ध्रुवसागर शर्मा/हिटा
म्याग्दी । पाँच वर्ष अघिसम्म बिरामी पर्दा अप्ठ्यारो बाटोमा स्ट्रेचरमा बोकिएर उपचारका लागि दरबाङ हुँदै सदरमुकाम बेनी, पोखरा तथा काठमाडौं जानुपर्ने पश्चिम म्याग्दीको मालिका-२ रुम गाउँका बिरामीहरू अहिले गाउँको स्वास्थ्य चौकीमा उपचार हुन नसक्ने रोगका लागि एम्बुलेन्स वा गाडीमा बसेर सहरका सुविधा सम्पन्न अस्पतालमा जान पाएका छन् ।
रुमवासीका दुःख र पीडाहरूमा पछिल्ला पाँच वर्षको अवधिमा मलहम लागेको छ । गाउँमा सडक पुगेको छ । यो पाँच वर्षको अवधिमा रुमका सबै बस्तीमा सडक, शिक्षा, स्वास्थ्य र खानेपानीमा पहुँच विस्तार भएको छ । स्थानीय सरकार, प्रदेश र संघ सरकारबाट बजेट भित्रिन थालेपछि गाउँको विकासको ढोका खुलेको छ ।
गाउँमा पुग्न दरबाङदेखि मुख्य सडकसँगै अभिारादेखि अरू सातवटा सडक खुलेका छन् । पाँच वर्ष पहिला गाउँमा सडक पुगेको थिएन । गाडी भेट्न पैदल हिँडेर दरबाङ बजार झर्नुपथ्र्यो । दैनिक उपभोग्य वस्तु लगायतका सामग्री खच्चडलाई बोकाएर गाउँमा ल्याउनुपथ्र्यो । बिरामीलाई अस्पताल लग्न स्ट्रेचरमा राखेर घण्टौँसम्म पैदल हिँड्नुपर्ने बाध्यता थियो ।
पाँच वर्षअघि म्याग्दीको मालिका गाउँपालिका-२ रुम गाउँका स्थानीयवासीका दुःख, पीडा भए पनि संघीयता कार्यान्वयन भएसँगै स्थानीय तहमा जनप्रतिनिधिहरू आएपछि दुर्गम रुम गाउँको मुहार फेरिएको छ ।
घर आँगनबाटै रुमवासीहरू मोटर चढेर पालिका केन्द्र दरबाङ र बेनीसम्म पुग्ने सुविधा पाएका छन् । घरघरमा खानेपानीको सुविधा पुग्यो । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै यो पाँच वर्षको अवधिमा रुमका सबै बस्तीमा सडक पुगेको पूर्ववडा अध्यक्ष नरबहादुर पुनले बताउनुभयो । पहिला गाउँमा विकास बजेट नै न्यून आउँथ्यो उहाँले भन्नुभयो, ‘स्थानीय सरकार बनेपछि गाउँको विकासका लागि करोडौँ रकम भित्रिन थाल्यो । गाउँपालिकाका साथै संघ र प्रदेशबाट सडक, शिक्षा र स्वास्थ्य लगायतका पूर्वाधारका क्षेत्रमा राम्रो बजेट आएपछि गाउँमा परिवर्तन आयो ।’
पाँच वर्षे अवधिमा अधिभरादेखि रुम गाउँ आउने मुख्य सडकका साथै आठवटा अन्य सडकहरू निर्माण भएको उहाँले बताउनुभयो । गाउँका सबै बस्तीमा सडक पहुँच विस्तार भएको छ । पूर्ववडा अध्यक्ष पुनले भन्नुभयो, ‘पहाड कमजोर भूगोल भएकाले बाह्रै महिना सडक सञ्चालन गर्न चुनौती छ ।’ सडक स्तरोन्नति र सडक पुलको व्यवस्था मिलाउन सके रुम गाउँमा बाह्रै महिना यातायात सञ्चालन गर्न सहज हुने उहाँको भनाइ थियो ।
विद्यालयको भौतिक पूर्वाधारका क्षेत्रमा पनि पाँच वर्षको अवधिमा राम्रो विकास भएको उहाँले सुनाउनुभयो । विद्यालयमा भवन निर्माण, फर्निचरको व्यवस्थापन, खेलमैदान निर्माण, घेराबार तथा शौचालय निर्माण भएका छन् । पाँच वर्षको अवधिमा विभिन्न स्थानमा गरेर पाँचवटा झोलुंगे पुलहरू निर्माण भएका छन् । जसले स्थानीयवासीलाई आवतजावतमा सहजता मिलेको छ । संघीयता कार्यान्वयनसँगै स्थानीय तहमा जनप्रतिनिधिहरू आएपछि रुम गाउँमा विकास भित्रिन थालेको स्थानीय युवा तारा रोकाले बताउनुभयो । गाउँमा सडक पुगेपछि दैनिक उपभोग्यवस्तु ढुवानी मूल्य आधाले घटेकाले सुलभ दरमा गाउँमै दैनिक उपभोग्यवस्तु पाउन थालेको उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच