व्यापारीका प्रतिनिधि राखेर, कमिसन खाएर बजेट बनाइयो : ओली

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले करका दर तय गर्ने क्रममा व्यापारीसँग मिलेको र कमिसन खाएको आरोप लगाउनुभएको छ । पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि काठमाडौंमा आयोजना गरिएको प्रशिक्षण र अभिमुखीकरण कार्यक्रममा उनले करका दर तोक्ने क्रममा कमिसनको खेल र व्यापारीसँग साँठगाँठ गरिएको आरोप लगाउनुभएको हो ।

करका दर तय गर्ने काम गोप्य हुने उल्लेख गर्दै ओलीले वर्तमान सरकार र अर्थमन्त्री जनार्दन शर्माले त्यो गोपनीयता कायम गर्न नसकेको आरोप लगाउनुभयो । ‘व्यापारीसँग मिलेर करका दर तोकिन्छ । कमिसन खाएर करका दर तोकिन्छ । यस्तो त कुनै राज्य, कुनै प्रणालीमा पनि कल्पना गर्न सकिँदैन,’ उहाँले भन्नुभयो, ’यो पञ्चायत कालमा पनि हुँदैनथ्यो । कहीँ पनि हुँदैन ।’

बजेट संसद्मा प्रस्तुत गर्नुभन्दा पहिला मन्त्रिपरिषद्मा ब्रिफिङ गरिने र त्यहाँ पनि करका दर नभई बजेटको समग्र ब्रिफिङ गरिने प्रचलन रहेको ओलीको भनाइ थियो । त्यहाँ रहेका मन्त्रीले करका दर र बजेटबारे सूचना चुहाउलान् भनेर प्रधानमन्त्रीसँगै संसद् जाने प्रचलन रहेको उहाँले बताउनुभयो । ‘यो गोप्य छ, कतै खुल्दैन भनेर संसद्मा मात्रै बजेटको ब्रिफकेस खोलिन्छ है भनेर त्यसरी रिबनले बाँधेर, गोप्य बनाएर लगेर अर्थमन्त्रीले प्रस्तुत गर्नुहुन्छ भनेपछि रोष्ट्रममा गएर मात्रै खोलिन्छ । बजेट प्रस्तुत गरिन्छ,’ उहाँले भन्नुभयो, ‘यहाँ त बनाउँदै गर्दा व्यापारीका प्रतिनिधि राखेर बनाइन्छ । बनाउनु पहिला कमिसन खाएर बनाइन्छ भने के हालत भयो देशको ।’ राज्यमा यस्तो अवस्था रहेको बेला जितेर आएको भन्दै ओलीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिनुभएको थियो । अध्यक्ष ओलीले विगत डेढ वर्षदेखि एमालेमाथि प्रतिक्रियावादीहरू एकजुट भएर निरन्तर आक्रमण गरिरहेको बताउनुभयो ।

‘गएको डेढ दुई वर्षदेखि हामी चरम ढंगले ती जनविरोधी, देशविरोधी र स्थिरता विरोधीसँग जुध्नु परिरहेको छ । हामीलाई पार्टीभित्रैका शक्तिहरूबाट संकट पैदा गरियो,’ उहाँले भन्नुभयो, ‘नेकपा एमालेलाई सिध्याउन खोजिएको यो अवस्थामा तपार्इंहरू जितेर आउनुभएको छ, तपाईंहरू महासंग्राम जितेर आउनुभएको छ, यो भनेको जीवनमरणको लडाइँ थियो । हाम्रो अस्तित्व मेटाउन खोजिएको थियो, तर आज पनि हामी देशको प्रमुख राजनीतिक शक्ति हौँ । एमालेबाहेक अरूसँग राष्ट्र निर्माणको सम्बन्धमा कुनै भिजन नै छैन । सामाजिक परिवर्तन, रूपान्तरण र विकासको कुनै योजना छैन, नीति छैन । आज सिध्याइन्छ भनेको एमाले एक्लै एकातिर, अरू सबै अर्कोतिर भएका छन् ।’ अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा राज्यशक्तिको चरम दुरुपयोग भएको आरोप लागउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?