‘नेकपा विभाजन र संसद् विघटन गर्नु गम्भीर गल्ती’

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेकपा विभाजन र संसद् विघटन गर्नु गम्भीर गल्ती भएको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित ‘कम्युनिष्ट आन्दोलन : संकट र अबको बाटो’ विषयक अन्तरक्रियामा उहाँले नेकपा विभाजन र संसद् विघटन गर्नु गम्भीर गल्ती भएको बताउनुभएको हो ।

नेपालको कम्युनिष्ट आन्दोलन कता जाँदै छ भनेर बुझ्न शीर्ष तीन कम्युनिष्ट नेताहरूले एक-अर्काविरुद्ध गरिरहेको गाली सुन्दा थाहा हुने भन्दै उहाँले भन्नुभयो, ‘आज युवाहरूले विद्रोहका साथ, सम्पूर्ण सचेतनाको साथ नसोच्ने हो भने हाम्रो आन्दोलन खतरामा छ । हाम्रो आन्दोलन कता लैजाँदै छन् भनेर हेर्ने हो भने तिनका (ओली, प्रचण्ड र नेपालका) गालीगलोज सुन्दा पर्याप्त हुन्छ ।’ कार्यकर्ताको योग्यता जाँच प्रणाली नै खराब रहेकाले यो झन् विकृत हुँदै गएको उहाँको जिकिर थियो । भुसालले नेपाली कम्युनिष्ट आन्दोलन विग्रहको बाटोमा गएको पनि बताउनुभयो । नेता भुसालले केपी ओली र प्रचण्डबीचको गोप्य सम्झौताका कारण जुटिसकेको कम्युनिष्ट आन्दोलन फेरि विभाजनको सिकार बनेको बताउनुभयो ।

उहाँले संगठन फरक-फरक भए पनि अहिले पनि कम्युनिष्ट नेता कार्यकर्ताबीच एकताको आवश्यकताको महसुस भएको अवस्था रहेको बताउनुभयो । ‘न विचारमा फरक छ, न कार्यदिशामा भिन्नता छ, खाली एकताको प्रयास गर्ने मान्छेहरूको खाँचो देखिरहेको छु, सीमित स्वार्थभन्दा बाहिर आउने हो भने अहिले पनि कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अवस्था छ, म त्यो सम्भावना देखिरहेको छु,’ उहाँले भन्नुभयो, ‘आज हामीले लिएको जबजको सिद्वान्तले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध हुनका लागि रोक्छ जस्तो लाग्दैन । यदि रोक्छ भने जबज कुनै सिद्वान्त हुन सक्दैन ।’

ओली-प्रचण्डको भागबण्डा नमिलेपछि नेकपा विभाजन
ओली र प्रचण्डको भागबण्डा नमिलेपछि नेकपा विभाजन भएको आरोप नेता भुसालको छ । नेकपा फुटेर मुलुकले धेरै लामो संघर्षबाट आर्जेको सपना बर्बाद भएकोसमेत उहाँको भनाइ थियो । ओली र प्रचण्डको सत्ता सहकार्यको पत्र बाहिरिएपछि पार्टी विभाजन भएको उहाँको दाबी छ ।

नेता भुसालले दुई नेताले गोप्य सम्झौता गरेर त्यसको पालना हुन नसक्दा संसद्माथि आक्रमण भएको जिकिर गनुएभयो । ‘दुईजना नेताले पालैपालो प्रधानमन्त्री र अध्यक्ष हुने भनेर गोप्य हस्ताक्षर गरे, त्यो सहमति पार्टी र कार्यकर्तालाई थाहा दिएनन् । अनि त्यो दुई वर्षसम्म गोप्य राखियो । त्यो ठाउँमा पुगेका जिम्मेवार नेताहरूले गर्ने काम त्यो हो र ? आखिर विभाजन कहाँ रहेछ त ?,’ भुसालले प्रश्न गर्दै भन्नुभयो, ‘जब त्यो पत्रबाहिर आयो, त्यसपछि त हो, विभाजन भएको । हामीले कचिंगल गर्‍यौँ, गर्‍यौँ । तर, गोप्यवाला कुरा समाधान भएन, त्यसपछि हामीले संसद् नै हान्दियौँ, अवस्था यही न हो ।’

वामपन्थी एकताका लागि पाँच बुँदे ‘रोडम्याप’
नेपालका वामपन्थी घटकहरूको एकताका लागि नेता भुसालले पाँच बुँदे प्रस्ताव प्रस्तुत गर्नुभएको छ । कम्युनिष्ट एकता अपरिहार्य रहेको भन्दै भुसालले स्थानीय तह निर्वाचनको परिणामले पनि नेपालका कम्युनिष्टहरू नै बहुमतमा रहेको प्रमाणित गरिदिएको र संसदीय चुनावमा वामपन्थीहरू मिलेर जानुपर्ने प्रस्ताव गर्नुभएको हो ।

वामपन्थी एकताका लागि भुसालले अघि सार्दै भन्नुभयो, ‘नेताहरूको गोप्य सम्झौताबाट गरिएको एकता गलत थियो भन्ने स्वीकार्ने, संसद् विघटन गल्ती थियो भनेर स्वीकार्ने, असल कम्युनिष्ट पार्टीको कार्यक्रम र सिद्धान्त बनाउँछौँ भन्ने प्रतिबद्धता व्यक्त गर्ने, तत्काल वाममोर्चा बनाउँछौँ भन्ने र माफी सप्ताह आयोजना गर्नुपर्छ ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री भागबण्डा गर्ने भनेर गरेको गोप्य सम्झौताका कारण संसद् विघटन भएको र त्यसले पार्टी विभाजन गराएको नेता भुसालको जिकिर थियो । उहाँले भन्नुभयो, ‘अर्का नेतासँग रिस उठेपछि रिस फेर्नका लागि संसद् विघटन गरियो । गौँथलीले गुँड लगायो भनेर अगुल्टाले झोस्दा घर जल्यो । अनि, मादल बजाएर कहाँ बस्छस् गौँथली अब हेरौँला भनेर नाचेको जस्तो भयो ।’

संसद् विघटन गल्ती थियो भनेर स्वीकार्दा कम्युनिष्ट पार्टीहरू फेरि मिल्ने अवस्था बन्ने उहाँले बताउनुभयो । निर्वाचनपछि महाधिवेशन गरेर कम्युनिष्ट आचरणको कार्यक्रम र सिद्धान्त बनाउने भनेर तल्काल वामपन्थी मोर्चा बनाउने घोषणा हुनुपर्ने उहाँले बताउनुभयो ।
एमाले, माओवादी र एकीकृत समाजवादीको विचार, सिद्धान्त र कार्यक्रममा कुनै फरक नभएकाले एकताबद्ध भएर जान सकिने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘यी तीन पार्टीको विचार, सिद्धान्त र कार्यक्रममा कसैले एउटा पनि भिन्नता देखाउन सक्दैन । ती पार्टीका मुख्य नेतालाई सोध्यो भने पनि भन्न सक्दैनन् ।’ नेताहरूले जनतासँग कुरा लुकाइरहेको र त्यसले बर्बादी निम्त्याएको भुसालको तर्क छ । पार्टी एकताको कुरा गर्दा एमाले अध्यक्ष ओलीको विरोधीको रूपमा चित्रित गरेको भन्दै उहाँले भन्नुभयो, ‘क्रान्तिकारी पार्टीको दिशा र कार्यक्रम मागेको हो । किचलो निम्त्याउन खोजेको होइन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?