कालोपत्रे भएन मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड

हिमालय टाइम्स
Read Time = 5 mins

-डम्मर बुढा मगर

बागलुङ पूर्व–पश्चिम मध्यपहाडी लोकमार्गको बागलुङ बजारदेखि खहरेसम्म सडक कालोपत्रे भएको छ । बागलुङ बजारको उपल्ला चौरदेखि घोडाबाँधेसम्म दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता गरिएको सडक तल्लो खण्डको खहरेसम्म र उपल्लो खण्डमा इनारपानीसम्म कालोपत्रे भइसकेको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।

उक्त खण्डमा ठेक्का सम्झौता भएको ६ वर्षपछि सडक कालोपत्रे भइरहेको छ । अहिले बागलुङ बजार खण्ड र बिहुँ खण्डमा कालोपत्रेको काम भइरहेको छ । लामो समयदेखि अलपत्र पर्दै आएको मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ जिल्लाको सदरमुकाम खण्डमा अहिले धमाधम सडक कालोपत्रे र पूर्वाधार निर्माण भइरहेको छ । सडकको अछेते आसपासमा कालोपत्रेका लागि नाली निर्माण गर्ने, पर्खाल लगाउने, ग्याबिन लगाउनेलगायतका पूर्वाधारको कामसमेत धमाधम भइरहेको छ ।

जिल्ला सदरमुकामको उपल्लाचौरदेखि घोडाबाँधेसम्मको २५ किलोमिटर सडकमध्ये घोडाबाँधे बिहुँ खण्डमा ६ किलोमिटर र उपल्लाचौरदेखि खहरेसम्म ५ किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिनुभयो । ‘उपल्लो खण्डमा त केही ढिलाइ भएको छ, तल्लो खण्डमा कामको सन्तोषजनक अवस्था छ, अहिले खहरेदेखि अछेतेसम्म असारअघि कालोपत्रे गर्ने हाम्रो योजना छ त्यहीअनुरूप बेस हाल्ने काम भइरहेको छ, उपल्लो खण्डमा सामान्य काम भइरहेको छ,’ भण्डारीले भन्नुभयो, ‘२५ किलोमिटर सडकमध्ये ११ किलोमिटर सडक कालोपत्रे भइसकेको छ,’ अब १४ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ, असारसम्म ४ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य छ ।’

भण्डारीले असारसम्म पानीले समस्या नपारे सडक सुधार हुने बताउनुभयो । उहाँले केही सडक कालोपत्रे सम्पन्न भइसक्दा यो बर्खामा यात्रुले यात्रामा केही कम सास्ती खेप्नेछन् । अहिले भइरहेको कामको प्रगति देख्दा लोकमार्ग कालोपत्रेले सार्थकता पाउने आशमा स्थानीय रहेका छन् ।

२६ वर्षदेखि सडकको धूलो खाँदै आएका जनतालाई लोकमार्गले पूर्णता पाउनेमा आशावादी छन् । लोकमार्गको टाउको दुखाइ रहेको बोक्से खाल्टोले समेत यो बर्खामा सताउने छैन । अहिले बोक्सेको पहिरोग्रस्त क्षेत्रमा ३०० मिटर क्षेत्रमा ढलान गरिएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत जिल्ला सदरमुकाम खण्डको २५ किलोमिटरबाहेक अन्य सडक यसअघि नै कालोपत्रे भइसकेको छ ।

तर, गलकोट खण्डमा अहिले कालोपत्रे सडक क्षतविक्षत भएको छ । मर्मतका लागि ठेक्का आहृवान गरिएको छ । मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ बजार उपल्लाचौर–अक्षेते–बिहुँ खण्ड र बिहुँ घोडाबाँधे सडक खण्डको २५ किलोमिटर सडक दुई खण्डमा विभाजन गरेर ठेक्का भएको थियो ।

उपल्ला चौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत/सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी/एससिएफ/इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता गरेको थियो ।

कुल एक हजार ७७६ किलोमिटर लोकमार्गको बागलुङ खण्डमा मात्रै १४२ किलोमिटर पर्छ । बागलुङ बजारदेखि घोडाबाँधेसम्मको सडक यस वर्ष पनि पूरै कालोपत्रे नहुने देखिन्छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?