फोहोर त मोहोर हो नि !

Read Time = 18 mins

✍️ शम्भु कोइराला
नमागिएको सल्लाह :
गएको केही महिना राजधानी शहर काठमाडौं नै डम्पिङ साइट जस्तो देखियो । यत्र तत्र सर्वत्र फोहोर नै फोहोर । यसरी फोहोर हुनुको कारण थियो-फोहोर बिसर्जन स्थलको अभाव अथवा डम्पिङ साइट नहुनु, भइरहेको स्थान डम्पिङ साइटमा विसर्जन गर्न स्थानीयको अवरोध हुनु । अवरोधको कारण थियो-त्यहाँका स्थानीय जनताका विभिन्न मागको सम्बोधन नहुनु । यो सम्बोधन गर्नुपर्ने निकाय भनेका नेपाल सरकार र उपत्यकाका विभिन्न पालिका हुन् । यसमा रातदिन नभनेर अग्रसरता लिने र सरोकारवाला निकायलाई झक्झक्याउने काम चाहिँ पालिकाहरूको हो । त्यसमा पनि काठमाडौं महानगरपालिकाको हो तर यसमा महानगरपालिका चुक्यो ।

केपी ओली नेतृत्वको यसभन्दा अगाडिको सरकार लगभग दुई तिहाइ समर्थनसहितको इतिहासमै बिरलै पाइने बलियो सरकार थियो । काठमाडौं महानगरपालिकामा एमाले पार्टीका पहिलो नामका अगाडि विद्या र सुन्दर जोडिएका शाक्य थरका मेयर थिए । त्यो पनि प्रधानमन्त्री ओली नजिकका । प्रधानमन्त्री पनि यति शक्तिशाली कि कार्यकर्ताहरू बोल्नै डराउने । उहाँलाई कसैले केही कुरा बयान नै नगर्नु पर्ने, सर्वज्ञ । यस्ता सर्वज्ञ शक्तिशाली प्रधानमन्त्री र शाक्य थरका मेयर हुँदा पनि राजधानीले स्थायी र भरपर्दो डम्पिङ साइटको सुविधा पाउन सकेन ।

ओलीपछि देउवा नेतृत्वको सरकारको कामको त के कुरा गर्नु, सरकार टिकाउनु नै उसको मुख्य काम हो । सरकारमा आँच आउन लाग्यो, पार्टीतिरको कुर्सीमा जोखिम बढ्यो । कर्ण मल्लहरूले डडेलधुरातिर चुनाव जित्न जोखिम हुनेगरी चलखेल गरे भने चलायमान हुन्छ अन्यथा उसको कछुवा गतिमा कुनै परिवर्तनको गुञ्जायस नै रहँदैन । फोहोर मैला व्यवस्थापन त प्राथमिकतामा पर्ने कुरै भएन ।

काठमाडौंको मेयरमा बालेनले जितेपछि जस लिने होडमा सरेकारवाला सबैले केही अभिनयसम्म गरेको हो । तर, त्यस समस्या समाधानको मनशायले होइन भन्ने कुरा त फोहोरको वैज्ञानिक व्यवस्थापनका लागि निरन्तर छलफल बहस र काम नहुनुले नै स्पष्ट पारिसकेको छ ।
किसानले मल पाउने बेलामा मल नपाउँने त सधैंको रोग नै भइसकेको छ । सरकार समयमा मल दिनेभन्दा मल दिन नसकेका कारण सुनाउनमा व्यस्त छ । किसानलाई चाहिएको त बाहना होइन मल हो । तर, जैविक मलको गतिलो स्रोत शहरी फोहोर व्यवस्थापन गरेर मल उत्पादन गर्ने ढंग नपुग्दा किसानले हरेक वर्ष मल किन्न पाएका छैनन् भने त्यो फोहोरको कारण अन्तर्राष्ट्रिय जगतमा नेपालको बेइज्जत भइरहेको छ । तर, सत्ता यो बेइज्जतीमै गर्व गरे जसरी आनन्दित भएर बसेको छ ।

मोहोर कसरी ?
स्रोतमै फोहोर छुट्याएर बिसर्जन गर्ने तरिका सबैजसो स्थानमा प्रचलित छ । यसरी छुट्याइएको फोहोरलाई मुख्यः कुहिने र नकुहिनेमा वर्गीकरण गरेर यस्लाई मोहोर कमाउने उपाय बनाउन सकिन्छ । हामीभन्दा विकसित देशहरूमा हाम्रोभन्दा बढी फोहोर उत्पादन हुन्छ तर बिरलै हाम्रोमा जस्तो छताछुल्ल फोहोर देखिन्छ । यसको कारण भनेको फोहोरलाई वर्गीकरण गरेर बचेको थोरैमात्र फोहोर डम्पिङ साइटमा विसर्जन गर्ने हो ।

