विश्वकप खेल्ने ३२ टोलीको टुंगो

हिमालय टाइम्स
Read Time = 4 mins

दुबई । कोस्टारिकाले नौ खेलाडीमा समेटिएको न्युजिल्यान्डलाई १-० ले हराएर विश्वकपमा स्थान पक्का गरेसँगै कतार विश्वकप २०२२ खेल्ने ३२ वटै टोलीको टुंगो लागेको छ । अहमेद विन अल स्टेडियम कतारमा मंगलबार राती भएको खेलमा न्युजिल्यान्डलाई हराउन कोस्टारिकाका जोएल क्याम्पवेलले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उहाँ खेलको तेस्रो मिनेटमै गोल गर्न सफल हुनुभएको थियो ।

यो नतिजाले कोस्टारिका स्पेन, जर्मनी र जापान रहेको समूह ‘ई’ मा परेको छ । योसँगै कतार विश्वकपमा प्रतिस्पर्धा गर्ने सबै ३२ राष्ट्रको टुंगो लागेको छ । युरोपबाट १३, दक्षिण अमेरिकाबाट चार, उत्तर तथा मध्य अमेरिकाबाट चार, एसियाबाट आयोजक कतारसहित ६ र दक्षिण अफ्रिकाबाट पाँच टोलीले विश्वकपमा स्थान बनाएका छन् ।

विश्वकपमा युरोपबाट जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इंग्ल्यान्ड, स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स, पोर्चुगल, पोल्यान्ड र वेल्स, दक्षिण अमेरिकाबाट ब्राजिल, अर्जेन्टिना, उरुग्वे र इक्वेडर र उत्तर तथा मध्य अमेरिका (कोन्काफ) बाट क्यानडा, अमेरिका, मेक्सिको र कोस्टारिका, एसियाबाट कतार (आयोजक) इरान, दक्षिण कोरिया, साउदी अरेबिया, जापान र अस्ट्रेलिया र दक्षिण अफ्रिकाबाट घाना, सेनेगल, ट्युनिसिया, मोरोक्को र क्यामरुनले विश्वकपमा स्थान बनाएका छन् ।

यस्तै बेल्जियमले युइएफए नेसन्स लिग ‘ए’ ग्रुप ४ मा पोल्यान्डलाई १-० गोलअन्तरले पराजित गरेको छ । वार्सजावा पोल्यान्डमा मंगलबार राती भएको खेलको पहिलो हाफमा मिचु बात्सयाईले बेल्जियमका लागि निर्णायक गोल गर्नुभयो । उहाँले खेलको १६औँ मिनेटमा युरी टिलेमान्सको पासमा गोल गर्नुभयो ।

यो जितसँगै बेल्जियम चार खेलबाट सात अंक जोडेर दोस्रो स्थानमा यथावत् रहेको छ । पराजित पोल्यान्ड ४ अंक जोडेर तेस्रोमा छ । शीर्षस्थानको नेदरल्यान्ड्सको १० तथा पुछारको वेल्सको एक अंक छ ।

यस्तै मेम्फिस डिपाएले इन्जुरी समयमा गोल गरेपछि नेदरल्यान्ड्सले युएइफए नेसन्स लिग ‘ए’ ग्रुप ४ मा वेल्समाथि ३-२ को जित हात पार्‍यो । डच टोलीको जितमा डिपाएसँगै नोआ लाङ र कोडी गाक्पोले गोल गर्नुभयो । वेल्सका ब्रेननान जोन्सन र ग्यारेथ बेलले गोल गर्नुभएको थियो ।

यो जितसँगै नेदरल्यान्ड्स चार खेलबाट १० अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित वेल्स एक अंक जोडेर पुछारमा रहेको छ । बेल्जियमको सात तथा पोल्यान्डको चार अंक छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?