एसपीपी सम्झौताबारे प्रधानमन्त्रीले तत्काल सदनलाई जवाफ दिनुपर्छ : गगन थापा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सत्तारुढ कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपिपी) सम्झौताबारे रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिनुपर्ने बताउनुभएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद थापाले अमेरिकासँग गर्न लागिएको भनिएको एसपिपीबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताउनुभएको हो । सदन र संसदीय समितिमा सांसदहररूले प्रश्न उठाइरहेकाले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उहाँको भनाइ छ ।

‘केही दिनदेखि संसदको समितिमा, संसदको बैठकमा माननीयज्यूहररूले एसपिसी सम्झौताबारेमा गम्भीर विषय उठाइरहनु भएको छ । यो विषय सरकारसँग सम्बन्धित छ । रक्षा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीले सम्हाल्नु भएको छ,’ थापाले भन्नुभयो, ‘संसदमा यतिको विषय उठिसकेपछि रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका प्रधानमन्त्रीले संसदमा उभिएर तत्काल जवाफ दिनुपर्छ ।’

एसपिपी सम्झौता के हो र यो कसको पालामा भएको भन्दै उहाँले जिज्ञासासमेत राख्नुभयो । केही समयअघि एमसिसी सदनबाट पारित गरेको स्मरण गराउँदै उहाँले भन्नुभयो, यदी नेपाली सेना संलग्न हुने कुनै पनि सम्झौता भए त्यो गर्न नहुने सुझाव दिनुभयो ।

‘हामीले केही समय अगाडि सदनबाट एमसिसी अनुमोदन गर्‍यौँ । यस्ता विकास साझेदारीको विषय अमेरिकासँग, चीनसँग, भारतसँग, सबै शक्ति राष्ट्रसँग थप आवद्ध हुने, संलग्न हुने हो, यसबाट केही लिने हो । तर, नेपाली सेना संलग्न हुने कुनै पनि साझेदारी, चाहे त्यो छिमेकी देशसँग होस्, चाहे त्यो शक्ति राष्ट्रसँग होस्, मित्रराष्ट्रसँग होस्, त्यसमा नेपाल सहभागी हुन सक्दैन । हुन पाउँदैन । हुन दिँदैनौँ,’ उहाँले भन्नुभयो, ‘नेपालको विकासका लागि सबै मित्रराष्ट्र, छिमेकी, शक्ति राष्ट्रसँग मिलेर काम गर्ने हो । उनीहररूले यो गर, योसँग गर, योसँग नगर भन्यो भने नसुन्ने हो ।’

तर, सामरिक विषयमा भने नेपाल संलग्न हुन नहुने भन्दै उहाँले पुनः यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?