सुब्बाको चार वर्षको कमाइ ६ करोडभन्दा बढी, अख्तियारद्वारा मुद्दा दायर

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वनायव सुब्बा (नासु)विरुद्ध ६ करोड २४ लाख बढी गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, कलबलगुडी, झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भीमकान्त भण्डारीविरुद्ध अख्तियारले शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । पदीय दुरुपयोग गरी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले तत्कालीन नासु भण्डारीविरुद्ध बिगो, कैद सजाय तथा बिगो बराबरको जरिवाना र स्रोत नखुलेको सम्पत्ति जफतको मागदाबीसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार भण्डारीविरुद्ध ६ करोड २४ लाख चार हजार छ रुपैयाँ ४४ पैसा बिगो कायम गरी मुद्दा दायर गरिएको हो । सेवा प्रवेश गरेको चार वर्षमै उनले जोडेको सम्पत्ति तथा जीवनयापन अस्वाभाविक देखिएपछि अख्तियारले अनुसन्धान थालेको थियो । आयोगले उजुरीका आधारमा अनुसन्धान गर्दा भण्डारीले सार्वजनिक पदमा बहाल रहँदा पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको पुष्टि भएको हो ।

अस्वाभाविक रूपमा राजीनामा दिएपछि उनीविरुद्ध अकुत सम्पत्ति आर्जनको कसुरमा उजुरी परेको थियो । त्यसपछिको अनुसन्धानका अख्तियारले भण्डारी सेवा प्रवेश गरेको मितिदेखि २०७८ पुस मसान्त सम्मको सम्पत्तिमाथि अनुसन्धान गरेको थियो ।

आयोगले उनको सेवा अवधि गणना गर्दा २६ लाख ६१ हजार ६३६ रुपैयाँ नौ पैसा मात्र आर्जन भएको देखिन आए पनि लगानीको गणना गर्दा भने ६ करोड ५० लाख ६५ हजार ६४२ रुपैयाँ ५३ पैसा देखिएको अरोपपत्रमा उल्लेख गरेको छ । यसरी ६ करोड २४ लाख बढी रकम गैरकानुनी सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको अख्तियारको आरोप-पत्रमा उल्लेख भएको हो ।
भण्डारीले २०७३ असोजमा नासुमा नाम निकालेका थिए भने २०७७ साउनमा स्वैच्छिक अवकाश लिएका थिए । उनले जम्मा चार वर्ष मात्र सरकारी सेवामा बिताएका थिए ।

आयभन्दा व्यय ६ करोड बढी
आयोगको आरोपत्रमा भीमकान्त भण्डारी मिति २०७३/०६/२१ मा रा.प.अनं. प्रथम श्रेणी वरिष्ठ व्यवस्थापन सहायक पदबाट सार्वजनिक सेवामा प्रवेश गरी मिति २०७७/०४/०१ मा स्वैच्छिक अवकाश भएको उल्लेख छ । आयोगले सेवा प्रवेश गरेको मितिदेखि २०७८ पौष मसान्त सम्मलाई चार वर्षको जाँच अवधि कायम गरेको हो । सोही अवधिको आयव्यय गणना गर्दा निज भीमकान्त भण्डारीले ६ करोड बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारको आरोप छ । भण्डारीले आफ्नो पारिश्रमिक, श्रीमतीको पारिश्रमिक बचत, कर्मचारी सञ्चय कोषबाट लिएको ऋण सापटी, निज सार्वजनिक सेवा प्रवेश पूर्वको बचत (जाँच अवधि अघिको बचत)समेत गरी जम्मा रु.२६ लाख ६१ हजार ६३६ रुपैयाँ ९ पैसा आयआर्जन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । त्यसैगरी, व्ययतर्फ गणना गर्दा जग्गा खरिद, विभिन्न बैंक तथा हाइड्रोपावर कम्पनीहरूको सेयर खरिद र विभिन्न बैंकमा रहेको मौज्दातसमेत गरी जम्मा ६ करोड ५० लाख ६५ हजार ६४२ रुपैयाँ ५३ पैसा उल्लेख छ । यसर्थ उनको लगानी तथा कुल आय आर्जनमा गरेको कुल खर्च तथा लगानी घटाउँदा हुन आउने ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ ४४ पैसा बराबरको खर्च तथा लगानी (सम्पत्ति) को स्रोत खुल्न नआएको अख्तियारको दाबी छ ।

अख्तियारको मागदाबी
भण्डारीले सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेकोले निज भीमकान्त भण्डारीलाई बिगो रु. ६,२४,०४,००६।४४ (छ करोड चौबिस लाख चार हजार छ रुपैयाँ चौवालिस पैसा) कायम गनुपर्ने अख्तियारको मागदाबी छ । त्यसैगरी, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद एवं बिगोबमोजिम जरिवानाको माग अख्तियारको छ । त्यसरी आर्जन गरेको गैरकानुनी सम्पत्ति जफततर्फ ऐनको दफा ४७ बमोजिम बिगो रु.६,२४,०४,००६।४४ निजको नाममा रहेको सम्पत्तिबाट रु.६,०६,४१,८१३।९१ र अपुग बिगो निजकै एकल स्वामित्वको कम्पनीहरूको बैंक मौज्दातबाट रु.१७,६२,१९२।५३ समेत जम्मा रु. ६,२४,०४,००६।४४ जफत गर्न मागदाबी लिई शुक्रबार अख्तियारले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

भण्डारीउपर ओम्नी समूहमा संलग्नताको आशंका
गुल्मीको मालिका गाउँपालिकाका स्थायी बासिन्दा भण्डारी विध ल्याबले सञ्चालन गर्ने विध म्यानेजमेन्ट प्रालिका सञ्चालक हुन् । उक्त कम्पनी सूचना प्रविधि, इलेक्ट्रोनिक्स र मल, कागज जस्ता ठूला ठेक्कामा पनि संलग्न हुन थालेको थियो ।

उनी असार २०७७ सम्म स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान अन्तर्गतको ग्रामीण विकास प्रशिक्षण केन्द्र, झापामा कार्यरत थिए । कोरोना महामारीको समयमा स्वास्थ्य सामग्री खरिदमा बदनाम भएको ओम्नी कम्पनीमा पनि उनको संलग्नता रहेको आशंका गरिएको छ । अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवाना पनि माग गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?