अमेरिकासँगकाे पराजयपछि कप्तान लामिछाने : कमजोरीलाई सुधारेर अघि बढ्नेछौँ

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । आईसीसी विश्वकप लिग टू त्रिकोणात्मक ओडिआई सिरिजको अन्तिम खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको छ ।

घरेलु टोली अमेरिकाले जितका लागि प्रस्तुत गरेको २४६ रनको लक्ष्य पछ्याएको नेपालले ४७.४ सबै विकेट गुमाउँदै २०६ रनमा समेटियो । नेपालका लागि आरिफ सेखले अर्धशतकीय पारी खेल्नु भयो ।

उहाँले ६३ रन बनाउनु भने सोमपाल कामी ४७ र देव खनालले ३४ रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो रन जोड्न सक्नुभएन । आरिफ ७६ बलमा ३ चौकासहित ६३ रन प्रहार गरेर क्याच आउट हुनुभयो भने सोमपाल कामी ७२ बलमा १ चौकासहित ४७ रन बनाएर रन आउट हुनुभएको थियाे ।

त्यस्तै देव खनालले ४७ बलमा २ चौका र १ छक्काको सहयोगमा ३४ रन बनाएर रन आउट हुनुभयो । नेपालका लागि अन्य ब्याट्सम्यान कुशल भुर्तेलले २९ बलमा १० रन, आसिफ सेखले १५ बलमा १८, रोहित पौडेलले १९ बलमा १६, दिपेन्द्र सिंह ऐरीले ११ बलमा ७ रन, मोहम्मद आदिल आलमले १० बलमा ४ रन, करण केसीले ३ बलमा १ रन बनाउनु भयो भने सागर ढकाल १ रनमा अविजित रहनुभयो । खेलमा कप्तान सन्दिप लामिछानेले खाता नै खोल्न सक्नु भएन ।यस्तै अमेरिकाका लागि सौरभ नेत्रभाल्कर र अलि खानले समान ३/३ विकेट लिनुभयो भने नोसतुस केन्जिगेले र निसर्ग पटेलले समान १/१ विकेट लिनुभयो । टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २४५ रन बनाएको थियो ।

अमेरिकाका लागि गजानन्द सिंह ५८ र सुशान्त मोदानीले ५४ रनको अर्धशतकीय पारी खेल्नुभयो भने आरोन जोन्स ४३ र सैटेजा मुक्कामल्लले ३६ रन बनाउनु भएको थियो ।नेपालका लागि बलिङमा करण केसीले ९ ओभर बलिङ गर्दै ६७ रन खर्चिएर ३ विकेट लिनुभयो भने कप्तान सन्दिप लामिछानेले १० ओभर बलिङ गर्दै ४३ रन खर्चिएर २ विकेट लिनु भयो । त्यस्तै सोमपाल कामीले ९ ओभरमा ५७ रन खर्चिएर १ विकेट हात पार्नुभयो भने दिपेन्द्र सिंह ऐरीले १० ओभरमा ४३ रन दिएर १ विकेट लिनुभयो ।

खेलमा पराजित भएपछि सञ्चारकर्मीहरुसँग बोल्दै कप्तान सन्दिप लामिछानेले हारेका सबै खेल जित नजिक पुगेर हारेको बताउनु भयो ।

उहाँले सबै खेल जित्ने अवसर रहँदा पनि ब्याटिङमा विकेटको नियन्त्रण गर्न नसक्दा हार्न बाध्य भएको बताउनु भयो । कप्तान लामिछानेले ब्याटिङमा साना गल्तीहरु भइरहेको भन्दै यसलाई सुधार गरेर अघि बढ्नुपर्ने बताउनु भयो ।

उहाँले आफूलाई साथ दिन अन्य स्पिनर बलरहरुले विकेट निकाल्न नसक्नु पनि थप समस्या बनेको बताउनु भयो । कप्तान लामिछानेले खेल हार्नुमा अनुभवी खेलाडीको कमी भएको र आफू पनि कप्तानमा नयाँ तथा सबै खेलाडीहरु अनुभवहीन भएकोले सिक्दै अघि बढ्नुपर्ने बताउनु भयो ।

उहाँले आफूले पनि बलिङमा सोचेजस्तो राम्रो गर्न नसकेको भन्दै अबका दिनमा कमजोरीलाई सुधारेर अघि बढ्ने बताउनु भयो । आगामी खेलमा थप चुनौती रहेको भन्दै उहाँले खेलाडीहरुलाई थप अभ्यास गराएर खेल राम्रो पस्कने बताउनु भयो ।उहाँले भन्नुभयो, ‘जितको एकदम नजिक पुगेर हारिरहेका छौँ । हामीले सबै गेम जित्नुपर्ने हो । तर लास्टमा गएर कन्ट्रोल लुच भइरहेको थियो । ब्याटिङमा साना साना समस्या आइरहेका छन् । मैले पहिला पनि भनेको थिएँ , यी सबै गेम हामीले जित्नुपर्ने थियो । तर अन्तिममा आएर चुकेका छौँ । हामीले यसलाई सुधार गर्नुपर्ने कुरा देखाएको छ । मेराबाहेक अर्को स्पिनरबाट पनि विकेट आयोभने टिमलाई सहयोग हुन्छ । हामी सबै सिक्दैछौँ । एक दुई खेलाडी बाहेक कोहीसँग पनि धेरै अनुभव छैन । म पनि नयाँ नै छु, धेरै कुराहरु सिक्नुपर्ने नै छ । मैले सोचेजस्तो राम्रो गर्न सकेको छैन । आउँदो गेममा हाम्रो लागि चुनौति हुनेछ । मैले सोचेजस्तो पर्फमेन्स यो ४ वटा गेममा आएको थिएन । त्यसले पनि टिमलाई राम्रो हुन सकेन । आउँदो गेममा म आफ्नोतर्फबाट जतिसक्दो सुधार गर्नेछु ।’अमेरिकासँगको हारसँगै नेपाल १६ खेलबाट १५ अंकसहित तालिकाको पाँचौं स्थानमा रहेको छ । ७ देश सम्मिलित समूह चरणमा ४४ अंकसहित ओमान शीर्ष स्थानमा छ । ओमानले लिग टू अन्तर्गतका सबै खेल खेलिसकेको छ ।

त्यस्तै २० खेलबाट २८ अंकसहित स्कटल्याण्ड दोस्रो, २२ खेलबाट २६ अंक जोड्दै यूएई तेस्रो, २४ खेलबाट २३ अंकसहित अमेरिका चौथो स्थानमा छ । नेपाल भन्दामुनि छैटौं स्थानमा १४ खेलबाट १४ अंक जोडेको नामिबिया र २० खेलबाट २ अंक जोडेको पपुवान्युगिनी सातौं स्थानमा छन् । नेपालले अहिलेसम्म खेलेको १६ खेलमा ७ मा जित र ८ मा हार व्यहोरेको छ भने १ खेल बराबरी खेलेको छ ।

यो सिरिज अन्तर्गत नेपाल आफ्नो पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकासँग बराबरी खेलेको थियो । त्यस्तै तेस्रो खेलमा ओमानलाई ७ विकेटले पराजित गरेको नेपालले चौथो खेलमा अमेरिकासँग ३९ रनको हार व्यहोरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?