कुहिने फोहोरको प्रांगारिक मल बनाउन सकिन्छ । यसरी तयार भएको मल बिक्री गर्न सकिन्छ भने इच्छुकलाई ठाउँठाउँमा लगेर निःशुल्क पनि दिन सकिन्छ । खेर गइरहेको मलले उत्पादनमा वृद्धि गर्छ भने मलका लागि विदेशिने अर्बौं रकम बराबरको विदेशी मुद्रा वचत हुन्छ । यसले भुक्तानी सन्तुलन अनुकूल बनाउन र व्यापारघाटा कम गर्नमा समेत उल्लेखनीय भूमिका खेल्न सक्दछ ।

प्लाष्टिक, धातुका टुक्रा, अण्डाका क्यारेट, खाली बोतल, पुराना सिसी, पुराना ब्याट्री, कार्टुनलगायत सामग्री बिक्री गर्न सकिन्छ भने कतिपय सामान रिसाइकल पनि गर्न सकिन्छ । बाँकी रहेका सामग्रीलाई डम्पिङ साइटमा वैज्ञानिक तरिका अपनाएर बिसर्जन गर्न सकिन्छ । चाँडै नष्ट नहुने, वातावरणलाई प्रदूषित गर्ने सबैभन्दा खतरनाक फोहोर प्लाष्टिक हो । यसलाई प्लाष्टिक पेल्न ल्याएबापत रकम उपलब्ध गराएर मेसिनमार्फत पेल्न प्रयोगकर्तालाइ प्रेरित गर्न सकिन्छ । यसो गर्न सके आय आर्जनसहित प्लाष्टिक व्यवस्थापन हुने र वातावरणीय प्रदूषण पनि कम हुने देखिन्छ ।

समस्या कहाँ छ ?
काठमाडौं उपत्यकामा उत्पादन हुने करिब १२ सय टन फोहोरमध्ये आधाजसो फोहोर जैविक हो । जैविक फोहोरबाट बिजुली निकाल्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले डाइजेष्ट प्लान्ट ल्याएको वर्षौं भइसकेको छ । युरोपेली युनियनको असी प्रतिशत अनुदानमा दुई करोड खर्च गरेर ल्याएको प्लान्ट अहिले महानगरलाई घाँडो भएको छ ।

टेकुस्थित फोहोर संकलन केन्द्रमा रहेको प्लान्टबाट खाना पकाउने ग्यास तथा १४ किलोबाट बिजुली उत्पादन गर्न सकिन्छ । दैनिक चार जना कर्मचारी विनाकाम प्लान्टको हेरचाहका नाममा बसिरहेका छन् । चलाउन नसकिने अवस्था थियो भने किन खरिद गरेको ? खरिद गरिसकेपछि घाँडोको रूपमा प्रयोगविहीन बनाएर किन राखेको ? प्रश्न गर्ने पर्याप्त ठाउँ छ । प्रश्नमात्र होइन नियत नै खराब देखिन्छ ।

खरिदका बखत कमिसन, वैदेशिक भ्रमणलगायतको लोभमा सहयोग स्वीकार गर्ने, खरिद पनि गर्ने अनि प्रविधि आइसकेपछि सानातिना समस्या समाधान गर्न नसकेर घाँडो बनाएर राख्ने गलत काम भइरहेको छ । यसो भनौं-नेपालमा काम गर्ने होइन, काम नगरेको बाहना पेश गर्ने प्रचलन नै भइसकेको छ । डाइजेष्ट प्लान्ट पनि यस्तै बाहनाको शिकार भइरहेको छ । नवनिर्वाचित मेयर बालेनले दुई तीन लाख खर्चिएर मर्मत गर्न सकिने बताएपछि आशाको सञ्चार भएको छ ।

अब के गर्ने ?
१) सोतमै फोहोर छुट्याउने विषयमा माथि चर्चा गरिसकिएको छ । यसलाई कठोरतापूर्वक कार्यान्वयन गरिनुपर्दछ । घरबाटै छुट्याएर ल्याइएन भने गरिने दण्डात्मक प्रावधानको बारेमा सबैलाई जानकारी गराइनुपर्दछ । फोहोर लाने सवारीसाधन नआउँदै सार्वजनिक स्थानमा बिसर्जन गर्नेलाई कारबाही गर्न सकिएन भने कानुनको अवज्ञा गर्न बानी परेका जनताले पनि सार्वजनिक स्थानमा फालिदिने सम्भावना छँदैछ ।

नेपालमा नेततृत्वमात्र गैरजिम्मेवार भएको होइन, जनता पनि अनुशासनमा बस्ने विषयलाई कडाइका साथ पालना गर्न अभ्यस्त भइसकेको अवस्था छैन । जस्ता नेता उस्तै जनता भएको अवस्था छ । यसमा सुधार जरुरी छ ।

२) प्लाष्टिक व्यवस्थापन हरेक दिन चुनौतीपूर्ण बन्दैछ । प्लाष्टिकको नष्ट नहुने स्वभावका कारण समस्त वायुमण्डललाई प्रदूषित गराउन यसले भूमिका खेलिरहेको हुन्छ । विदेशको अनुभव समेतलाई आधार मानेर यसको व्यवस्थापन गरिनुपर्दछ । पूर्ण प्रतिबन्ध लगाउन नसकेता पनि प्लाष्टिकका सामग्री जम्मा गरेर राखे तुरुन्त नगद पाउने परिस्थिति बनाएमा प्लाष्टिकबाट हुने प्रदूषणलाई कम गर्न सकिने अवस्थातर्फ नगरवासी अभ्यस्त बन्न सक्ने थिए ।

३) बन्चरे डाँडा साइटका बासिन्दाका माग इामानदारीतापूर्वक पूरा गर्ने काममा खेलाची गर्नु हुँदैन । राज्यले गरेको प्रतिबद्धता पूरा गरिनु पर्दछ । त्यहाँका बासिन्दाको जनस्वास्थ्यमा पर्न सक्ने नकारात्मक प्रभावको बारेमा गम्भीर भई कामहरू गरिनुपर्दछ ।

त्यसैगरी, डम्पिङ साइट क्षेत्रका बासिन्दाले पनि पटक-पटक माग थप्दै जाने, अरूको बहकाउमा आएर व्यक्तिगत मागसमेत पेश गर्ने काम भएमा उनीहरूको सौदाबाजी गर्ने क्षमता कमजोर बन्नेछ । कमजोर नैतिक पक्ष भएको व्यक्ति वा समूहले त्यस क्षेत्रका लागि लाभ हुने काम गर्न सक्दैन । यसो भयो भने त्यस क्षेत्रका सर्वसाधारण जनता ठूलो मर्कामा पर्नेछन् । प्रलोभन, उक्साहट वा कुनै पनि कारणबाट फोहोर फाल्ने काममा अवरोध भएमा कानुनबमोजिम कारबाही गर्ने कुरामा राज्य र राज्यका निकायपछि पर्नु हुँदैन ।

४) फोहोरमा राजनीति गर्नेलाई नंग्याउन सकिएन भने यिनले हाम्रो समाजलाई सताउँने काम गरिरहन्छन् । प्रदेशतिरको एकजना मन्त्रीले आफ्नो क्षेत्र नुवाकोट, धादिङमा फोहोर फाल्न नदिने बताएर फोहोरमाथिको फोहोरी राजनीति गर्न सुरु गरिसके । कामनपाका केही वडाध्यक्षलाई उकासेर नयाँ मेयरलाई असफल बनाउने खेल पनि सुरु भइसकेको थियो । त्यसलाई मेयर बालेनले शालीनतापूर्वक निस्तेज बनाइसके । सामाजिक सञ्जालमा केही मानिस मेयर बालेनलाई असफल नबनाए आफ्नो गलत धन्दा नफष्टाउने बुझेर लागि परिसकेका छन् ।

राज्यका सबै निकाय भ्रष्टीकरण भइसकेको अवस्थामा स्वार्थी र भ्रष्ट गिरोह, काममा मात्र ध्यान केन्द्रित गरेका बालेनलाई असफल बनाउन धोतीपाटा फेरेर लागिसकेको छ । धुलो तान्ने सामान्य पाइपले काम नगरेर कवाडी बनाउन लागेका यान्त्रिक कुचो सञ्चालन गराउन लगाएर कामचोर तत्वलाई निस्तेज पार्न नयाँ मेयरले सुरु गरिसकेका छन् । हरेक दिन फोहोरमाथि राजनीति गर्ने र हरेक कुरामा कमिसन र घोटालामात्र गरेर हालिमुहाली गरिरहेको तत्वसँग संघर्ष गरेर परिणाममुखी काम गर्न बालेनका लागि सहज त छैन । तर, उनको इच्छाशक्ति, जाँगर र प्राविधिक ज्ञानको कारण असम्भव छैन ।

