मस्र्याङ्दी-काठमाडौं प्रसारणलाइन सम्पन्न

Read Time = 3 mins

काठमाडौं । मस्र्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन निर्माण गरिएको मस्र्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारणलाइन निर्माण सम्पन्न भएको छ । तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट काठमाडौंको मातातीर्थसम्मको ८२ किलोमिटर प्रसारणलाइनलाई बिहीबारदेखि १३२ केभीमा विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लाइन निर्माणसँगै काठमाडौं उपत्यकामा थप विद्युत् प्रवाहका लागि विश्वसनीय प्रसारण सञ्जाल तयार भएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘हाल चालु रहेको मस्र्याङ्दी-स्युचाटार १३२ केभी सिंगल सर्किटमात्रै थियो, जुन लाइनबाट करिब एक सय मेगावाटभन्दा बढी विद्युत् प्रवाह हुन सक्दैन थियो, मस्र्याङ्दी-काठमाडौं लाई तत्कालका लागि १३२ केभी सञ्चालममा ल्याएसँगै अब थप करिब दुई सय मेगावाटसम्म विद्युत् काठमाडौं उपत्यकामा प्रवाह हुन सक्छ ।’

घिसिङका अनुसार भरतपुर-हेटौंडा १३२ केभी सिंगल सर्किटमात्रै भएकाले त्यहाँ पनि विद्युत् प्रवाहका लागि समस्या थियो, कुलेखानी नचलेका बेला मस्र्याङ्दी–काठमाडौं प्रसारणलाइनमार्फत् विद्युत्लाई काठमाडौं हुँदै हेटौंडातर्फ र हेटौंडाबाट काठमाडौंतर्फ थप विद्युत् प्रवाह गराउन सकिन्छ ।

मस्र्याङ्दी–काठमाडौं प्रसारणलाइन निर्माणका लागि भारतीय कम्पनी टाटा प्रोजेक्टसँग १६ असार २०७३ मा एक करोड तीन लाख अमेरिकी डलर र ७६ करोड ६३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । आयोजना निर्माण भदौ २०७३ देखि सुरु भएको थियो । तनहुँ, गोरखा, चितवन, धादिङ र काठमाडौं जिल्लामा पर्ने प्रसारणलाइनमा २३३ टावर रहेका छन् । धादिङको सिद्धलेक गाउँपालिका-७ स्थित पिपलटारमा स्थानीयको अवरोध हुँदा निर्माण प्रभावित भएको आयोजना प्रमुख लक्ष्मण फुँयालले बताउनुभयो ।

आयोजनाअन्तर्गत मातातीर्थ र तनहुँको मार्कीचोकमा २२०/१३२/३३ केभी, ३२० एमभिएका सबस्टेसनहरू निर्माणाधीन छन् । सबस्टेसन निर्माणपछि प्रसारणलाइन २२० केभीमा सञ्चालनमा ल्याइने प्राधिकरणले जनाएको छ । सरकारको लगानी र नर्वे सरकार तथा एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा आयोजना निर्माण गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?