आफ्नै वर्ग प्राध्यापकका कुरा

डा. शान्तिकृष्ण अधिकारी
Read Time = 15 mins

समाजमा आजभोलि दुई खाले प्राध्यापकहरू प्रशस्तै भेटिन थालेका छन् । एकथरि प्राध्यापकहरू विश्वविद्यालयको उत्थान कसरी गर्ने, कक्षाकोठालाई व्यवस्थित कसरी बनाउने, विद्यार्थीको गुणस्तर कसरी बढाउने, आफ्नो कार्यक्षमता कसरी वृद्धि गर्ने जस्ता विषयहरूमा निरन्तर घोत्लिरहेका पाइन्छन् । अर्कोतिर, अर्काखाले प्राध्यापकहरू निजी विद्यालयका मालिकलाई कसरी खुशी पार्ने, प्रकाशन गृहका मालिकहरूको आदेश बमोजिम काम गरेर त्यहाँको सेवालाई कसरी निरन्तरता दिने, नेतालाई खुशी बनाएर नियुक्ति कसरी हत्याउने, नेताकै आडभरोसा देखाएर क्याम्पसमा अनुपस्थित हुनेजस्ता काममा व्यस्त भेटिन्छन् ।

आफूले जुन पेशा अँगालिएको छ, त्यही पेशाका मित्रहरूका बारेमा लेख्न निकै कठिन कार्य हो । मित्रहरूका राम्रा पक्षका बारेमा व्याख्या गर्दा धन्यवादको पात्र बनिन्छ । सबै मित्रहरू प्रशंसा गर्न लायककै हुन्छन् भन्ने छैन र संसारका कुनै पनि पेशा व्यवसायमा सबै राम्रै राम्रा मात्र भेटिनु असम्भव नै छ । केही मित्रका व्यवहारले कलम चलाउन प्रेरित गरेका हुनाले लेख्न मन लाग्यो तर असल पक्षमात्रै लेख्दा समाज अन्योलमा रहन्छ भने खराब पक्षमात्रै उद्धृत गरियो भने प्राध्यापक वर्गमाथि नै अन्याय हुन्छ । तौलिएर लेखियो भने पनि भन्न खोजेको कुरा प्रष्ट पार्न कठिन हुन्छ ।

प्राध्यापकहरूले राष्ट्र उठाउने, समाज सुधार्ने र परिवार सपार्ने शिक्षा दिन सक्नुपर्दछ । विश्वविद्यालय र अधिकांश प्राध्यापकहरू यसका लागि सक्षम हुनुपर्दछ । प्राध्यापकहरू विश्वविद्यालयका अंशियारहरूका अभिभावक हुन् । अभिभावक सप्रिए विश्वविद्यालय माथि उठ्छ, अभिभावक नै सही मार्गमा नचल्ने हो भने परिवार छिन्नभिन्न भए जस्तै विश्वविद्यालय अस्तव्यस्त हुनपुग्दछ । यो दिशामा विश्वविद्यालयहरू अगाडि बढेकै छन् तर पनि समयको गतिसँगै अघि बढ्न नसकेको यथार्थ हाम्रा सामु छ ।

तसर्थ, विश्वविद्यालयहरू सुधार्नै पर्ने अवस्थामा पुगेका छन् र तिनलाई सुधार्न विश्वविद्यालयको अंशियारहरू नै कस्सिनु पर्दछ । विश्वविद्यालयका अंशियारहरूमध्येमा बढी जिम्मेवारी प्राध्यापकहरूको हुने भएकाले प्राध्यापकहरू नै कम्मर कसेर लाग्नै पर्दछ । कसले के भन्छ भन्ने त्रासमा होइन कि सत्य यो हो भन्ने पक्षमा उत्रिनै पर्दछ ।

