाई प्रहरी सुरक्षाका साथ रातारात बुटवलस्थित मुख्यमन्त्री केसीको निवासमा ल्याइएको हो ।
अहिले विमला वली मुख्यमन्त्री निवासमै छन् । आफू अस्वस्थ भएको बताएकाले उनको स्वास्थ्य परीक्षण गर्ने तयारी गरिएको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।
कुटपिटमा परेकी पीडित मिना भण्डारी बस्नेतले मन्त्री वलीविरुद्ध मंगलबार दाङमै किटानी जाहेरी दिनुभएको थियो । किटानी जाहेरी परेपछि मुख्यमन्त्री केसीले दाङका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई बारम्बार फोन गरी हिरासतबाट छुटाएर बुटवल ल्याउन दवाव दिनुभएको थियो ।
मुख्यमन्त्रीको दवाबपछि वलीलाई प्रहरी हिरासतबाट छुटाएर बुटवल ल्याइ मुख्यमन्त्री निवासमा राखिएको हो ।
मंगलबार बिहान करिब ८ बजे अंगरक्षकसहित झण्डावाला गाडी लिएर दाङ तुलसीपुर उपमहानगरपालिका–५ आलुमण्डीस्थित एकराज बस्नेतको घरमा प्रवेश गरी उहाँकी पत्नी मिना र नावालिक छोरीलाई कुटपिट गरेपछि प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको थियो ।
राज्यमन्त्री वलीले आफ्नो फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरिएको तथा पैंसासमेत नदिएकाले आवेगमा आएर बस्नेतको घर पुगेको प्रहरीसमक्ष बताएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताउनुभयो ।
पीडित मिनाले वलीविरुद्ध उजुरी दिए पनि दर्ता भएको छैन । हदम्याद भित्र प्रहरीले उजुरी दर्ता गर्ने प्रहरी स्रोतले बताएको छ । बाहालवाला मन्त्रीलाई पक्राउ गर्न र थुन्न पाउने कानुन नभएकाले दर्ता नभएको प्रहरीको दावी छ । ‘ब्यवस्थापिका संसद चलिरहँदा सभामुखको पत्र वा आदेशबिना हामीले केही गर्न सक्ने अवस्था रहँदैन’, एक प्रहरी अधिकारीले भने ।
प्रशासन र सभामुखबाट पत्राचार वा समन्वयमा मात्रै उजुरी दर्तालगायतका प्रक्रिया अगाडि बढ्ने प्रहरीले बताएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले वलीलाई मन्त्री र सांसद पदबाट बर्खास्त गर्न र कानुनी कारवाही गर्न माग गरेको छ । एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले आपराधिक कार्य गरेकाले वली नैतिकरुपमा पदमा बस्न नमिल्ने भन्दै बर्खास्त गर्नुपर्ने माग गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच