मेरो अतित मेरो अनुभव : कास्कीपछि पर्साको जिशिअ

हिमालय टाइम्स
Read Time = 15 mins

✍️ रमेशप्रसाद गौतम
कास्की जिल्लापछि पर्सा जिल्लामा शिक्षा अधिकारीका रूपमा सरुवा भएँ । यहाँ आउँदा पनि शिक्षाको अवस्था झनै अन्योल देखेँ । प्राय शिक्षकहरू विद्यालयमा रहेर पठनपाठन कार्य गर्नुभन्दा शिक्षा कार्यालयलगायत अन्य ठाउँमा धाउने गरेको देखेँ । शिक्षकको केन्द्रबिन्दु विद्यार्थी र विद्यालय हो । किन कार्यालय धाउने आफ्नो विद्यालयमा राम्रोसँग पढाउने काम तपाईंहरूको हो भन्थेँ तर त्यहाँ प्राथमिक शिक्षकहरूले ६ महिनादेखि तलब खान नपाएको ठूलो समस्या रहेछ । अगाडि शिक्षा अधिकारीको कार्यकालमा १८ लाख फ्रिज गराएका तर शिक्षकको तलब निकास नगरेको देखियो ।

फ्रिज भएको रकम उपलब्ध गराउन पत्राचार भएको तर कुनै कारबाही भएको पाइएन । शिक्षा मन्त्रालयसँग कुरा गरे अविलम्ब निकासा गरिदिनु पर्‍यो भनेँ तर खासै सुनुवाइ भएन । अब शिक्षकलाई कसरी तलब खुवाउने ? यो समस्या स्थानीय प्रशासनको पनि हो । दिनदिनै कार्यालय घेराउ भइरहेको छ । तलब महिनौं नपाउँदा शिक्षक आन्दोलनमा उत्रनु स्वाभाविकै हो । यसपछि मैले आफ्नो मन्त्रालयबाट तुरुन्त समाधान नदेखेपछि अञ्चलाधीश डा.दुर्गा रिजाल हुनुहुन्थ्यो अरू प्रशासकभन्दा अलि भिन्न र उदार जस्तो लागेर यथार्थ कुरा राखेँ ।

तलब हामीले खुवाउन नसके सबै शिक्षक एक जुट भएर आन्दोलनमा उत्रन्छन् । यो कुनै अस्वाभाविक घटना हुँदैन । यो शिक्षकमाथि ठूलो अन्याय हो । समाधान यहीँबाट गरिनु उपयुक्त हुन्छ भनेपछि अञ्चलाधीशले खेलकुदको खातामा रहेको दुई लाख शिक्षा कार्यालयमा पठाइदिनुभयो र त्यही रकम प्राथमिक विद्यालयहरूको खातामा पठाइदियौं, शिक्षकहरू खुशी भएर रमाए । लामो अवधिदेखि तलब नपाएर तड्पिएका शिक्षकलाई डा.रिजालले उदारता देखाएर खुशी बनाउनुभयो ।

यस जिल्लामा कार्यरत हुँदा अर्को एउटा स्मरणीय घटना छ । एकजना गाउँको शिक्षकलाई शिक्षा सचिवको आदेश लिएर वीरगञ्ज नगरको नाम चलेको हाइस्कुलमा तुरुन्त सारिदिनु भन्ने आदेश बोकेर शिक्षक आए । त्यतिखेर पनि दुई विद्यालय व्यवस्थापन समितिको सहमतिमा सरुवा गरिने प्रचलन भएकाले सिधैं कार्यालयले हस्तक्षेप गर्न नहुने कुरा महसुस गरेको थिएँ । यस विषयमा प्रअसँग सरसल्लाह गर्दै थिए । प्रअ बरू आफूले राजीनामा दिने ती शिक्षकलाई स्वीकार नगर्ने अठोट गर्दै थिए ।

