पुस्तक : खरेलको ‘स्मृतिपटलमा तपस्वीहरू’

हिमालय टाइम्स
Read Time = 8 mins

✍️ सुशीला घिमिरे
अच्युतकृष्ण खरेल चिरपरिचित नाम हो । उहाँ नेपाल प्रहरीको महानिर्देशक भएर सेवानिवृत्त हुनुभएको छ । प्रहरी सेवामा रहेका बेला उहाँ किंवदन्तीको पात्रजस्तो लाग्नुहुन्थ्यो । अरू उच्चपदस्तहरूले गर्न नसकेका कामहरू गरेर उहाँले निकै लोकप्रिय प्रहरी अधिकृतको छवि बनाउनुभएको थियो । उहाँका यस्ता कार्यहरू केवल चर्चाका लागि थिएनन् । उहाँले सुधारका कार्यहरू गरी समाजमा विद्यमान विकृतिसमेत हटाउने प्रयास गर्नुभएको थियो । विशेषगरी युवायुवतीमा रहेका फेसन मनोविज्ञानसँग जोडिएर आएका व्यवहारमा नियन्त्रण गर्ने प्रयासहरू उहाँले गर्नुभएको थियो ।

२०४६ सालको राष्ट्रिय जनआन्दोलनमा उहाँले सकेसम्म कम मानवीय क्षति होस् भन्ने सोचेर पदीय जिम्मेवारी पूरा गर्नुभएको थियो । उहाँको निर्देशन कडा तर सोचपूर्ण हुने गथ्र्यो । त्यसैले पछि प्रजातान्त्रिक सरकार विशेषगरी नेपाली कांग्रेसको सरकारका पालामा उहाँलाई महानिरीक्षक (आइजिपी)मा प्रोमोसन गरिएको थियो । यसरी प्रहरी सेवाको सबैभन्दा उच्च पदमा पुग्नसक्ने सामथ्र्य राख्ने खरेलको अरू पक्षहरू पनि छन् भन्ने धेरैलाई थाहा नहुन सक्छ । उहाँमा लेखकीय सामथ्र्य छ अर्थात् उहाँ लेखक पनि हुनुहुन्छ । उहाँको खेलकुदप्रतिको अभिरुचिलाई अगाडि सार्न सकिन्छ तर यहाँ उहाँको लेखकीय व्यक्ति र कृतित्वको चर्चा गर्नु अहिलेको सन्दर्भ हो ।

‘स्मृतिपटलमा तपस्वीहरू’ तीनजना अध्यात्म वा सिद्धबाबाहरूसँगको उहाँको सम्बन्धका विषयमा उल्लेख गरेर लेखिएको पुस्तक हो । विषयले नै प्रष्ट पार्छ यो अध्यात्म क्षेत्रका बाबाहरूका बारेमा लेखिएको पुस्तक हुनाले स्वतः यस पुस्तकले त्यही विषयलाई उजिल्याउने काम गरेको छ । यस अर्थमा अच्युतकृष्ण खरेल पनि एकजना अध्यात्म क्षेत्रमा लाग्नुभएका व्यक्ति भनेर प्रष्ट हुन आउँछ । ‘स्मृतिपटलमा तपस्वीहरू’ यस्तै पुस्तक हो । यो पुस्तकलाई संस्मरण भनिएको छ । शब्दार्थ प्रकाशनले यसको प्रकाशन गरेको छ । पुस्तकको सर्वाधिकार लेखक स्वयंमै रहेको छ भने वितरकको भूमिकामा पनि शब्दार्थ प्रकाशन आफैं रहेको छ ।

हालैमात्र अर्थात २०७९ सालमा प्रकाशित भएको यस पुस्तकको प्रकाशन ५००१ प्रति भएको छ । पुस्तकको लेआउट दीपेन्द्र बस्नेतबाट भएको छ भने मुद्रण सूर्योदय छापाखाना हाँडिगाउँ काठमाडौंबाट भएको छ । पुस्तकको आवरणमा पनि उहाँले यस पुस्तकमा चर्चा गर्नुभएका तीनजना सिद्धबाबाहरूको तस्वीर राखिएको छ । खप्तड बाबा, श्यामचेतन बाबा र चुनचुन बाबा यस पुस्तकमा रहेका तीनजना सिद्धहरू हुनुहुन्छ र खरेलले उहाँहरूसँगको आफ्नो सामीप्य यहाँ देखाउनुभएको छ ।

त्यसैले उहाँले समर्पण पनि उहाँप्रति नै गर्नुभएको छ । अर्को पृष्ठमा उहाँले आफ्ना स्वर्गीय पिता, माता र श्रीमतीलाई पनि यो पुस्तक समर्पण गर्नुभएको छ । पृष्ठआवरणमा लेखकको फोटोसहित यस पुस्तकका भूमिकाकार प्रा.शिवगोपाल रिसाल र ठाकुर शर्मा भण्डारीको छोटो भनाइ उद्धृत गरिएको छ । यही पृष्ठमा प्रकाशक शब्दार्थ प्रकाशनको नाम र लोगो तथा बारकोडसहित पुस्तकको मूल्य उल्लेख गरिएको छ । पुस्तक भूमिका खण्ड, पाठ्यखण्ड र तस्वीर खण्डसहित गरी १२० पृष्ठको छ र यसको मूल्य २९९ रुपैयाँ छ । भूमिका खण्डमा प्रा.शिवगोपाल रिसालको ‘उपयोगी र पठनीय पुस्तक’, ठाकुर शर्मा भण्डारीको ‘स्मृतिपटलमा तपस्वीहरू’ भित्रको आध्यात्मिक पक्ष’ र पुस्तकका लेखकको ‘आफ्नो भनाइ’ रहेका छन् ।

त्यसपछि विषयसूची छ । यहाँ उहाँका २१ वटा संस्मरणात्मक लेख छन् । यीमध्ये सुरुका तीनवटा लेखहरू उहाँको पारिवारिक आध्यात्मिक परिवेशमा केन्द्रित छन् भने त्यसपछिका चारवटा लेख खप्तड बाबासँगको सन्निकटतामा आधारित छन् । बीचमा एउटा लेख विषयान्तर भएको जस्तो देखिन्छ । यस लेखको शीर्षक ‘जनआन्दोलनमा भएका घटनाहरू’ रहेको छ तर यस संस्मरणले पनि बाबाहरूको प्रेरणाकै प्रसंगलाई अगाडि बढाएको छ ।

त्यसपछि श्यामचेतन बाबाको सन्दर्भमा दुईवटा संस्मरण छन् । अनि पुनः यी दुवै बाबाहरूको प्रेरणाबाट नवनिर्मित घरमा प्रथम प्रवेश शीर्षकको संस्मरण छ । त्यसपछि पुनः खप्तड बाबामै केन्द्रित संस्मरण छन् । यस्ता संस्करणातमक लेख फेरि १२औं देखि १६औं सम्मगरी पाँचवटा यहाँ छन् ।

त्यसपछिका तीनवटा संस्मरण फेरि श्यामचेतन बाबामै केन्द्रित छन् । अनि अन्त्यमा दुईवटा लेखहरू भने चुनचुन बाबासँग सम्बिन्धित छन् । यसरी समग्रमा भन्दा यस पुस्तकमा धेरैभन्दा धेरै खप्तड बाबाको संस्मरण गरिएको छ र त्यसपछि श्यामचेतन बाबाको संस्मरण छ । चुनचुन बाबा पनि लेखकको संस्मरणमा रहनुभएको छ तर उहाँसँग लेखकको सम्बन्ध त्यति धेरै लामो समयसम्म हुन पाएको जस्तो देखिँदैन । पुस्तकको अन्तिममा १६ पृष्ठ बाबा र लेखकबीचका विभिन्न अवस्था र सम्बन्धका तस्वीरले ढाकिएका छन् । एक पृष्ठमा दुईवटा फोटा छन् र १६ पृष्ठमा यस्ता ३२ वटा फोटाहरू छन् ।

यसरी एकजना उच्च प्रहरी अधिकृतले अध्यात्मवादी बाबाहरूको सत्सङ गरेको सन्दर्भलाई केलाएर लेखेको पुस्तक हो यो । यसले खरेलको अध्यात्मप्रतिको समर्पण प्रष्ट्याएको छ । उहाँका प्रशासनिक कार्यसम्बन्धी पनि यस्ता धेरै संस्मरण अवश्य छन् । तिनलाई यसैगरी प्रकाशमा ल्याउन उहाँले तत्परता देखाउनुभयो भने निश्चय छायांका कतिपय पाटाहरू खुल्ने थिए । उहाँको उक्त चाहनाको अपेक्षासहित उहाँमा हार्दिक बधाई तथा शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?