बाँकेमा मातृ मृत्यु चिन्ताजनक, अस्पतालमै मर्दै छन् आमा

हिमालय टाइम्स
Read Time = 4 mins

शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । बाँकेमा मातृ मृत्युको अवस्था भयावह रहेको पाइएको छ । स्वास्थ्य सेवाका दृष्टिले पहुँच रहेको बाँकेमा मातृ मृत्युदर उच्च रहेको पाइएको हो । तर, बाँके जिल्लामा चालु आर्थिक वर्षको हालसम्म लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये बाँकेमा सबैभन्दा धेरै आमाको मृत्यु भएको छ । मृत्यु भएका आमामध्ये अधिकांशको अस्तालमै ज्यान जाने गरेको छ । चालु आर्थिक वर्षमा ज्यान गुमाएका ४३ प्रतिशत आमाको अस्तालमै ज्यान गएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार पछिल्ला चार वर्षमा मात्रै १२७ आमाको ज्यान गएको छ । चालु आर्थिक वर्षको हालसम्म १७ जनाले ज्यान गुमाएको कार्यालयको तथ्यांकमा उल्लेख छ । पहिलो ६ महिनामा १४ जनाले ज्यान गुमाएको बताइएको छ । गत आर्थिक वर्ष २०७७-७८ मा ४६, आर्थिक वर्ष २०७६-७७ मा ३५ जना र आर्थिक वर्ष २०७५-७६ मा २९ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य कार्यालय बाँकेले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आर्थिक वर्षको हालसम्म नेपालगञ्जकै आठजना आमाले ज्यान गुमाएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार सुत्केरी हुनुभन्दा अघि र सुत्केरी भइसकेपछि धेरै आमाले ज्यान गुमाएका छन् । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ ले पनि एउटा तथ्य उजागर गरेको थियो कि सुत्केरी भएको ४८ घण्टाभित्र धेरै आमाले ज्यान गुमाइरहेका छन् । सर्वेक्षणले ४८ प्रतिशत आमाले सुत्केरी भएको ४८ घण्टाभित्र र ३४ प्रतिशत आमाको ४८ घण्टापछि ज्यान गएको पाइएको देखाएको थियो ।

बाँकेमा गत आर्थिक वर्ष २०७७/७८ मा सुत्केरी भइसकेपछि ७२ प्रतिशत आमाले ज्यान गुमाएका थिए भने चालु आर्थिक वर्षमा ज्यान गुमाएका आमामध्ये ६२ प्रतिशतको ज्यान सुत्केरी भइसकेपछि भएको हो । बाँकीको गर्भवती अवस्थामै ज्यान गएको थियो ।
स्वास्थ्य कार्यालय बाँकेका पब्लिक हेल्थ नर्स विष्णु श्रेष्ठका अनुसार बाँकेमा कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका, जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकामा मातृ मृत्युदर बढी देखिएको छ ।

भेरी अस्पतालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. कल्पना थापाले मातृ मृत्यु घटाउन गर्भवती रहेको थाहा पाएदेखि नै नियमित स्वास्थ्य चेकजाँच गर्नु सबैभन्दा उत्तम उपाय भएको बताउनुभयो । यसका साथै अस्पतालमा स्वास्थ्य सेवाको स्तरोन्नति, नर्सको संख्या बिरामीको संख्याअनुसार सन्तुलन र विशेषज्ञ चिकित्सकको संख्या बढाउन पनि राज्यले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाह कार्यालय मातृ मृत्युदर घटाउने सम्बन्धमा गम्भीर भएर लागेको बताउनुहुन्छ । तर, सरकारले दिएको सुविधा प्रयोग गरी गर्भावस्थामा नियमित स्वास्थ्य चेकजाँच गरेर, परिवारले उचित स्याहारमा ध्यान दिएर पनि मातृ मृत्युदर घटाउन सघाउनुपर्ने उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?