पाल्पा-बुटवल सडकमा टिपर चलाउन रोक

हिमालय टाइम्स
Read Time = 4 mins

-रामचन्द्र रायमाझी

पाल्पा । सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडक खण्डमा टिपर सञ्चालन गर्न रोक लगाइएको छ । सडक डिभिजन कार्यालय पाल्पाले भदौ मसान्तसम्म तीन महिनाका लागि सिद्धार्थ राजमार्गको तानसेन-बुटवल सडक खण्डमा टिपर सञ्चालन रोक लगाएको हो । सिद्धबाबा दोभान क्षेत्रमा हालै कालोपत्रेको काम भएको र वर्षातको समयमा ठूला मालवाहक सवारी सञ्चालन हुँदा कालोपत्रेको पटहोल निस्कन गई सडक जीर्ण बन्ने हुँदा अत्यधिक भारबहन भएका टिपर सञ्चालनमा रोक लगाइएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले बताउनुभयो ।

यहाँ सडक ऐनविपरीत दैनिकजसो सयौँको संख्यामा चल्ने टिपर र हेभी ट्रकका कारण सडकको अवस्था बिग्रँदै गएको छ । पाल्पाबाट चुनढुंगा र गिट्टी ओसार्नका लागि दैनिक सयौँ टिपरहरू यस सडक खण्डमा गुड्ने गर्छन् । सडकले सवारीसाधनको भार थेग्नै नसक्ने गरी सडक क्षमताभन्दा बढी भारवहनयुक्त सवारीका साधन गुड्दै जाँदा सडकको अवस्था कमजोर बनी दैनिकजसो पहिरो जाने गर्दछ ।

हिउँद होस् या बर्खा सिद्धबाबा क्षेत्रमा गइरहने पहिरोले यहाँको यात्रा निकै कष्टकर र त्रासदीपूर्ण बन्ने गरेको छ । यात्रु तथा सवारी चालक ज्यान जोखिममा राखेर यात्रा गर्नुपरेको गुनासो गर्छन् । ‘सिद्धबाबा त अहिले सारै डरलाग्दो भयो, सडक पार नगर्दासम्म कहाँनिर ढुंगा खस्छ भनेर गाडी कुदाउनुपर्छ,’ विगत १० वर्षदेखि पाल्पा-बुटवल रुटमा सवारी चलाउँदै आएका मानबहादुर राना भन्नुहुन्छ, ‘अब यो सडकको विकल्प खोज्नुपर्छ ।’

मौसम खराब हुनेबित्तिकै सिद्धबाबामा पहिरो र ढुंगा खस्ने भएका कारण बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची र स्याङ्जातर्फ जाने सवारी चालकहरू डराउँछन् । पानी परेका बेला त्यतातिर गाडी जान मान्दैनन्, गए पनि ज्यान जोखिममा राखेर हिँड्नुपर्ने बाध्यता छ ।

सिद्धबाबा क्षेत्र हुँदै प्रत्येक दिन सानाठूला गरी चार हजार एक सय सवारी गुड्ने गरेको दोभान प्रहरी चौकीले जनाएको छ । बुटवल बसपार्कबाट पाल्पाका लागि मात्र दैनिक ५२ वटा बस छुट्छन् । तीमध्ये नौवटा पाल्पाका खानीगाउँ, दर्लम, बतासेलगायत स्थानमा पुग्छन् । प्रत्येक १५/१५ मिनेटमा सिद्धबाबाको जोखिमयुक्त सडक पार गरेर सवारी चालक र यात्रुहरूले यात्रा गर्ने गर्छन् ।

यस सडक खण्डको १७०० मिटर भाग ठूला चट्टाने भिरको बीचमा पर्ने हुनाले माथिबाट झर्ने ठूला–ठूला चट्टान र पहिरोका कारण सयौँ सवारी दुर्घटनामा परी धेरैको ज्यानसमेत गएको छ । यो सडकलाई वैकल्पिक मार्ग र सुरुङमार्ग बनाउने बेला–बेलामा चर्चा चल्ने गर्दछ तर कार्यान्वयनको टुंगो भने अझैसम्म लागिसकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?