व्यापारिका प्रतिनिधि राखेर सेटिङमा बजेट बनाइयोः अध्यक्ष ओली

Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले व्यापारिका प्रतिनिधि राखेर सेटिङमा बजेट ल्याएको आरोप लगाउनु भएको छ ।

काठमाडौंको राष्ट्रिय सभागृहमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गठबन्धन सरकारले कमिसन खाएर बजेट ल्याएको समेत जनाउनु भयो ।

‘बजेट बनाउँदा बजेट बनाउने अधिकारी राखेर होइन बाहिरका अनधिकृत मान्छे राखेर बजेट बनाइन्छ । दुनियामा यस्तो कहीँ कल्पना गरिदैन,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘बजेट अर्थमन्त्री, अर्थ सचिव, राजस्व सचिव आदिले तयार गर्छन् । तर यहाँ त अनधिकृत मान्छे ल्याएर व्यापारीसँग सेटिङ मिलाएर करको दर तोकिन्छ ।’

बजेट ल्याउनु एक दिनअघि अर्थमन्त्री जनार्दन शर्मा पौडेलले दुई जना अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा ल्याई करको दर हेरफेर गरेको कुरा सार्वजनिक भएपछि ओलीले यस्तो बताउनु भएको हो ।

अध्यक्ष ओलीले पञ्चायतको बेलामा पनि नभएको अभ्यास वर्तमान सरकारले गरेको आरोप लगाउनु भयो ।

‘यहाँ त बजेट बनाउँदै व्यापारिकका प्रतिनिधि राखेर बनाइन्छ । कमिसन खाएर बजेट बनाइन्छ भने के हालत भयो देशको,’ उहाँले भन्नुभयो ।

अर्को प्रसंगमा अध्यक्ष ओलीले गत स्थानीय तह निर्वाचनमा चुनावमात्र होइन एमालेले अधिनायकवादसँग पनि लड्नुपरेको बताउनु भयो ।

‘हामीले चुनावमात्र लडेनौँ, अधिनायकवाद, तानाशाही, दमनकारीसँग लड्नु पर्‍यो,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘उनीहरुसँग लडेर जितेर आउनुभयो । बधाई छ ।’

सत्तारुढ दलले राज्यशक्तिको दुरुपयोग गरेको, बुथ कब्जा गरेको ओलीको आरोप छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?