काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा पाँचौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता असार पहिलो साता हुने भएको छ । नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ संघले बुधबार पत्रकार सम्मेलन गरेर पाँचौँ संस्करणको राष्ट्रिय प्रतियोगिता पोखरामा असार ६ र ७ गते गर्ने जनाएको हो ।
पोखरा रंगशालामा रहेको अन्नपूर्ण स्केटपार्कमा आयोजना हुने प्रतियोगितामा २२ देखि २५ जिल्लाका १ सय पुरुष र ३० महिला खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक संघका अध्यक्ष अच्युत खनालले जानकारी गराउनुभयो ।
कोरोना महामारीका कारण प्रतियोगिता समयमा हुन सकेको थिएन । महामारीको अवस्था केही मत्थर भएसँगै आयोजकले प्रतियोगिता पोखरामा आयोजना गर्न लागेको हो । २०१५ देखि सञ्चालनमा आएको यो प्रतियोगिता तेस्रोपटक पोखरामा हुन लागेको हो । बाँकी दुई संस्करण काठमाडौंमा भएको थियो ।
प्रतियोगितामा स्ट्रिट स्केटबोर्ड र पार्क स्केटबोर्ड विधामा प्रतिस्पर्धा हुने संघका अध्यक्ष अच्युत खनालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । प्रतियोगिताका विजेतालाई थाइल्यान्डमा आयोजना हुने एसियन प्लेट च्याम्पियनसिपमा सहभागिताको अवसर दिइने आयोजकले जनाएको छ । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ हजार रुपैयाँ, उपविजेताले १० तथा तेस्रोले ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।