काठमाडौं । नेपालस्थित थाइल्यान्डका राजदूत र नेपाल हस्तकला महासंघका पदाधिकारीबीच भेटवार्ता भएको छ । नेपाल र थाइल्यान्डबीच विभिन्न हस्तकलासम्बन्धी कला शिल्प तथा प्रविधि आदानप्रदान गर्न थाइल्यान्डका राजदूत भोसिता भोरासाफ र महासंघको पदाधिकारीबीच छलफल भएको हो ।
सो अवसरमा महासंघका अध्यक्ष प्रचण्ड शाक्यले बैंककमा हरेक वर्ष आयोजना हुने जेम एन्ड ज्वेलरीलगायतका हस्तकला व्यापार मेलामा महासंघका हस्तकला उद्यमी व्यवसायीलाई पनि सहभागी गराउन आग्रह गर्दै सहभागिताबाट हस्तकला व्यवसायी र हस्तकलाकर्मीलाई थाइल्यान्ड र नेपालबीच कला, शिल्प तथा प्रविधि अध्ययन अवलोकन गर्न अवसर प्राप्त हुने बताउनुभयो ।
साथै उहाँले बैंककमा नेपालमा उत्पादित वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा पहिचान गराउन नेपाल एकदेशीय मेला आयोजनामा जोड दिँदै नेपाली हस्तकला उद्यमी, व्यवसायी र कलाकारले आयातकर्ताको चाहनाअनुरूप वस्तु डिजाइन र रङ संयोजनबारेमा तथा विदेशी क्रेता बिक्रेताबीच एक आपसमा व्यापारिक अनुभव, सीप, प्रविधि र डिजाइन आदानप्रदान गर्नसमेत मेला सहयोगी हुने बताउनुभयो ।
अध्यक्ष शाक्यले थाइल्यान्डको च्याङमाई विश्वविद्यालयको अनुरोधमा सातदिने धातुपत्र कला र मूर्तिको तालमान सम्बन्धमा आफूले दिएको प्रशिक्षणको स्मरण गर्दै कला आदानप्रदान कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिनुपर्नेमा पनि राजदूतको ध्यानाकर्षण गराउनुभयो ।
महासंघका वाणिज्य क्षेत्रका उपाध्यक्ष दिल्लीरत्न तुलाधरले थाइल्यान्डमा नेपाली हस्तकलाको बजार प्रवद्र्धनका लागि थाइल्यान्ड सरकारले नेपाली वस्तु निर्यातमा लगाएको भन्सार महसुलसम्बन्धी र थाइल्यान्ड सरकारबाट नेपाली सम्पदा निर्माण गर्न सहयोगका लागि आग्रह गर्नुभएको महासंघले जनाएको छ । राजदूतले थाइल्यान्ड सरकारले नेपाली हस्तकला वस्तुमा लगाएको भन्सार महसुलसम्बन्धमा थाइल्यान्ड सरकारसँग कुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको पनि महासंघले जनाएको छ ।
सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष सनम शाक्यलगायतका अन्य पदाधिकारीको पनि उपस्थिति रहेको थियो । भेटवार्तापछि राजदूतले ललितपुरको कनिबहाल र ओकुबहालका स्थानीय कलाकार तथा कालिगढको कार्यशालामा धातु पाता एवं मैनबाट गरिने धातुकला ढलाइसम्बन्धी जीवन्त कार्यको अवलोकन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच