‘मौलिकता समेटिएका सिर्जना नै कालजयी हुन्छन्’

कृष्ण भुसाल
Read Time = 21 mins

प्रहरी सेवामा रहेर प्रहरी निरीक्षकका रूपमा आफ्नो कार्यसम्पादन गरिरहनुभएका घनबहादुर थापा साहित्य क्षेत्रमा पनि त्यत्तिकै सक्रिय हुनुहुन्छ । उहाँले गीत, कविता, कथा, लघुकथा, बालकथा, मुक्तक, नियात्रालगायत विधामा कलम चलाउँदै आउनुभएको छ । उहाँका कथासंग्रह ‘पच्चीस पाइला’, कवितासंग्रह ‘मौन आक्रोश’, बालकथा संग्रह ‘सुवासको सपना’ कृतिका रूपमा पाठकमाझ आएका छन् भने करिब चार सय पचासजति बढी फुटकर लेखरचनासमेत प्रकाशित छन् । यस्तै उहाँको ‘तिमीलाई नै’ गीत श्रोता/दर्शकमाझ छ । पहिलो रचना कविता ‘जीवन’ लेखेर औपचारिक साहित्ययात्रामा उहाँ होमिनुभएको थियो । लेख्नकै लागि लेखिएको भन्दा पनि मौलिकता समेटिएको, गहन अध्ययन र अनुसन्धानबाट जन्मेको सिर्जना कालजयी हुन्छ भन्नुहुने साहित्यकार घनबहादुर थापासँग हिमालय टाइम्सको हिँड्दा हिँड्दैका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-

  • यतिबेला के गर्दै हुनुहुन्छ ?
    यतिबेला म प्रहरी सेवामा कार्यरत छु । व्यस्तताका कारण समय व्यवस्थापनको निकै ठूलो चुनौती छ । तर पनि चुनौतीको सामना गर्दै केही समय निकालेर साहित्य सिर्जनामा पनि कलम चलाइरहेको छु ।
  • साहित्यतर्फ कसरी आकर्षित हुनुभयो ?
    स्याङ्जा अर्जुनचौपारीको लामडाँडास्थित अमरज्योति माविबाट विद्यालय शिक्षा पूरा गरेको हुँ । विद्यालयमा हाजिरीजवाफबाहेक कुनै अतिरिक्त क्रियाकलाप हुने थिएन । जसले गर्दा कला, साहित्यमार्फत् ज्ञानको दायरालाई फराकिलो बनाउने कामलाई स्कुल जीवनमै निमोठिएको रहेछ भन्ने पछि महसुस भयो । त्यतिबेला एसएलसी परीक्षा सकिएपछि परीक्षाफल प्रकाशित हुन केही समय अर्थात् करिब तीन महिना लाग्थ्यो । त्यसबीचको समयमा घुम्नका लागि भारतको नयाँदिल्ली पुगेँ । निकै गर्मी, घना बस्ती, घरैघर, फोहोर शहरका कारण उजाडजस्तो लाग्यो त्यहाँ मलाई । मनभरि आफ्नो देश, परिवेश, स्वच्छ वातावरण, पाखापर्वत, परिवारको निकै याद आयो । ती यादहरूलाई मैले कविताका रूपमा समेटेँ । काठमाडौं आएपछि तिनै कवितालाई परिष्कृत गरेर छापिए । पहिलो रचना प्रकाशित भएपछि साहित्यतर्फको आकर्षण बढ्यो । आफ्नो जन्मभूमिबाट छोटो समयका लागि टाढा हुँदा देश अनि परिवेशको मायासहित रचना गरेको कविता नै साहित्यप्रति आकर्षणको माध्यम बन्न पुग्यो ।
  • यहाँले गीत, कविता, कथा, लघुकथा, बालकथा, मुक्तक, नियात्रालगायत विधामा कलम चलाउँदै गर्दा साहित्यमा तपाईंको बढी रुचिको विषय के हो ?
