एमाले जनप्रतिनिधिका २० बुँदे संकल्प : ‘हामी शासक होइन, जनताका सेवक हुन्छौैँ’

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेकपा एमालेका निर्वाचित स्थानीय तह प्रमुख र उप-प्रमुखहरूको भेलाले ‘शासक नभई सेवक बन्ने’ घोषणा सहितको २० बुँदे संकल्प प्रस्ताव पारित गरेको छ । एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको बिहीबार र शुक्रबार भएको प्रशिक्षण कार्यक्रमपछि संकल्प जारी गरिएको हो । संकल्प प्रस्तावमा एमालेका जनप्रतिनिधिले पालना गर्ने आचरणदेखि कामका प्राथमिकता पनि उल्लेख छन् ।

‘हामी शासक होइन, जनताका सेवक हुनेछौँ । हाम्रो नेतृत्वमा रहेका पालिकाहरू सुशासनका नमुना बन्नेछन् । हामीहरू सदाचारमा नमुना बन्नेछौँ । आफूले कुनै भ्रष्टाचार गर्ने छैनौँ र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछौँ । भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहनमा संलग्नहरूलाई कानुनी कारबाहीको दायरामा पु¥याउन अग्रणी भूमिका खेल्नेछौँ । समाजमा व्याप्त कुरीति, कुसंस्कार, रूढी र सामाजिक विकृति विरुद्धको अभियानमा अग्रपंक्तिमा उभिएर सामाजिक–सांस्कृतिक रूपान्तरणको अगुवाइ गर्नेछौँ । समाजको विकास, असल मूल्य, मान्यता र संस्कार स्थापित गर्न भूमिका खेल्नेछौं...’ प्रतिबद्धतापत्रमा भनिएको छ ।

एमालेबाहेक अन्य दलसँग नीति नै छैन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको नीति एमालेले तय गर्ने तर अन्य दलहरूले त्यसलाई तोडमोड गर्ने गरेको दाबी गर्नुभएको छ । स्थानीय तह प्रमुख तथा उपप्रमुखका लागि राजधानीमा आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले एमालेबाहेक अन्य दलहरूसँग कुनै पनि विषयमा नीति नभएको जिकिर गर्नुभयोे । ‘अन्य दलको राष्ट्रियताको विषयमा नीति के हो ? वैदेशिक सम्बन्धबारे नीति के हो ? वैदेशिक सहायता वा ऋणको सन्दर्भमा के हो ?,’ ओलीले प्रश्न गर्नुभयो । विभिन्न विषयमा अन्य दलले नीति बनाउन नसकेको तर एमालेका नीतिबारे टीका टिप्पणी गर्ने गरेको उहाँको आरोप थियो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘वैदेशिक सहायता र लगानीको सन्दर्भमा नीति के हो ? व्यापार नीति के हो ? छैन । हाम्रो नीतिमा टीका टिप्पणी गरेका छन् । ह्रस्व लेख्नु पर्नेमा दीर्घ लेख्यो, कमा दिनुपर्ने दिएन, फुलस्टप लगाउनुपर्ने लगाएन अनि यस्तो कुरा बनाउने हो । खासमा उनीसँग नीति पनि छैन । हामीले लिएको नीतिलाई कसरी असफल बनाउन सकिन्छ ? धाँजा कसरी फटाउन सकिन्छ ? त्यसलाई कसरी असफल बनाउने मात्रै नभएर विकृत रूपमा व्याख्या गर्न सकिन्छ त्यसमै लागेका छन् ।’ उहाँले आफूहरूले लिएको नीतिले वैकल्पिक राजनीतिक, आर्थिक र वैदेशिकसम्बन्धी नीति दिन सक्ने तर अन्यले तोडमोड गरेर विकृत पार्ने गरेको बताउनुभयो । ‘एमालेबाहेक अन्य कुनै पनि पार्टीसँग नीति छैन । सोच छैन, राष्ट्र निर्माणको सोच के त ?’ ओलीले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?