माधव नेपालको प्रतिवेदन : कांग्रेस र माओवादी केन्द्र मिलेर अघि बढेपछि गठबन्धनमा समस्या देखियो

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गत निर्वाचनमा गठबन्धनको मर्म विपरित नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर अघि बढेको बताउनुभएको छ ।

काठमाडौंमा जारी स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै नेता नेपालले गत स्थानीय निर्वाचनमा गठबन्धनको निर्णयअनुसार सिट बाँडफाँड गर्नसमेत तयार नभएको बताउनुभएको हो ।

६ महानगरपालिका र ११ उपमहानगरलिका प्रमुख तथा उपप्रमुखको सिट बाँडफाँड गरिएको बाहेक आम रुपमा गठबन्धनमा सामेल सबै दलबीच चुनावी तालमेल हुन नसकेको निश्कर्ष निकाल्दै अध्यक्ष नेपालले भन्नुभएको छ, ‘अघिल्लो स्थानीय तहमा पहिलो, दोस्रो र तेस्रो भएका पार्टीहरूमध्ये दोस्रो र तेस्रो पार्टी मिलेर गए पहिलो पार्टीलाई हराउँन सक्छन् भन्ने र अघिल्लो निर्वाचनमा एमालेले प्राप्त गरेको मत एक देखी २० प्रतिशत कटौती भए उसले सिट गुमाउने छ भन्ने तथ्यांकसहित प्रस्तुत भएपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र आफूहरू मात्रै मिलेर अघि जाने गरी बढे, उनीहरू स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनकाबीच सिट बाँडफाँड गर्न तयार भएनन्, त्यसैले आम रुपमा पाँच दलीय गठबन्धन हुन सकेन ।’

सोही कारण कांग्रेस र माओवादी केन्द्रले गठबन्धनमा आवद्ध दलहरूलाई पन्छाएर आफूहरूबीचमा मात्रै सिट बाँडफाँट गरेकोमा नेपालको प्रतिवेदनमा गुनासो प्रकट भएका छन् । ‘धेरै पालिकामा कांग्रेस र माओवादी केन्द्रबीचमा मात्रै सिट बाँडफाँट गरियो, त्यो पनि पालिका, उपप्रमुख र वा अध्यक्ष र उपाध्यक्ष पदको मात्र । वडाको बाँडफाँट त उक्त दुई पार्टीकाबीचमा पनि भएन ।’ उहाँका अनुसार तल्लो तहसम्म गठबन्धन हुनु पर्नेमा कांग्रेस र माओवादीका कारण हुन सकेको थिएन ।

गठबन्धन भित्र पाँच समस्या

अध्यक्ष नेपालले गठबन्धनभित्र पनि उपगठबन्धन गर्ने कुरालाई पुनः दोहोर्याउँदै स्थानीय तह निर्वाचनमा सही रुपमा तालमेल हुन नसकेको विषयलाई सात बुँदामा उल्लेख गर्नुभएको छ ।

उहाँका अनुसार गठबन्धनभित्र पाँच प्रकारका समस्या रहे, पहिलो गठबन्धन गर्न नै नचाहने, दोस्रो गठबन्धनमा भएको निर्णय कार्यान्वयन नगर्ने, तेस्रो गठबन्धनभित्र उपगठबन्धन गर्ने, चौंथो गठबन्धन भएका स्थानमा इमान्दारितापूर्वक भोट नहाल्ने पाँच गठबन्धन बाहिरका दलहरूसँग चुनावी तालमेल गर्ने, छौटौँ, गठबन्धनमा रहेका दलहरूमा सहकार्यको भावना ज्यादै कमजोर हुनु, सातौँ गठबन्धनलाई आफ्नो हितमा मात्रै प्रयोग गर्न चाहने ।

‘यो प्रवत्ति नेपाली कांग्रेस र माओवादी केन्द्रमा बढी मात्रामा देखियो,’ बैठकमा नेपालले पेश गरेको प्रतिवेदनमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?