भेडा स्रोत केन्द्र स्थापना भएपछि किसानलाई राहत

हिमालय टाइम्स
Read Time = 7 mins

-विजय रावत

जुम्ला । जुम्लाको हिमा गाउँपालिका–२ स्थित ओदी पाटनमा पशुसेवा कार्यालय जुम्लाद्वारा भेडा स्रोत केन्द्र स्थापना गरिएको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको सहयोगमा पशु अस्पताल तथा पशुसेवा कार्यालयबाट सञ्चालित भेडास्रोत केन्द्र स्थापना गरिएको पशुसेवा कार्यालय जुम्लाका प्रमुख गोविन्दबहादुर महतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सो गाउँपालिका–२ स्थित ओदी पाटनमा नमुना भेडा स्रोत केन्द्र सुरुवात गरिएको छ । एक जिल्लामा एक स्रोत केन्द्र बनाउने कर्णाली सरकारको उद्देश्यअनुसार जिल्लामा भेडापालनलाई स्तरवृद्धि उत्तम रहेकाले हिमा–२ मा स्थापना गरिएको हो ।’ भेडाका लागि चरन क्षेत्रदेखि सबै प्रकारले ठिक भएको कार्यालयको अनुदानमा लामा विष्णु भेडापालक समूह ओदीले नमुना भेडा स्रोत केन्द्र स्थापना गरेकोे कार्यालय प्रमुख महतले जानकारी दिनुभयो ।

तीन वर्षअघि पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाले स्रोत केन्द्र स्थापना गर्ने उद्देश्यअनुसार सूचना गरी हिमा–२, ओदीस्थित लामा विष्णु भेडापालक समूह कार्यक्रम छनोटमा परेको पशुसेवा कार्यालय जुम्लाले जनाएको छ । लामा विष्णु भेडापालक समूहका अध्यक्ष नन्दबहादुर रोकायाका अनुसार अहिले सो स्रोत केन्द्रमा दुईसय भेडा रहेका छन् । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको सहयोगमा दुईवटा भेडा बस्ने ठूला क्षमताका ब्लग, एक कार्यालय भवन र सात सय मिटर घेरवार कार्य सम्पन्न भइसकेको छ ।

समुद्र सतहदेखि चार हजार मिटर उचाइमा रहेको उक्त पाटनमा जिल्लाको भेडाबाख्रा स्रोत केन्द्र स्थापना गर्न गरिएको प्रदेश सरकारको उत्कृष्ट परियोजनामध्ये एक पर्दछ । पशु अस्पताल तथा पशुसेवा कार्यालयका अनुसार चन्दननाथ नगरपालिका स्रोत केन्द्रको डिपिआर आठ करोड र अन्य चालु खर्च गरी करिब ११ करोडमध्ये तीन आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले दुई करोड ८० लाख रुपैयाँ निकासा भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा एक करोड, ०७७÷०७८ मा ९० लाख र ०७८/०७९ मा ९० लाख प्रदेश सरकारबाट बजेट आएको हो ।

समूहलाई प्राप्त भएको बजेट मध्येको खर्च भए अनुसार समूहले गुणस्तर रुपमा काम गरेको कार्यालयको दाबी छ । कार्यालयका अनुसार पहिलो वर्षमा भने ५५ लाख कोरोनाका कारण समूहले काम गर्न नसकेर फ्रिज भएको कार्यालयले जनाएको छ । इञ्जिनियर धर्मराज शाहीका अनुसार डिपिआरमा तीनवटा ठूला आधुनिक भेडा बस्ने भवन, एक प्रशासनिक भवन निर्माण सम्पन्न भइसकेका छन् । सात सय मिटर वरिपरि जाली सहितको घेरबार सम्पन्न भइसकेको छ । उहाँका अनुसार समूहले पहिलो वर्ष ७० भेडा खरिद गरेको थियो । अहिले बढेर दुई सय पुगेका छन् । केही भेडा बिक्रीसमेत गरिएको छ । अन्य दुईवटा करिब पाँचसय भेडा बस्ने क्षमताका भवन, वधशाला निर्माण, खानेपानी, औषधि उपचार, समूहलाई क्षमता अभिवृद्धि तालिम जस्ता कार्यक्रमहरू रहेको इञ्जिनियर शाहीले बताउनुभयो ।

कम प्रतिशत बजेट आए पनि भएका कामहरू गुणस्तर भएको र बजेट सबै विनियोजन हुने हो भने संरचना र अन्य कामहरू चाँडै र गुणस्तरीय हुनेछन् । समूहका सल्लाहकार प्रेम रोकायाले ३० जनाको समूहले स्रोत केन्द्रमा काम गरिरहेको र डिपिआर अनुसारको बजेट आउने हो भने कर्णाली सरकारले लक्ष्य लिए अनुसारको भेडास्रोत केन्द्र स्थापना गर्न दुईमत नभएको जानकारी दिनुभयो । उहाँका अनुसार तीन आर्थिक वर्षमा खासै आउनुपर्ने बजेट कम आएको छ ।

उहाँका अनुसार हिमा गाउँपालिकाले कार्यक्रम उत्कृष्ट भएको भन्दै १० लाख रुपैयाँ विनियोजन गरेको छ । सो रकमको समेत भेडा खरिद गर्ने योजना रहेको छ । अबको केही वर्षमा करिब पाँच सय भेडा स्रोत केन्द्रमा हुनेछन् । वार्षिक पाँचदेखि १० लाख आम्दानी हुने र जिल्ला र बाहिरसमेत निर्यात हुने, दर्जन व्यक्तिको रोजगारी सृजना हुनेमा जोड दिनुभयो ।

जिल्लाकै उत्कृष्ट परियोजना भएकाले त्यहाँ लगानी गर्न प्रतिफल हुने सरोकारवालाको भनाइ छ । भेडा स्रोत केन्द्रमा प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्ला, हिमा गाउँपालिका–२ वडा कार्यालय, पशु अस्पताल तथा पशुसेवा कार्यालय र सरोकारवाला निकायले पछिल्लो समय अनुगमन गरेका छन् । उत्कृष्ट काममा लगानी गर्न सबै लाग्नुपर्ने प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्लाका प्रमुख धनप्रसाद शर्माले जानकारी दिनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?