तत्कालीन स्थानीय नगर पञ्चायतका प्रधानपञ्चले यो शिक्षकलाई २४ घण्टाभित्र सचिवको आदेशबमोजिम सरुवा नगरे तपाईंलाई तुरुन्तै जिल्ला शिक्षा कार्यालयबाट सरुवा गारइदिन्छु भने । मैले स्वीकार गर्दछु भनेँ । तपाईं मलाई सरुवा गरिदिनुहोस् तर जबरजस्ती तपाईंले भन्दैमा म कुनै पनि शिक्षकलाई सरुवा गर्दिनँ भनेँ । उसो भए यहाँ बस्ने तपाईंको अवधि २४ घण्टामात्र हो भने ।

लगत्तै जिल्ला प्रशासन कार्यालयमा जिल्लाभरका कार्यालय प्रमुखहरूको बैठक थियो । मैले बैठकमा नगर प्रमुखले २४ घण्टाभित्र जिल्ला छोड्न लगाउने आदेश शिक्षा कार्यालयमा आएर मलाई हप्की देखाएर गएका छन् । यो कहाँसम्म युक्तिसंगत कुरा हो । तत्काल सिडिओले जवाफ दिनुपर्‍यो अन्यथा सबै कार्यालयमा आएर अनियमित गराउन खोज्नेहरूले यस्तै जोरजुलुम गराउने छन् । यस विषयमा गम्भीर हुन सबैलाई आग्रह गरेँ । सिडिओ साहेबले यस सम्बन्धमा म कुरा गर्छु भन्नुभयो । सबै साथीले उनले जिशिअसँग माफी माग्नुपर्छ भने । पछि तिनै नगरप्रमुख आएर जिशिअ साहेब हाड नभएको जिब्रोले के भन्यो यस सम्बन्धमा माइन्ड नगर्नुहोस् । म क्षमा माग्दछु, आइन्दा तपाईंसँग यस किसिमको व्यवहार कहिल्यै गर्नेछैन भने । उनले भनेको शिक्षकलाई मैले सरुवा गरिनँ ।

करिब दुई महिना पछिको कुरा हो । मलाई चार हप्ते तालिममा जापान जान शिक्षा मन्त्रालयमा बोलाइयो । तत्कालीन शिक्षामन्त्री केशरबहादुर बिष्टले मलाई भेट्नु भन्ने खबर अतिरिक्त सचिव रमेशजंग थापामार्फत थाहाँ पाएँ । म भेटन गएँ, उहाँले रमेशजी तपाईंको इमानदारीलाई कदर गर्न तक्मा अन्य पुरस्कारभन्दा यो वर्कसप तालिममा तपाईंलाई पठाउनु मनासिब ठानेँ अतिरिक्त सचिवको नाम सिफारिस भएर आएकोमा मैले सचिव, अतिरिक्त सचिव, सह सचिवहरू र निर्देशकसमेतको उपस्थितिमा कुन कर्मचारी इमानदार छ जसले कुनै किसिमको घुस खाँदैनभन्दा सर्वसम्मत तपाईंको नाम आएकोले मैले तपाईंलाई पठाउने निर्णय गरेको हुँ । अरू साथीहरूले बुझुन इमानदारीको यहाँ कदर हुन्छ भन्ने कुरा । यति बताउँदै राम्रो गर्दै जानु भनेर पठाउनुभयो ।

यसरी शिक्षा मन्त्रालयले जापान पठाएकोमा म खुसी भएँ । आफ्नो तयारीका साथ समयमै पुगे । दक्षिण एसियाका मुलुकहरूका वरिष्ठतम शिक्षाका प्रतिनिधिहरू समेतको ठूलो बौद्धिक जमातहरूको शैक्षिक सेमिनार रहेको थियो । यसमा नेपालको तर्फबाट मैले भाग लिएँ । शिक्षासम्बन्धी कार्यपत्र पनि प्रस्तुत गरे । उक्त कार्यक्रमका संयोजक जापानी शिक्षाविद् थिए । अरू देशका प्रतिनिधिहरूले पनि कार्यपत्र प्रस्तुत गरेका थिए । सबैको कार्यपत्रमा छलफल भयो । आ-आफ्नो दृष्टिकोणबाट सरसल्लाह सुझाब दिने काम सकियो र अन्तिममा संयुक्त प्रतिवेदन तयार पारियो । जसमा पिछडिएका दलित समुदायका साथै शिक्षामा पहुँच नपुगेका वर्गसमेत सबैको लागि शिक्षामा पहुँच पुर्‍याउनु गर्नुपर्ने प्रयास र अनौपचारिक शिक्षाका माध्यमबाट निरक्षर उन्मूलन कार्यलाई उच्चतम प्राथमिकतामा राख्नेजस्ता सुझाब प्रस्तुत गरिएको थियो । उक्त गोष्ठीलाई प्रभावकारी महसुस गरियो र कार्यक्रममा सबै साथीहरू बीच सहार्यता कायम भयो ।