प्राध्यापन भनेको विश्वविद्यालयहरूमा वा विश्वविद्यालयहरूका विद्यापीठ या क्याम्पस या महाविद्यालयमा उच्चशिक्षा प्रदान गर्ने कार्य हो । उच्चशिक्षा भन्ने बित्तिकै आफूले पढेको पढाउने या पाठ्यक्रममा तोकिएको भारमात्रै घोकेर आएर विद्यार्थीलाई जस्ताको तस्तै रटाउने कार्य निश्चय नै होइन । उच्चशिक्षा पढाउँदा देशप्रतिको जिम्मेवारी, समाजप्रतिको दायित्व, विद्यार्थीप्रतिको जवाफदेहिता, नैतिकता, इमानदारीता आदि पनि सँगसँगै पढाइने कुराहरू हुन् । यदि प्राध्यापक नै जिम्मेवार छैन, अनैतिक छ र कामचोर छ भने उसबाट राज्यले धेरै अपेक्षा गर्न सक्दैन ।

अहिलेसम्म जे जस्ता भए पनि उच्चशिक्षा लिएका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसदहरूलाई पढाएर देश चलाउन योग्य बनाउने प्राध्यापकहरू नै हुन् । कोही-कोही बाहेकका सबै नेपालकै विश्वविद्यालयहरूमा पढेका छन् र तिनमा उत्पन्न भएका असल गुणहरूको केही श्रेय प्राध्यापकमा जान्छ नै । असल किन भनेको भने कक्षा कोठमा छिरेर घुस खानुपर्दछ भनेर आजसम्म कुनै पनि प्राध्यापकले पढाएको छैन । भोलि गएर बिचौलिया बनेर देश डुबाउने काम गर वा कमिसनमा चुर्लुंम डुब भनेर कुनै पनि प्राध्यापकले सिकाएको छैन ।

डाक्टरहरूले जति फुर्ती लगाए पनि उनीहरूलाई त्यति योग्य बनाउने प्राध्यापकहरू नै हुन् भन्न कुनै संकोच मान्नु पर्ला जस्तो लाग्दैन । इञ्जिनियरहरूले जतिसुकै हेपे पनि उनीहरूलाई त्यो स्तरमा पुग्ने शिक्षा प्रदान गर्ने प्राध्यापकहरू नै हुन् । समाजका उच्चशिक्षा लिएका जति छन् ती सबैमा प्राध्यापकको कुनै न कुनै योगदान रहेको छ भन्दा अतिशयोक्ति हुन्न जस्तो लाग्दछ । यद्यपि प्राध्यापक वर्ग कुनै न कुनै कारणले हेपिने वर्गमा परेको छ । हेपाइ खानुमा धेरै प्रतिशत कारण राज्यको वा समाजको होला भने केही प्रतिशत आफ्नै या आफ्ना वर्गमा रहेका केही प्राध्यापकका कारणले हो भन्न लाज मान्नु नपर्ने भएको छ ।

आफ्ना विषयमा कमाण्ड राख्ने प्राध्यापकहरू नब्बे प्रतिशत भन्दा बढी छन् । कक्षामा निरन्तर गएर पढाउने प्राध्यापकहरू ९५ प्रतिशत भन्दा माथि नै छन् । आफैंले पिएचडी लेखेर उपाधि लिएका प्राध्यापकहरू ९९ प्रतिशतभन्दा माथि नै छन् । कक्षामा प्रवेश गरेपछि विद्यार्थीलाई सन्तुष्ट बनाएर पठाउनेहरू पनि ९० प्रतिशतभन्दा माथिकै संख्यामा छन् । अनुसन्धान र अनुसन्धानमूलक लेखहरू प्रकाशन गरेर राष्ट्र, समाज र शिक्षाक्षेत्रलाई योगदान पुर्‍याउने प्राध्यापकहरू पनि प्रशस्तै छन् तर पनि केही प्राध्यापकहरूका कारण भने समग्रलाई प्रश्न उठ्ने गरेको छ ।

