बजेट चुनाव केन्द्रित नरहेको गण्डकीको दाबी

Read Time = 3 mins

पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बजेट चुनाव केन्द्रित नरहेको दाबी गर्नुभएको छ । बुधबार आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्नुभएका बरालले बिहीबार पत्रकार सम्मलेन गर्दै यस्तो दाबी गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘बजेट चुनाव केन्द्रित छैन । कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, रोजगारी र पूर्वाधारका विषयलाई जोड दिँदै बजेट विनियोजन गरिएको छ ।’

अर्थमन्त्री बरालले गण्डकी सरकारको चालु आवको नीति तथा कार्यक्रमलाई मुख्य आधार बनाएर बजेट विनियोजन गरिएको भन्दै प्रदेशलाई समृद्धितर्फ अघि बढाउन नयाँ कार्यक्रम थपिएको बताउनुभयो । उहाँले प्रदेशमन्त्री र सांसद टुक्रे योजनामा भुल्दा नगरपालिका, गाउँपालिका र वडाले गर्ने काममा बाधा भएकाले त्यस्ता कार्यक्रम हटाइएको बताउनुभयो । मन्त्री बरालले भन्नुभयो, ‘प्रदेश सरकारले सांसदलाई चुनाव लक्षित भन्दै पाँच करोड बाँडेको भन्ने कुरा निराधार छ, हामीले सांसदलाई तपाईंको क्षेत्रमा अति आवश्यक पर्ने योजना ल्याउनुहोस् मात्र भनेका छौँ । यो पैसा नै बाँडेको भन्ने कुरा सरासर गलत छ ।’

त्यसो त गण्डकीका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यले पहिले नै पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारले योजनाहरू झ्यालबाट छिराएको आरोप लगाउनुभएको थियो । तर, अर्थमन्त्री बरालले आफूले अहिलेसम्म झ्यालबाट नभई ढोकाबाट नै योजना पाएको जिकिर गर्नुभएको छ ।

मन्त्री बरालले निर्माण क्षेत्रमा गण्डकी सरकारले १० लाखभन्दा कमका योजना नल्याउने बताउनुभयो । एक निर्वाचन, क्षेत्र एक सडक, रणनीतिक महत्वका सडक, स्थानीय तहको प्रशासनिक केन्द्र जोड्ने सडक, विभिन्न प्रादेशिक सडक, सडक पुल र झोलुंगे पुललगायतका पूर्वाधार निर्माणका कार्यक्रमलाई निरन्तरता दिइने भन्दै काल्पनिकतामा रमाएर आम्दानी विश्लेषण नै नगरी महत्वाकांक्षी कार्यक्रमलाई बजेटमा समावेश नगरिएको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?