भ्याली पब्लिक र एन्जल्स हार्टलाई बिएनए कप

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । भ्याली पब्लिक र एन्जल्स हार्ट पाँचौँ बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । दोहोरो उपाधि जितेको भ्याली पब्लिक सिनियरतर्फ ब्वाइज/गल्र्स दुवैमा पहिलो भए । एन्जल्स हार्टले जुनियर ब्वाइजको उपाधि चुम्यो ।

वसुन्धारा नेसनल एकेडेमी (बिएनए) द्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा भ्याली पब्लिकले एचएचसिएलाई ४५-२१ ले पराजित गर्‍यो । भ्याली पब्लिकको जितमा छिरिङ लामाले १८ अंकको योगदान गर्नुभयो । दिवस भुजेलको १६ अंकको सहयोगमा ग्रिनल्यान्डले एन्जल्स हार्टलाई ४२-२६ ले हराउँदै तेस्रो भयो ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले ग्रिनल्यान्डलाई २१-९ ले पाखा लगायो । भ्याली पब्लिककी अनिता गुरुङले ९ स्कोर गर्नुभयो । एचएचसिएले बिएनएलाई २०-६ ले पन्छ्याउदै तेस्रो बन्यो । भ्याली पब्लिककी सराह घलेले १४ अंक जोड्नुभयो ।

जुनियर ब्वाइज फाइनलमा एन्जल्स हार्टले इडेन ब्रिज एकेडेमी (इबिए) लाई २३-१८ ले निराश पार्‍यो । एन्जल्स हार्टका प्रतीक कँडेलले आठ अंक जोड्नुभयो । ग्रिनल्यान्डले स्काइलार्कलाई १६-१३ ले पराजित गर्दै तेस्रो स्थानमा रहृयो । ग्रिनल्यान्डका आयुश घलेले नौ अंक बटुल्नुभयो ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकका सुनिल पौडेल, सिनियर गल्र्समा भ्याली पब्लिककी अनिता गुरुङ र जुनियर ब्वाइजमा एन्जल्स हार्टका प्रतीक कँडेल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो । सिनियर ब्वाइजमा बिएनएका सन्देश खड्का, सिनियर गल्र्समा भ्याली पब्लिककी लोरिशा गौचन र जुनियर ब्वाइजमा इबिएका एलेक्स राई प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बन्नुभयो ।

विजेतालाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङ, केन्द्रीय प्याब्सनका उपाध्यक्ष थकिनकुमार गुरुङ, टोखा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतम, बिएनएका प्रिन्सिपल टंककुमार चापागाईंलगायतले एक कार्यक्रमबीच खेलाडीहरूलाई पुरस्कृत गर्नुभयो । जेठ २४ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा २०, जुनियर ब्वाइजमा १२ र सिनियर गल्र्समा आठ टिमको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?