    सामान्यतया रूचि नै नभएको विषयमा कलम चलाउन सकिँदैन । तथापि तुलनात्मकरूपमा बालकथा मेरो बढी रुचिको विषय भएको छ । साहित्य बजार र आमपाठकको प्रतिक्रियाले पनि यस विधाबाट मलाई बढी हौसला मिलेको छ । भोलिका कर्णधार बालबालिकालाई अतिरिक्त ज्ञानको माध्यमबाट असल नागरिक बनाउन सहयोग पुगेमा आफूलाई आत्मसन्तुष्टि मिल्छ भन्ने मेरो मान्यता छ । साथै अहिले व्यस्त जनजीवनका कारण छोटो विधाको ख्याति बढेको छ । यसैले लघुकथा र मुक्तकमा पछिल्लो समय आकर्षित भएको छु ।
  • यीमध्ये कुनचाहिँ विधामा आफू सहजरूपमा खुल्न सक्नुहुन्छ ?
    देशविदेशको भ्रमणमा देखिएका नवीन विषयले मलाई पछिल्लो समय निकै तानेको छ । आफूले प्रत्यक्ष देखे-भोगेको यथार्थतालाई आधार बनाई साहित्यिक अलंकारसहितको नियात्रा प्रस्तुतिमा खुल्न निकै सहज महसुस हुन्छ । यथार्थमा उचित कल्पना, सुललित शब्द संयोजन र कलाकौशल प्रयोग गर्न सजिलै सकिन्छ । आफ्नोपनको मिठास थप्न पाइन्छ । तर, नियात्रा लेखनका खास पक्षलाई आधार बनाई रोचक प्रस्तुतीकरणसहित सम्बन्धित ठाउँ र विषयबारे पाठकलाई जानकारी गराउनु पक्कै पनि निकै चुनौतीपूर्ण छ । यस चुनौतीको सामना गर्दै पठनीय नियात्रा लेखनमा मेरो सक्रिय प्रयास जारी छ ।
  • जीवन के हो ?
    जीवनको परिभाषा व्यक्तिपिच्छे फरक-फरक हुन सक्छ । यसलाई केही शब्दमा वर्णन गर्न त के सकिएला र ! तैपनि मेरो विचारमा जीवन संघर्ष, चुनौती र अवसरको त्रिवेणी रहेछ । जन्मेदेखि देहत्याग नभएसम्म अनेकौँ चुनौती सामना गर्दै निश्चित अवसर प्राप्तितर्फ संघर्ष गर्ने एउटा माध्यम नै जीवन रहेछ । यसका पथ, तरिका र अनुभूति फरक होलान् । हरेकको फरक परिभाषा होला । तर, समग्रमा संघर्षकै सेरोफेरोमा रूमलिँदै जे प्राप्ति हुन्छ त्यसैमा उभिएर जिउनु रहेछ जीवन ।
  • तपाईं कसका लागि लेख्नुहुन्छ ?
    वास्तवमा म आफ्नै आत्मसन्तुष्टिका लागि लेख्छु । मेरा भोगाइ र अनुभूति स्मरणका लागि पनि कतिपय रचना केन्द्रित भएका होलान् । तथापि मेरा सिर्जनाले आमपाठक, समाज र राष्ट्रका लागि केही योगदान दिन सक्छन् कि भन्ने आश मनभित्र कतै जाग्छ । त्यही हेतुले पुस्तक वा विभिन्न पत्रपत्रिकामार्फत् म साहित्यिक फाँटमा एउटा चमेली फूल बन्ने प्रयास गरिरहेछु सायद ।
  • कहिलेदेखि लेख्न सुरु गर्नुभयो  ?
    मेरो पहिलो कविता भारत भ्रमणका क्रममा आफ्नै मातृभूमिप्रतिको अगाध माया सम्झेर कोरिएको हो । मान्छे अलिकति भावुक भएपछि आफ्नो भावना कविताका रूपमा पोखिँदो रहेछ । तत्क्षण आफ्ना भावनालाई मोटामोटी समेट्ने प्रयासमात्र भयो । त्यो कविता बन्यो वा बनेन त्यतिबेला त्यति ख्याल राखिएन । तथापि साहित्यिक यात्राका लागि पाइला चाल्नेक्रममा विसं २०५५ साल माघ २ गते ‘साप्ताहिक जनसत्ता’ मा प्रकाशित ‘जीवन’ नामको कविता नै मेरो पहिलो प्रकाशित रचना हो । यसैबाट मेरो लेखन यात्रा सुरू भएको हो ।
  • तपाईंको साहित्य लेखनको आधार के हो  ?
