यज्ञको गीतमा थारू समुदायको पोशाक

Read Time = 5 mins

गोपिकृष्ण चापागाईं/हिटा
काठमाडौं । कलाकार सागर लम्सालले अहिलेसम्म थारू समुदायमा लगाउने पोशाक प्रयोग गर्नुभएको थिएन । धेरै देखिरहेको तर आफूले प्रयोग गर्न नपाएको सुनाउँदै आउनुभएका सागरले यसपटक त्यो इच्छा पूरा गर्नुभएको छ । नेपाली म्युजिक भिडियोको क्षेत्रमा दुई सयको हाराहारीमा म्युजिक भिडियोमा मोडलिङ गरिसक्नुभएका सागरले अहिले आएर भिन्न र आफूलाई निकै मन पर्ने भिडियो काम गर्न पाएको बताउनुभयो ।

सागरले टाउकोमा फेता बाध्नुभएको छ । काँधमा केही सामान बोकेको देखिन्छ, धोती लगाउनुभएको छ र छमछमी नाँच्नुभएको छ । साथमा सागरलाई थारू समुदायले लगाउने पोशाक लगाएरै यमुना रसालले साथ दिनुभएको छ ।

गायक यज्ञ विकको ‘बैंश दिन नमिल्ने सापटी’बोलको गीतमा सागर र यमुनाले उक्त थारू पोशाकमा नृत्य गर्नुभएको हो । भिडियो चितवनका विभिन्न ठाउँमा छायांकन गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरिएको थियो । कार्यक्रममा कलाकार सागर, यमुना, गायक यज्ञसँगै भिडियोका निर्देशक काजिश श्रेष्ठको उपस्थिति थियो । कार्यक्रममा उपस्थित सञ्चारकर्मीलाई भिडियो देखाइएको थियो भने भिडियो छायांकनको समयका अनुभव साटिएका थिए ।

‘यसपालि केही फरक गरौं भन्ने लाग्यो र मेरै सोचाइबाट थारू समुदायको पोशाक प्रयोग गरौं र चितवनमै छायांकन गरौं भन्ने सोच आयो ।’ भिडियोका निर्देशक काजिशले थारू पोशाक प्रयोग गर्नुको कारण खुलाउँदै भन्नुभयो । ‘गीतका शब्दले थारू पोशाक नै खोजेको त छैन तर भिडियोलाई मौलिक पन दिउँ र राम्रो बनाउँ भन्ने उद्देश्यले त्यसो गरिएको हो ।’

यस्तै गायक यज्ञले आफ्नो गीतको भिडियो फरक कन्सेप्टमा बनाइएको र अडियोलाई भिडियोले न्याय दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले जसरी अडियोमा मिहिनेत गरेँ, काजिश सरलगायतको टिमले भिडियोमा उत्तिकै मिहिनेत गर्नुभएको छ । त्यसैले आज राम्रो आउटपुट आएको छ । खुशी लागेको छ ।’

कार्यक्रममा भिडियोमा अभिनय गर्नुभएकी महिला मोडल यमुना रसालले पनि आफूले फरक अनुभवन गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभएको छ, ‘म यो क्षेत्रका लागि नयाँ छु । लोकप्रिय कलाकार सागर जीसँग काम गर्न पाएँ । यो क्षेत्रमा नाम चलेको टिमसँग काम गर्न पाएँ त्यसमा खुशी छु ।’ यमुनाले काठमाडौंमा डान्स सेन्टर चलाउँदै आउनुभएको छ । त्यसैले पनि आफूलाई डान्समा खासै समस्या नभएको सुनाउनुभयो ।

भिडियोका निर्देशक काजिशले चितवनको थारू समुदायमै पुगेर भिडियो छायांकन गर्दा मौलिक देखाउन सकिएको बताउनुभयो । ‘हामी थारू बस्तीभित्रै पुगेर भिडियो खिच्यौं । त्यहाँ प्रयोग भएका ठेला, हलोलगायत सामानहरू त्यहीँ खोजेका हौं,’ काजिशले भन्नुभयो, ‘गर्मी ठाउँमा सबैले उत्तिकै मिहिनेत गरिदिनुभयो र आज राम्रो भिडियो बनाउन सक्यौं ।’

गीतमा गायक यज्ञसँगै अस्मिता अधिकारीको स्वर रहेको छ भने यज्ञकै संगीत रहेको छ । नेत्र अर्यालले शब्द लेख्नुभएको छ । सुनिल परियारले संगीतको एरेञ्ज गर्नुभएको छ । भिडियो राजेश घिमिरेले खिच्नुभएको हो भने दीपक विष्टलेको सम्पादन गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?