हामी तरकारी पसलमा आलु किन्न जाँदा आलु राखेको बोरामा दश प्रतिशत जति कुहेको आलु देख्यौं भने त्यो बोराबाट आलु छान्न थाल्दैनौं । आँप काटेर खान थाल्दा आँपको सानो भाग मात्रै कुहिएको देख्यौँ भने पनि त्यो सिंगै आँप फालिदिन्छौं । दूधको कुँडेमा एउटा माखो देखियो भने पूरै दूध खाइँदैन । अहिले प्राध्यापक वर्गलाई परेको समस्या ठीक त्यस्तै नै हो । केही कामचोर र अयोग्यहरूमा समाजको आँखा पुग्दछ र तिनैका कारण समस्त प्राध्यापकहरूलाई मात्र होइन कि विश्वविद्यालयलाई नै औंला ठड्याउने गरिएको छ ।

समाजले कतिपय प्राध्यापकहरूलाई दिनभरि कुनै न कुनै प्रकाशन गृहको प्रुफ रिडिङ गरेर दिन बिताएको देख्दछ । त्यही प्रकाशन गृहले नै प्राध्यापकहरूलाई दुई-चार हजार दियो भने पन्ध्र दिन क्याम्पसै नपठाई काम लगाउन सकिन्छ भनेर प्रचार गर्दछ । त्यस्ता प्राध्यापकलाई विभागाध्यक्ष वा क्याम्पस प्रमुखले जरूरी कामका लागि क्याम्पसमा बोलाएमा फुर्सद छैन भन्दछन् । क्याम्पसको प्राध्यापक भएकै कारण प्रकाशन गृहले जागिर दिएको हो भन्ने कुरा बिर्सन्छन् । क्याम्पसको जागिर राजीनामा दिएर हेरून् त ती प्राध्यापकले, तिनीहरूले प्रकाशन गृहको जागिर पाउँछन् कि पाउँदैनन् ?

एकताका हेल्मेट टिचर उपाधिले केही प्राध्यापकहरूले ख्याति कमाएका थिए । ती हेल्मेट टिचरहरूले अहिले कार चढेर हिँड्न थालेकाले उपाधि त हराएको छ तर उनीहरूका कर्मले सम्पूर्ण प्राध्यापकहरूले नै बद्नामी कमाउन परेको तर्फ भने त्यति धेरै चिन्ता व्यक्त गरिएको छैन । विश्वविद्यालयले दिएको तलबलेमात्रै खान पुग्दैन भन्ने यथार्थ शत् प्रतिशत सत्य हो ।

तर, पनि अतिरिक्त जागिर खाँदा विश्वविद्यालयले तोकेको कक्षा र समयमा अन्यत्र काम गर्न नहुने नैतिकता स्वयं प्राध्यापकले नै कायम गर्नुपर्ने हो तर हुन सकेको पाइँदैन । अधिकांशले दिउँसो विश्वविद्यालयमा पढाउनुपर्ने भए अन्यत्र बिहान या बेलुका काम गर्दछन् । विश्वविद्यालयले बिहानी कक्षा तोकेमा दिउँसो अन्यत्र जान्छन् तर केही प्राध्यापक विश्वविद्यालयले तोकेको समयमै अन्यत्र जाने भएकाले समग्र प्राध्यापक वर्ग नै बिटुलिन पुगेको छ ।

खाजा खाँदा सेतो सर्टमा एक टुक्रामात्रै आलुको तरकारी झर्‍यो भने दर्शकले त्यही आलुको पहेंलो दाग देख्छ । अन्यत्रको सेतो भागमा कसैको ध्यान जाँदैन । गोरो गालामा भएको एउटा कालो कोठीमा नै सबैको नजर जान्छ । ठीक ठाउँमा त्यो कोठी छ भने मान्छेलाई सुन्दर बनाएको हुन्छ भने गलत ठाउँमा कोठी देखिए कुरूप देखिन्छ । नाकको टुप्पामा कोठी भए जस्तै । ठीक त्यस्तै जीविकाका लागि प्राध्यापकले विश्वविद्यालयबाहेक अन्यत्र काम गरे पनि समय व्यवस्थापन गरे भने उसमा रहेको विद्वत्ताले सकारात्मक प्रभाव पार्दछ भने विश्वविद्यालयप्रतिको बेवास्ताले उच्चशिक्षामै नकारात्मक असर पारिरहेको हुन्छ ।