    मेरो साहित्य लेखनको आधार भनेकै जीवन र जगत् नै हो । यही समाजको वास्तविक परिवेश हो । तथापि काल्पनिकताबिना साहित्य रोचक हुन सक्तैन भन्ने तथ्यलाई हृदयंगम गर्दै वास्तविक धरातललाई आधार बनाएर काल्पनिकतालाई साहित्यिक शृंगारका रूपमा प्रयोग गर्नु आवश्यक हुन जान्छ भन्ने मलाई लाग्छ । जब मैले देश छोडेँ तब मलाई यहाँको परिवेशले भावुक बनायो । बाल्यकालका यादले सतायो अनि त्यसैलाई आधार बनाएर मेरा रचना उभिए । यसर्थ हाम्रै समाज र समाजका तमाम विषयवस्तु अनि आफ्नै अनुभूतिको धरातललाई नै मैले अहिलेसम्म साहित्य लेखनको आधारका रूपमा लिएको छु ।
  • सामाजिक यथार्थतालाई आफ्नो रचनामा कत्तिको ठाउँ दिनुहुन्छ ?
    माथि पनि भनेँ कि साहित्य लेखनको आधारमध्ये एक समाज पनि हो । त्यसो भएपछि त सामाजिक यथार्थताले स्वतः अग्रस्थान पाउने नै भयो । मेरो कथासंग्र्रह ‘पच्चीस पाइला’ यसैको उदाहरण हो भन्दा फरक पर्दैन ।
  • अहिलेको नेपाली साहित्यको अवस्था कस्तो पाउनुहुन्छ ?
    साहित्य निकै पेचिलो विषय र समाजको प्रतिबिम्ब हो । समाजको मार्गदर्शकका रूपमा लिइने साहित्य एउटा मापदण्डभित्र रहनुपर्छ भन्ने मलाई लाग्छ । अहिलेको साहित्यिक बजारलाई विश्लेषण गर्दा आत्मसन्तुष्टिका नाममा साहित्य क्षेत्र कतै लगामबिनाको घोडा वा मियोबिनाको दाइँ त भएको छैन ? भन्ने प्रश्न गर्नुपर्ने अवस्था देखिन्छ । यद्यपि नेपाली साहित्यले अहिले समयानुकूल फड्को मार्दै आमपाठकको माग धान्न सकेको छ भन्ने लाग्छ मलाई त । तैपनि नेपाली साहित्यको उन्नयन, प्रगति र समुन्नतिका निम्ति राज्य र साहित्यकारको सक्रियता अझै बढी आवश्यक छ ।
  • यहाँका कस्ता-कस्ता कृति आएका छन् र अब कुन-कुन कृति पाठकमाझ ल्याउने तयारीमा हुनुहुन्छ ?
    मेरा अहिलेसम्म पच्चीस पाइला कथासंग्र्रह (२०६५), मौन आक्रोश कवितासंग्र्रह (२०७३), सुवासको सपना बालकथासंग्र्रह (२०७४) र कल्पलता (दश कविको संयुक्त काव्यकृति २०७७) प्रकाशित छन् । करिब ४५० बढी फुटकर लेखरचना विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । नयाँ कृति पाठकमाझ ल्याउने अहिले मेरो कुनै तयारी छैन । एउटा प्रकाशन गृहले बालकथाको पाण्डुलिपि लगेकाले केही आशा त जागेको छ नै । तैपनि बजारमा कहिले आउँछ वा आउँदैन ठेगान भने छैन । यसबाहेक समयले साथ दिएमा केही फुटकर रचनालाई संग्रहित गर्ने योजनामा भने छु ।
  • साहित्य सिर्जनामा वैचारिक महत्व कत्तिको देख्नुहुन्छ ?