५) पालिकाको नयाँ नेतृत्वलाई नगरबासीले सहयोग गर्ने काम पनि महत्व राख्ने काम हो । सबै संयन्त्र भ्रष्ट, निष्प्रभावी र पत्रु भएको अवस्थामा कुनै पनि पदाधिकारीबाट चमत्कारको अपेक्षा नगरौं । धेरै निराश पनि नबनौं । काम गर्नका लागि सबैभन्दा महत्वपूर्ण कुरा इच्छाशक्ति हो । त्यो भयो भने अरू विषय सहायकमात्र हुन् । काठमाडौं महानगरका नवनियुक्त मेयरमा गरौं भन्ने इच्छाशक्ति भएको कारण केही काम पक्कै हुनेछन् । त्यसका लक्षण देखिसकिएका छन् । नयाँ पदाधिकारीलाई सफल बनाउन नागरिकको ठूलो भूमिका छ ।

नागरिकहरूले कुनै चटकीले चटक गरेजस्तो कल्पना नगरी रचनात्मक सहयोग गरेको अवस्थामा निःसन्देह परिणाम राम्रो आउनेछ ।
मानिसको भिडभाड नबढ्दै मेयर स्वयंले शहरको झलक लिनु राम्रो हुन्छ । सानो कुराले ढल जाम भइरहेको हुन्छ । सानो खाल्डोको कारण ट्राफिक जाम भइरहेको हुन्छ । काम अति सानो नगरवासीलाई सास्ती धेरै । दैनिक अवलोकन र अनुगमन गरेको खण्डमा नगरका सानासाना समस्या र अवस्थाबारे मेयर स्वयं जानकार हुन्छन् । यसको ओठे जवाफ पनि फर्काउन सकिन्छ जस्तै : मेयर आफैंले गरेर साध्य हुँदैन, प्रणाली र पद्धतिले गर्ने हो । प्रणाली र पद्धतिले गरेको भए मेयर बालेन नै चाहिने थिएन । ती सबै कामयाव नभएका कारण नै नयाँ तरिका चाहिएको हो ।

फोहोरको कुरा गर्दा पशुपति गौशाला ओरालो क्षेत्रमा ढल सामान्य सफाइ नगरेको कारण पानी बगेको समयमा सडकभरि गोबर बगेको हुन्छ । कालोपुल क्षेत्रमा सामान्य नाला सफाइ नभएका कारण ढलान बाटो भत्किरहेको हुन्छ । बाटाभरि फोहोर छताछुल्ल भएको हुन्छ । शहरभरि यस्ता समस्या छन् । देख्दा सानातिना लाग्ने तर जनतालाई धेरै असुविधा दिने यस्ता विषय छन्, जसको सम्बोधन केही सय र केही हजार रुपैयाँमात्र खर्च गरेर गर्न सकिन्छ । जसका कारण शहरको फोहोर मैला व्यवस्थापन सहज बन्न जान्छ ।

सारांशमा, आफ्नो फोहोर आफ्नै ठाउँमा व्यवस्थापन गर भन्ने प्रदेशतिरका मन्त्री जस्ता नेताहरू फोहोरमाथि राजनीति गर्ने नेपालको फोहोरी राजनीतिका बिम्ब हुन् । दुनियाँका सबैजसो स्थानमा शहरबाट टाढाको क्षेत्रमा फोहोर व्यवस्थापन गरिएको हुन्छ । कसैलाई असुविधा नहुने गरी ढंग पु¥याएर गरिएको हुन्छ । देशकै बेइज्जत हुँदा पनि दीर्घकालीन फोहोर व्यवस्थापनमा चासो नराख्ने ठूला भनिएका नेताहरूलाई देशले धान्नै नसक्ने बोझको रूपमा व्यहोर्न नेपाली जनता बाध्य छन् ।

पुस्तान्तरण नभएसम्म यसको समाधान हुने लक्षण देखिँदैन । पुस्तान्तरणको बिम्ब मेयर बालेन भएका छन् । फोहोरमा मोहोर फल्ने तरिका बुझेका छन् । इच्छाशक्ति छ जाँगर छ, ज्ञान छ, त्यसैले कामना गरौं यिनले शहरी फोहोरलाई मोहोर बनाउनेछन् । त्यसैले, सबैले कुरा बुझौं-फोहोर त मोहोर हो नि ¤ केवल सबैको इमानदार प्रयासको खाँचो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
राशिफल २३ जेठ, मेष : समूहगत कार्यमा सफलता मिल्ने, कन्या : दैनिक… कहिले भित्रिएला नेपालमा मनसुन ? १६ औं राष्ट्रपति रनिङ शिल्डमा वागमती च्याम्पियन आठ विश्वविद्यालयका उपकुलपति छनोटकाे सर्ट लिस्ट सार्वजनिक भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि… मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः सभापति लामिछाने बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप रास्वपा सभापति लामिछाने भारत भ्रमण सकेर स्वदेश फर्किए