अरुण तेस्रो मजदुर मृत्यु प्रकरण : परिवारले शव बुझ्न मानेनन्

हिमालय टाइम्स
Read Time = 2 mins

संखुवासभा । संखुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो आयोजनामा ज्यान गुमाएका मजदुरको परिवारले शव बुझ्न मानेका छैनन् ।

मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा कार्यरत मजदुर कैलालीको लम्कीचुवा नगरपालिका–३ चिसापानीका ५० वर्षीय अमरबहादुर महतरा गत शनिबार मृत फेला पर्नुभउको थियो ।

उहाँको मृत्यु रहस्यमय भएको भन्दै आफन्तले चार दिन बितिसक्दा पनि शव बुझ्न मानेका छैनन् । कैलालीबाट उहाँकी श्रीमती कमला संखुवासभा आइपुग्नुभएको छ । महतराको शव जिल्ला अस्पतालमा राखिएको छ । ‘घटनाको सत्यतथ्य छानविन हुनुपर्छ’, कमलाले भन्नुभयो ।

महतरा गत जेठ १२ गते अरुण तेस्रोमा काम गर्न संखुवासभा आउनुभएको थियो । अरुण तेस्रोले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने महतरा परिवारको माग छ ।

उहाँकी श्रीमतीले जिल्ला प्रहरी र प्रशासन कार्यालयमा घटनाको छानविनका लागि माग गर्नुभएको छ । मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिलाउन प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताउनुभयो ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सरोज कोइरालाले जानकारी दिनुभयो । अरुण तेस्रोमा नेपाली र भारतीय गरी झण्डै तीन हजार मजदुर कार्यरत छन् । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?