    निकै सान्दर्भिक प्रश्न उठाउनुभयो । साहित्य सिर्जनामा वैचारिक महत्वको कुरा गर्दा सर्जकको लेखनकला, दक्षता, सीप र क्षमता पनि सँगै जोडिएर आउँछ । त्यसैले वैचारिक बहसबिनाको साहित्यिक रचना कोरा वर्णन हुन जान्छ भन्ने मेरो बुझाइ छ । विचारबिनाको सिर्जना त नुनबिनाको तरकारी भइहाल्यो नि ! गहन विचार समेटिएको सिर्जनाले नै यसको ओज बढाउँछ । सर्जकले दिन खोजेको विषयलाई पुष्टि गर्दै पाठकलाई प्रष्ट न्याय दिन सक्छ । विषयवस्तुलाई विचारले जति बाँध्न सक्छ त्यति सिर्जना ओजिलो बन्ने कुरामा दुईमत छैन । त्यसैले असल सर्जकले सिर्जनामा वैचारिक महत्व दिनैपर्छ ।
  • तपाईं आफ्नो लेखनमा कत्तिको कुतर्क गर्नुहुन्छ  ?
    आहा, कस्तो गजबको प्रश्न गर्नुभयो । अनुचित वा असंगत तर्क वा बितण्डा भन्छन् क्यार कुतर्कलाई !  रेडियो नाटकमा मैले विद्रोही भूमिका रहेको पात्रमार्फत् कुतर्क गरेको छु । कथामा पनि खराब पात्र उभ्याएर कुतर्क गराउने र पछि असल तर्कले विजय पाउने अभ्यास गराएको छु । समाजका विकृति विसंगति गतिविधिविरूद्ध कलम चलाएको छु । सो क्रममा खराब पात्रले कुतर्क गर्छ र पछि उसलाई असल बाटोमा हिँडाउन असल तर्क गरिएका छन् । तर, सबै विधामा कुतर्कको अभ्यास आवश्यक छैन ।
  • एकथरि मानिस भन्छन्- साहित्यमा यौन चाहिन्छ, अर्कोथरि साहित्यमा यौनवर्जित छ भन्छन् । यहाँको विचारमा के होला ?
    यौनबिना सृष्टिको कल्पना गर्न सकिँदैन । मेरो विचारमा नेपाली साहित्यमा यौनले प्रवेश पाइरहेको छ र यो वर्जित गर्नुपर्ने विषय हो जस्तो मलाई लाग्दैन । बरू यौन विषयको साहित्यिक उठान गर्दा भाषा र प्रस्तुतीकरणलाई भने सर्जकले विशेष ख्याल गर्नुपर्ने हुन्छ ।
  • कस्ता खालका किताब बढी पढ्नुहुन्छ ?
    यथार्थतामा आधारित अनुसन्धानमूलक किताब मलाई बढी पढ्न मन लाग्छ । आख्यानतर्फ कथा र लघुकथा, गैरआख्यानतर्फ नियात्रा, काव्यतर्फ गीत, गजल र मुक्तकका किताब मेरो रोजाइमा पर्छन् । निश्चय पनि आफ्नो लेखन रुचिका विधाले बढी मन तान्छन् । विद्यार्थी जीवनमा उपन्यास बढी पढिन्थ्यो । अहिले अरू विधाका किताब पनि पढ्ने गरेको छु ।
  • यहाँ लामो समयदेखि राष्ट्रसेवकका रूपमा प्रहरी सेवामा कार्यरत हुनुहुन्छ, यस पेशा र लेखनलाई कसरी संयोजन गर्नुहुन्छ ?