जापानमै बस्दा एउटा सस्मरणीय घटना छ । एक दिन बिहान हाम्रा टोलीका साथीहरूमध्ये भारतका सहभागी प्रोफेसर प्रा.डा. अम्बासँग र बंगाली शिक्षा निर्देशिका सलिना र म चिया खान भनी टोकियो सहरको करिब ४५ मिनेटको पैदल दूरीको आसपासमा ब्रेकफास्ट खान गयौँ । खाना खाइसकेपछि खानाको पैसा दिन भनी बंगलादेशी साथी अगाडि बढ्दै थिइन् । इण्डियन मित्रले पहिला दिइहाले । बंगलादेशी साथीले पैसा दिन भनी झिकेको पर्स त्यहीँ छाडिछन् हामी हतारमा त्यहाँबाट आफ्नै होटलतर्फ फर्कियौं । ९ बजिसकेकोले गाडी पर्खिरहेको रहेछ । त्यसैमा चढेर हामी सेमिनारतर्फ लाग्यौं ।

हामी होटलमा आयौं । त्यस दिन वर्कसप सेमिनारमा ब्यस्त भयौं । साँझ डिनर लिएर आआफ्नो कोठामा पस्यौं एक छिनपछि बंगलादेशी साथीले अतालिँदै मेरो ढोका ढकढक्याइन्, मैले ढोका खोलेँ, उनी आत्तिँदै बिलौना गर्न थाले । मेरो पर्स बिहानको रेस्टुरेन्टमा बिर्सिएछ । अब के गर्ने मेरो ७५ हजार जापानी यान ५ सय डलर पार्सपोर्ट भिसा पनि त्यसैमा छ भनिन् । उनी अत्तालिएको देखेर दुःख त लाग्यो तर तत्कालै उपाय थिएन । दिनभरिमा त्यो पर्स कसले लग्यो होला भनेर चिन्ताबाहेक केही सोच्न सकिनँ ।

तत्कालै उनले आफ्नो देशमा रहेका आफ्ना श्रीमान्लाई फोन गरिन् । उनको श्रीमान् पनि चिन्तित हुँदै मसँग कुरा गर्न थाले । अहिले तपाईंहरूले जे जसरी सहयोग गर्न सक्नु हुन्छ गरिदिनुहोस् पैसा जति पर्छ म यहाँबाट पठाउने छु । भिसा पार्सपोर्टका विषयमा त्यहीँका दुतावास वा अन्य स्रोतबाट के गर्न सकिन्छ मद्धत गरिदिनु होला म तपाईंको सहयोगप्रति आभारी हुनेछु । मैले जवाफमा भनेँ म र अरू साथीहरूको समेत सहयोग लिई हामीले मद्धत गर्नेछौं । यसमा चिन्ता लिँदै आआफ्नो कोठामा सुत्न गयौँ ।

भोलिपल्ट बिहान ब्रेकफास्टमा जहिले पनि मेरो ढोका ढक्ढक्याउने उनै थिइन् तर आजको बिहानीमा उनी आइनन् । सायद पर्स हराएकोले बढी चिन्तित भइन् होलो भनेर मैले नै उनको ढोका ढक्ढक्याएँ । अनि उनले ढोका खोलिन् बढो चिन्तित र मलिन अनुहारमा थिइन् । मैले ब्रेकफास्ट जाऊँ भने उनी निस्किए र अनिसँगैै होटलको काउन्टरतर्फ गयौं । केही सोझपुछ गरौं भने लाग्दैथियो । यसै बीचमा होटल रिसेप्सनिस्टले हामीतर्फ संकेत गर्दै यो पर्स तपाईहरूमध्ये कसको हो भनेर सोधिन् त्यसपछि महिला साथीलाई होइन भनेर सोध्दा हतार गएर लिइन, केही ढुक्क महसुस भयो । पैसा नभए पनि पासपोर्ट र भिसा त पक्कै छ भन्ने लाग्यो ।

