बागलुङ–पर्वत जोड्ने पुल : ६ वर्षमा आधा काम पनि भएन

Read Time = 5 mins

-डम्मर बुढा मग
बागलुङ । ठेकेदार कम्पनीको चरम लापरवाही र सरोकारवाला निकायको बेवास्ताका बागलुङमा धेरै योजनाहरु अलपत्र परेका छन् । त्यही योजनाहरु मध्येमा बागलुङको कुश्मीसेरादेखि पर्वत फलेबास जोड्ने पक्की मोटरेवल पुल पनि पर्छ । अहिले पुल निर्माण सुरु भएको ६ वर्ष पूरा भयो, तर काम भने आधा पनि हुन सकेको छैन । समयमा पुल निर्माण नहुँदा प्रत्यक्ष मारमा बागलुङ र पर्वतका नागरिक परेका छन् ।

बागलुङ–पोखरा राजमार्गको वैकल्पिक सडकको मुख्य पुलनै लामो समयदेखि नबन्दा बागलुङ र पर्वतका हजारौँ नागरिक २० मिनेटको बाटो ३ घण्टा बढी यात्रा गर्न बाध्य छन् । यस सडक पर्वतको फलेवास, कार्कीनेटा, स्याङ्जाहुँदै पोखरा जोडिन्छ । कालीगण्डकी नदीमाथी निर्माण गर्न थालिएको १०५ मिटर लामो यस पुलको ६ वर्षको प्रगति करिब ५० प्रतिशत रहेको दाबी छ ।

सडक डिभिजन कार्यालय बागलुङका ईन्जिनियर किरण पोख्रेलले हालसम्म पुलको ५० प्रतिशत काम सम्पन्न भएको दाबी गर्नुभयो । ‘पुलको काम हेर्दा हालसम्म करिब ५० प्रतिशत काम सकिएको देखिन्छ,’ उहाँले भन्नुभयो ‘वित्तीय कामको आधारमा ४० प्रतिशत सकिएको छ, अहिले त्यहाँ काम हेर्ने हो भने फाउण्डेशनको काम भएको छ, अरु पनि गर्ला जस्तो देखिएको छ ।

२०७३ असोज ९ गते रसुवा÷श्री गिता÷फेवा जेभीले पुल निर्माणका लागि सम्झौता गरेको थियो । साढे दुई वर्ष भित्रमा सक्ने गरि सम्झौता भएको पुलको काम अहिलेसम्म आधा पनि पूरा नहुँदा स्थानीयले पुल बन्नेमा विश्वस्त छैनन् ।

स्थानीय गोविन्द चपाई शर्माले पुल नबन्दा दक्षिण बागलुङ जनताले ठूलो सास्ती खेप्नुपरेको बताउनुहुन्छ । शर्माले यहाँका हजारौँ नागरिकलाई पोखरा पुग्न यस सडक मार्फत धेरै छिटो हुने भन्दै अहिले बागलुङ पुगेर जानु पर्ने अवस्था रहेको बताउनुभयो । पुल बने फलेबास, कार्कीनेटा हुँदै पोखरा पुग्न सकिने उहाँको भनाई छ ।

‘यो पुल नबन्दा यस क्षेत्रका हजारौँ नागरिकले दुःख पाएका छन्, यहाँबाट पुल तरेर पारी जानलाई २० मिनेट लाग्छ, गाडीबाट जाने हो भने बागलुङ मालढुङ्गा हुँदै जानु पर्छ, त्यसरी जाँदा झण्डै तीन घण्टा बढी लाग्छ,’  शर्माले भन्नुभयो ‘यो पुल बन्यो भने त यहाँका जनता पोखरा काठमाडौँ जानलाई मालढुङ्गा बागलुङ पुग्नै पर्दैन, यतैबाट छिटो हुन्छ ।’

पछिल्लो पटक २०७८ चैत्र मसान्त भित्रकाम सम्पन्न गर्ने गरि म्याद थप गरिए पनि प्रभावकारी रुपमा काम भने अघि बढ्न सकेको छैन । समयमै काम सम्पन्न नभएपछि पुनः म्याद थप्ने तयारी ठेकेदार कम्पनीको छ ।

ठेकेदार कम्पनीका सुपर भाईजर शेर बहादुर भण्डारीले आवश्यक मेसिन ल्याउन समस्या हुँदा समयमै काम सक्न नसकेको बताउनुभयो । उहाँले अहिले आवश्यक मेशिनहरु आइ सकेको र काम पनि तीव्र गतिमा भएको बताउनुहुन्छ । उहाँले जमिन मुनी ४८ वटा पिल्लर निर्माण गरि सकेको भन्दै अहिले माथि दुई वटा पिल्लर ठडाइ सकेको बताउनुभयो ।

‘सुरुमा आवश्यक मेसिनहरु ल्याउनका लागि समस्या भयो, त्यसले गर्दा काम गर्न गाह्रो भएको थियो, अहिले मेसिन लिएका छौँ, जमिन मुनी ४८ वटा पिल्लर निर्माण गरि सकेको छ’ भण्डारीले भन्नुभयो ‘अहिले माथि दुई वटा पिल्लर ठडाइ सकेको, काम तीव्र गतिमा भइरहेको छ ।’

१३ करोड १२ लाख ४९ हजार ३६४ रुपैयाँ लागतमा निर्माण थालिएको थियो । कालीगण्डकी करिडोरमा जोडिने यो पुलले पर्वत, स्याङ्जा र पोखरालाई समेत करिडोरको पहुँचमा ल्याउनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?