    प्रहरी सेवा भन्नेबित्तिकै यो लेखन साहित्य क्षेत्रभन्दा फरक हो भन्ने आमबुझाइ छ । तर, नेपाल प्रहरीले विसं २०१६ सालदेखि निरन्तररूपमा ‘प्रहरी द्वैमासिक’ पत्रिका प्रकाशन गर्दै आएको छ । यो नेपालकै पुरानोमध्येकै साहित्यिक पत्रिका हो । यसैमार्फत् समाजमा साहित्य सेवा गर्दै आएको छ । प्रहरी सेवाभित्रका र सेवाबाहिरका सम्पूर्ण साहित्यकारहरूलाई स्थान दिँदै आएको छ । यस पत्रिकाले प्रहरीतर्फ एकजना र सर्वसाधारणतर्फ एकजना गरी दुईजना उत्कृष्ट लेखकलाई प्रहरी दिवसका अवसरमा असोज मसान्तमा हुने ‘प्रहरी दिवस विशेष समारोह’ मा प्रत्येक वर्ष साहित्यिक पुरस्कारद्वारा पुरस्कृत गर्दै आएको छ । गत वर्ष प्रहरीतर्फबाट म स्वयं र सर्वसाधारणतर्फ गम्भीरबहादुर हाडा पुरस्कृत भएका थियौँ । विगत लामो समयदेखि मेरा लेखरचनालाई यस पत्रिकाले स्थान दिँदै आएको छ । यसका साथै प्रहरी संगठनसँग सम्बन्धित ‘प्रेरणा’, ‘सहचरी’, ‘आसरा दर्पण’, ‘आरोग्य दर्पण’, ‘युक्ति दर्पण’ लगायतका मुखपत्र प्रकाशित हुने गर्छन् । यी सबैमा बेलाबखत प्रकाशन हुने साहित्यिक लेखरचनाले मेरो लेखन यात्रामा हौसला प्रदान गरेको छ । साथै मेरो कार्यक्षेत्र सूचना सम्प्रेषणसँग सम्बन्धित भएकाले पनि पेशा र लेखनलाई अगाडि बढाउन केही सहज भएको छ । बिहान, बेलुकी र बिदाको दिन केही फुर्सद हुने गर्छ । कार्यालय समय र फुर्सदको समयलाई व्यवस्थापन गरी पेशा र साहित्यिक लेखन कार्यलाई संयोजन गर्ने गरेको छु ।
  • राष्ट्रसेवकका रूपमा कार्यरत रहँदा यहाँको प्राथमिकतामा के-कस्ता कुराहरू पर्छन् ?
    राष्ट्रसेवकका रूपमा काम गर्दा प्राथमिकतामा पर्ने कुरा त आन्तरिक विषय भए, त्यतापट्टि नजाऊँ होला ! तर पनि मेरो सेवाको अधिकांश समय सूचना प्रविधिका साथै प्रहरी संगठनसँग सम्बन्धित गतिविधि र जनसरोकारका विषयसँग सम्बन्धित समाचार लेखन, सम्पादन र सम्प्रेषणमा बितेको छ । त्यसैले हालको प्राथमिकतामा पनि यिनै विषय पर्छन् ।
  • लेखनमा आउन लागेका नयाँ लेखकहरूलाई कस्तो सल्लाह दिनुहुन्छ  ?
    त्यस्तो गहन सल्लाह दिन सक्ने अवस्था त मसँग भएजस्तो लाग्दैन । किनकि म पनि साहित्यको विद्यार्थी नै हुँ । तर पनि मेरो अनुभवमा यदि तपाईंमा लेखनप्रति अभिरूचि छ भने आफ्नो प्रमुख कामबाट बचेको समयलाई सदुपयोग गर्दै निरन्तर साहित्य साधनामा लाग्नुपर्ने हुन्छ । अध्ययन, साधना अनि अध्ययन साधनाको सूत्रले फाइदा गर्छ  । लेख्नकै लागि लेखिएको भन्दा पनि मौलिकता समेटिएको, गहन अध्ययन र अनुसन्धानबाट जन्मेको सिर्जना कालजयी हुन्छ । त्यसैलाई आधार बनाएर मूलभूतरूपमा साहित्यिक पहिचान दिने तत्वसहितको लेखनलाई ध्यान दिनुपर्ने हुन्छ । आकाशमा लाखौँ तारा सुन्दर हुन्छन् सम्मान गर्नुपर्छ तर संसारभर उज्यालो दिने एउटै सूर्यजस्तो चम्किलो रचना सिर्जना गर्नेतर्फ नवोदित प्रतिभाले ध्यान दिनुपर्छ ।
  • अन्त्यमा, सिर्जना या कृति के हो ?
    सिर्जना एउटा कला हो, आविष्कार हो । सर्जकको विशिष्ट लेखनशैली र आविष्कारबाट जन्मिएको सिर्जनाको संकलित रूप हो कृति । कृति सर्जकको सन्तान हो, हरपल माया लाग्छ । हिँड्दा हिँड्दै तपाईंसँग भेट भयो, खुसी लाग्यो । मलाई आफ्ना कुरा राख्ने मौका दिनुभयो, विशेष गरी तपाईं अनि राष्ट्रिय दैनिक हिमालय टाइम्स परिवारप्रति आभार व्यक्त गर्दछु । ०००

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?