ओमानमाथि नेपालको सहज जित

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले ओमानलाई सहजै पराजित गरेको छ । अमेरिकाको हृयुस्टनस्थित मोसा क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको हो । ओमानविरुद्धको खेलमा नेपालका करन केसीले उत्कृष्ट बलिङ गर्दै एक्लैले पाँच विकेट लिएपछि जित सहज बनेको हो ।

ओमानले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । ओमानले ४६ दशमलब पाँच ओभरमा सबै विकेट गुमाएर मात्र १६३ रन बनाउन सक्यो । १६४ रनको विजयी लक्ष्य नेपालले तीन विकेट गुमाएर ३३ दशमलब एक ओभरमा पूरा गर्‍यो । नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय पारी खेल्नुभयो । भुर्तेलले ७५ बलको सामना गर्दै पाँच चौकाको मद्दतमा ५६ रन बनाउनुभयो । शेखले ८६ बलमा ६२ रन बनाउनुभयो । यसमा उहाँको एक छक्का र सात चौकासमेत सामेल थियो । यस्तै देव खनालले १२ बलमा एक चौकासहित १० तथा उपकप्तान रोहितकुमार पौडेलले अविजित २६ रनको योगदान दिनुभयो । उहाँले २१ बलको सामना गर्नेक्रममा एक छक्का र एक चौका हिर्काउनुभयो । दीपेन्द्रसिंह ऐरीले अविजित रहँदै सात रन बनाउनुभयो ।

नेपालका तर्फबाट यसै खेलमा दुवै ओपनरले पहिलोपटक ओडिआई क्रिकेटमा अर्धशतक प्रहार गर्नुभयो । दुवै ओपनरको ओडिआई करिअरको तेस्रो अर्धशतक हो । आसिफले लगातार दोस्रो अर्धशतक प्रहार गर्नुभएको हो । पहिलो विकेटका लागि आसिफ र कुशलले २३.५ ओभरमा ११४ रनको शतकीय साझेदारी भएको थियो । यो ओडिआईमा नेपालका ओपनरबाट पहिलोपटक शतकीय साझेदारीसमेत हो ।

बलिङतर्फ ओमानका फायाज बटले दुई तथा खवर अलीले एक विकेट लिनुभयो । यसअघि पहिला ब्याटिङ गरेको ओमान निर्धारित ५० ओभरको खेलमा १६३ रनमै खुम्चियो । ओमानका लागि कप्तान जिशन मक्सुदले अर्धशतकीय पारी खेल्नुभयो । उहाँले एक सय बलको सामना गर्नेक्रममा तीन चौकाको मद्दतमा ५२ रनको योगदान दिनुभयो । यस्तै सन्दीप गौडले ९१ बल खेल्दै एक छक्का र तीन चौकासहित ४७ रन बनाउनुभयो ।

बलिङतर्फ नेपालका करन केसीले पाँच, कप्तान सन्दीप लामिछानेले तीन तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिनुभयो । जितसँगै नेपाल अंकतालिकाको पाँचाँै स्थानमा उक्लिएको छ । नेपालले हालसम्म खेलेका १५ खेलमध्ये सातमा जित निकाल्दै १५ अंक जोडेको छ ।

नेपाली कप्तान सन्दीप लामिछानेले प्रतियोगिताभर नेपालकोे मुख्य बलियो पक्ष अहिलेसम्म बलिङ नै रहेको बताउँदै सबैजनाले राम्रो प्रदर्शन गरेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले टोलीमा युवा खेलाडीहरू रहेको भन्दै सबैलाई सुरक्षित भएर खेल्न सुझाव दिनुभयो । सन्दीपले अब हरेक खेल महत्वपूर्ण भएकाले सबै खेलमा जित निकाल्नुपर्ने बताउनुभयो । ‘ओमानमात्र होइन, हरेक जित महत्वपूर्ण छन् । यस यात्रामा अघि बढ्न जति धेरै अंक प्राप्त गर्छौं त्यति नै सहज हुनेछ । बलिङ बलियो पक्ष छ । ब्याटिङ सोचेअनुसार अन्त्य हुन सकेन । हरेक खेल हामी जित्छौं त्यो प्रतियोगिताभर महत्वपूर्ण छ,’ सन्दीपले भन्नुभयो, ‘ब्याटिङ ओपनरपछि एक-दुई खेल्न नपर्ने सट खेलेका थियौँ । त्यही प्रयास गर्दा पहिला रन बनेको थियो । यसमा कुनै गुनासो छैन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?