लिची पाकेसँगै बढ्यो किसानको व्यस्तता : टिप्न र बिक्री गर्न भ्याइनभ्याइ

हिमालय टाइम्स
Read Time = 4 mins

-चिसाङ शेर्पा

खोटाङ । खोटाङको रावाबेंशी गाउँपालिकाको कुभिण्डेसहित लिची उत्पादन हुने क्षेत्रमा लिची पाकेपछि कृषकहरूलाई यतिबेला टिप्न र बिक्री गर्न भ्याइनभ्याइ छ । फूल फुल्ने बेलामा असिनापानी पर्दा गत वर्षको तुलनामा यस वर्ष लिची कम फले पनि पाकेको लिची टिप्न, जंगली जनावरबाट बचाउन र बिक्री गर्नमा कृषकहरूको दिनचर्या बित्ने गरेको छ ।

पानी परेमा पाकेको सबै लिची झर्ने डरले कृषकहरू मौसमको अवस्था हेर्दै लिची टिप्न र बिक्री गर्नमा व्यस्त रहेको कुभिण्डे ढाडगाउँका कृषक प्रेमबहादुर राना मगरले बताउनुभयो । मगरसँग रहेका १३ बोट लिचीमध्येमा साना बोटमा कम्तीमा एक हजार तीन सय र ठूला बोटमा २५ हजार दानासम्म लिची फल्ने गरेको छ । वार्षिकरूपमा ७० हजारसम्म लिची बिक्री गर्ने गरेको मगरले जानकारी दिनुभयो ।

कुभिण्डेमा गाउँ-गाउँबाट व्यापारीहरू आएर बोटबाटै लिची किनेर ठूला बजारहरूमा बिक्री गर्न लैजाने गरेका छन् । कतिपय काठमाडौं तथा तराईबाट गाडी लिएर घर–घरमै लिची खरिदका लागि आउने गरेका छन् । अधिकांशले लिची बिक्री गरेरै सानातिना घर व्यवहार चलाउने गरेको पाइएको छ ।

लिचीले चर्चित कुभिण्डेसहित अन्य स्थानहरूमा खासै व्यावसायिकरूपमा लिची उत्पादन नभए पनि कृषकहरूले आ-आफ्नो घरमा परम्परागतरूपमा रोपेको लिचीले मनग्ये उत्पादन दिँदा कृषकहरू उत्साहित भएको कुभिण्डेका अमृतबहादुर रोकाले बताउनुभयो । उहाँका अनुसार कुभिण्डेको माथिल्लो भेगमा असिना पर्दा यसपाली कम फलेको र तल्लो भेगमा असिना नपुगेकाले धेरै लिची फलेको छ ।

असिनापानीका कारण गत वर्षको तुलनामा लिची कम फले पनि यो पटक भने लिचीले राम्रो मूल्य पाएको कुभिण्डे ढाडगाउँका अर्का कृषक लक्ष्मण पोखरेलले बताउनुभयो । उहाले लिची खरिदका लागि व्यापारीहरू घर-घरमा आएर बोट नै ठेक्कामा लिने गरेको सुनाउनुभयो ।

जिल्लामै सबैभन्दा बढी लिची उत्पादन हुने कुभिण्डेमा करिब दुई सय वर्षअघिदेखि लिची उत्पादन सुरु भएको इतिहास छ । सुरुवातमा कुभिण्डेका पोखरेलहरूले भारतको दरबंगाबाट ल्याएको लिचीको तीन बोटबाट अहिले कुभिण्डेसहित खार्पा, हांडिचुर, दुबेकोल, डुम्रेधारापानी र बुईपासम्म लिची फैलिएको बताइन्छ । तीन बोट लिचीमध्येमा कुभिण्डे ढाडगाउँ र डाँडाघरमा अहिले पनि एक/एक बोटले उत्पादन दिइरहेको छ । एक बोट भने चट्याङका कारण नष्ट भएको कृषक मगरले बताउनुभयो ।

परम्परागत शैली र विभिन्न रोगकिरासँग लड्दै लिची उत्पादन गरिरहेका कृषकहरूलाई अहिलेसम्म कृषि ज्ञान केन्द्र र स्थानीय सरकारको साथ नभएको गुनासो छ । मुलुक संघीय संरचनामा गएको पाँच वर्ष बित्दा पनि स्थानीय सरकारले कृषिमा आश्वासनमात्रै बाँड्ने गरेको तर काम भने नगरेको कृषकहरूको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?