महिला साथीलाई आफ्नो कोठामा गएर सबै सामान चेक गर्नुहोस् भने उनी आफ्नो कोठामा गइन् र केही बेरपछि खुशी हुँदै आइन् । सबै सामान सकुशल जस्ताको तस्तै रहेछ । कुनै पनि चिज हराएको रहेनछ । धन्य टोकियो धेरै धेरै धन्यवाद भन्न थालेँ ।

यसरी झन्नै एक घण्टा परको सामान्य सस्तो खाले रेस्टुरा खोज्दै हामी पुगेका थियौं । जसका निम्ति झण्डै रेस्टुराको १ हप्ताको आम्दानी बराबरको नगद र जिन्सी थियो होला त्यसमा कत्ति पनि लालची नभई बसेको होटल पत्ता लगाई आएर काउन्टरमा बुझाउने रेष्टुरा धनी धन्यका रहेछन् । यसरी जापानले आफ्नो इमान्दारी देखाएर हामीलाई आभारी तुल्याएको घटना स्मरणीय छ ।

२०४३ माघ महिनातिरको कुरो हुनुपर्दछ । ठम्याउन नसके पनि बिहानको ९ बजेको समय जस्तो लाग्छ । प्रतिबन्धित नेपाली कांगेसका नेता मार्सलजुलुम शाक्य वीरगञ्जमा पार्टीको कामको सिलसिलामा आएका रहेछन् । संयोगवश आदर्शनगरमा भेट भयो । त्यसपछि भलाकुसारी गर्दै हाँसीखुशी उनको गन्तव्यसम्म मेरै गाडीमा पुर्‍याउने काम भयो ।

मार्सलजी मेरा पुराना साथी थिए । बिए हामीले सँगै पढेका थियौं । काठमाडौंमा हाम्रो भेटघाट भई नै रहन्थ्यो । नयाँ शिक्षा लागू हुनुपूर्वसम्म नेपाली कांगेस समाजवादी संस्थामा मार्सलजुलुम शाक्य, मछिन्द्र पाठक, दामोदर गौतमका साथै म पनि आबद्ध थिएँ । यसमा पटक पटकको बैठक र भेटघाट चलिनै रहन्थ्यो । पछि मेरो व्यावहारिक र पढाउने कार्यमा ब्यस्त रहनु पर्दा म त्यत्ति सक्रिय हुन सकिनँ तथापि आर्थिक र अन्य सहयोग भने गरिनै रहेको थिए ।

मैले गाडीमा चढाएको मार्सलजुलुमका विषयमा स्थानीय प्रशासनमा उजुरी भएको रहेछ । तत्कालै अञ्चलाधीशले सोधे तपाईंको गाडीमा कांग्रेसी नेता चढेका थिए रे हो ? जवाफमा मैले हो भनेँ । ऊ मेरो पुरानो साथी हो । हामी दुवै काठमाडौंकै भएकाले हाम्रो राजनीतिकभन्दा सामाजिक सम्बन्धका कारण सानो सहयोग मैले पुर्‍याएको हुँ । अञ्चलाधीश डा.दुर्गा रिजालले भन्नुभयो मैले तपाईंलाई शंका गरेर सोधेको होइन खाली के रहेछ भनेर बुझ्नमात्र खोजेको हुँ । यो सेन्सेटिभ ठाउँ छ । फेरि उनले प्रतिबन्धित नेतासँग कर्मचारीले सम्पर्क नगर्नु नै राम्रो हो भने । अञ्चालाधीश डा.रिजाल सरल र मिलनसार नै थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?