कुनै-कुनै प्राध्यापकले कक्षामा प्रवेश गरेर पढाउनै नसक्नाले पनि विश्वविद्यालयहरूप्रति गम्भीर प्रश्न उब्जाएका छन् । पिएचडी गरेका कतिपय प्राध्यापकले आफ्नै शोधग्रन्थमा के छ भन्ने बताउन नसक्ने परिस्थिति देखियो भने विश्वविद्यालयको गुणस्तरमा समाजले कस्तो दृष्टि राख्ला ? नेपालीको प्राध्यापकले एक पृष्ठ लेख्दा आधाभन्दा बढी अशुद्धि पाइए निश्चय नै सन्तोष मान्न सकिन्न । अंग्रेजीको प्राध्यापकले अंग्रेजीमा एक पृष्ठ पनि लेख्न सकेन भन्नुपर्ने परिस्थिति आयो भने म प्राध्यापक हूँ भन्न पनि लाज मान्नुपर्दछ ।

संस्कृतका प्राध्यापकले दुई वाक्य पनि संस्कृतमा बोल्न सक्दैनन् भने मासिक तलब बुझ्न पनि गाह्रो मान्नुपर्ने हो । यस्ता प्राध्यापक त आजसम्म छैनन् भन्ने ठानिएको छ तथापि एकादुई कतै भए अध्ययन गरेर आफूलाई योग्य तुल्याउनु सिवाय उनीहरूसँग अरू कुनै विकल्प अब छाड्न नहुने भइसकेको छ ।

विश्वविद्यालय या क्याम्पसमा कक्षा भएका बेला नेताका घरदैलामा देखिने प्राध्यापकहरूले गर्दा पनि पूरै वर्गलाई नै दोष लाग्दै आएको छ । व्यक्तिगत स्वार्थका लागि विद्यार्थी उचालेर क्याम्पसमा वा विश्वविद्यालयमा तालाबन्दी गर्न लगाउने केही प्राध्यापकहरू पनि छन् भन्ने पनि सुन्नमा आउन थालेको छ । प्राध्यापकहरूका वैचारिक संघ संगठनहरू पनि विश्वविद्यालयको उत्थानमा भन्दा राजनीतिक स्वार्थमा बढी केन्द्रित हुनथाले भन्ने आरोप पनि लाग्दै आएको छ । समाजले बुद्धिजीवीहरूमध्येको उच्चकोटीमा राखेको प्राध्यापक पेशा तुलनात्मकरूपमा कम आलोचित हुनसक्नुपर्दछ तर नहुँदा चिन्ताको विषय बनेको छ ।

यो लेखमा उल्लेख गरिएका प्राध्यापकहरूका नकारात्मक कुराहरू पाँच प्रतिशत भन्दा कम प्राध्यापकका कुरा हुन् तर पनि माथि भनिए जस्तै चन्द्रमामा रहेको सानो कालो दागमा आँखा परे जस्तै समाजको आँखा त्यहीँ नै पर्दछ । ९५ प्रतिशत राम्रा प्राध्यापकहरूका बारेमा समाजको दृष्टि पर्न कठिन छ । त्यसैले अब त्यस्ता प्राध्यापकहरू आफैं सुध्रिन अनिवार्य छ, जसले उनीहरूको नैतिकतालाई बँचाओस् र समग्र प्राध्यापकहरूको छविमाथि उठाउन मद्धत पुर्‍याओस् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?